बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पहिरोबाट नागरिक जोगाउन प्रदेश १ सरकार अलर्ट !

प्रभावितको उद्धारको लागि हेलिकप्टर परिचालन गरिने, उद्धारकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन
बुधबार, ०२ असार २०७८, १७ : ५५
बुधबार, ०२ असार २०७८

प्रदेश १ सरकारले मनसुनको सुरुवातसँगै उत्पन्न हुनसक्ने प्राकृतिक विपत्तिको अवस्थामा तत्काल उद्धार तथा राहतका लागि विपत पूर्वतयारी थालेको छ। मनसुन शुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी पहिरोको प्रकोप शुरु भएलगत्तै प्रदेश १ सरकारले पनि विपत पूर्वतयारीका लागि आवश्यक तयारी थालेको हो ।

प्रदेश १ का तराईका जिल्लाहरुमा बढी र डुबान तथा पहाडी र हिमाली जिल्लामा पहिरोको कारण वर्षेनी ठुलो जनधनको क्षति हुँदै आएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीले हिक्मत कार्कीले आज मन्त्रालयमा प्रदेश सुरक्षा समन्वय समितिको बैठक राखी मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न हुने प्रकृतिक विपत्तिको पूर्व तयारीको अवस्थामा रहन तीनै वटै सुरक्षा प्रमुखका अंगका प्रमुखलाई निर्देशन दिएका छन् ।
विपत व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष समेत रहेको मन्त्री कार्कीले प्रदेश १ पनि प्रकृतिक विपत्तिको उच्च जोखिममा पर्ने भएकाले मनसुन शुरु भएसँगै विपतको पूर्वतयारीमा रहन निर्देशन दिएको बताए ।

बाढी, डुबान र पहिरोको समस्या भएको खण्डमा त्यसको क्षति न्यूनीकरण गर्दै तत्काल फसेका नागरिकलाई उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक सहयोगका लागि नेपाली सेना समेत उद्धारमा परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको मन्त्री कार्कीले बताए ।

मन्त्री कार्कीले पहिलो पटक प्रदेश सरकारले हेलिकोप्टरको प्रयोग गरी विपदमा फसेका नागरिकको उद्धारका लागि सुनसरीको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा हेलिकप्टर तयारी अबस्थामा राख्ने निर्णय गरेको जानकारी दिए । त्यसका लागि मन्त्रालयले आजै गृह मन्त्रालयलाई पत्राचार समेत गरेको मन्त्री कार्कीले बताए ।

प्रदेश सरकारले बाढी, डुबान तथा पहिरोमा परेकाको उद्धार तत्काल गर्न नसक्दा मानविय क्षति हुने गरेको निष्कर्षसहित पहिलो पटक संघीय सरकारको समन्वयमा प्रदेश सरकारको पहलमा बाढी, डुबान तथा पहिरोमा फसेका नागरिकको उद्धार हेलिकप्टरमार्फत गर्ने योजनासहित तयारीमा लागेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव कमलबहादुर थापाले मनसुन जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन समितिमार्फत कामपनि भइरहेको बताए । 
यसबाहेक प्रदेश सरकारले विपत व्यवस्थापन तथा उद्धारका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन परिषद र आन्तरिक मामिला मन्त्रीको अध्यक्षतामा विपत व्यवस्थापन कार्य समिति गठन गरेको छ । 

प्रदेश सरकारले अघिल्लो आवमा ५० लाख र चालु आवमा ५० लाखको गरी कुल करोड रुपैयाँको ठुला किसिमका बोट, रबर बोटलगायतका लगायतका आवश्यक सामाग्री खरिद गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी राहतको आवश्यक तयारीका लागि विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरिएको छ ।

प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा जल उत्पादन प्रकोप नियन्त्रण कार्यालयको भवनमा विपदका समयमा उद्धारका लागि आवश्यक पर्ने उद्धारका सामाग्रीसहित गोदाम घर सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयले गोदाम घरसँगै प्रदेश विपद व्यवस्थापन आकस्मिक खातापनि सञ्चालन गरेको छ । प्रदेश सरकारले सञ्चालन गरेको खातामा ३ करोड  संचित रकम रहेको प्रवक्ता थापाले बताए । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले विपत व्यवस्थापन तथा उद्धार कोषका लागि थप १ करोड रुपैयाँ बिनियोजन गरेको प्रवक्ता थापाले जानकारी दिए ।

‘विगत दिनको अवस्थालाई पनि स्मरण गरेर मन्त्रालयले आवश्यक तयारी थालेको छ’, उपसचिव थापाले भने, ‘कुनैपनि समय विपद आउन सक्छ ,त्यसका लागि पूर्व तयारीमा मन्त्रालय जुटेको छ ।’
सरकारले यस वर्षको वर्षायाममा मनसुनजन्य विपतका घटना अत्यधिक हुन सक्ने अनुमान गरेको छ । 

पहाडमा पहिरो, तराईमा बाढीको विनाश  
प्रदेश १ का पहाडी तथा हिमाली जिल्ला पहिरो र तराईका जिल्लामा बाढी र डुबानको जोखिममा रहँदै आएको छ। मन्त्रालयका अनुसार तराईका मोरङ, सुनसरी, झापा जिल्ला बाढी र ढुवानको उच्च जोखिममा रहेका छन् । त्यसैगरी पहाडी र हिमाली जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।

 बिगतका वर्षपनि पहाडी तथा हिमाली जिल्लाका धेरै स्थानमा पहिरो जादा जनधनको ठुलो क्षति भएको थियो । त्यसैगरी तराईका मुख्यतः झापा, मोरङ र सुनसरी जिल्लामा बाढी र डुबानको समस्याका कारण धेरैको  घरबार विहिन बन्न पुगेका थिए। स्थानीय खोलामा आउने बाढी बस्ती प्रवेश गर्नुका साथै होचो भू–भागका कारण डुबानको समस्या हुने गरेको छ ।

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश १ का पहाडी तथा हिमाली जिल्लामा पहिरो तथा तराईको जिल्लामा बाढी र डुबानका कारण करोडौंको नोक्सानी भएको छ ।
गएको वर्षको मनसुनमा प्रदेश १ को मोरङमा मात्र ३ करोड २३ लाख १६ हजार, झापामा १५ लाख ७ हजार, सुनसरी ११ लाख १० हजार रुपैयाँ बराबरको क्षति बाढी र डुवानले पु¥याएको मन्त्रालयको अभिलेखमा उल्लेख छ त्यसैगरी पहाडी जिल्ला पाँचथर १४ लाख ५० हजार, तेह्रथुम १७ लाख र उदयपुर ४ लाख पहिरोका कारण क्षति भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप