शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशासनले तोकेभन्दा बढी समय फलफूल पसल खोल्ने ३ जना पक्राउ

बुधबार, ०२ असार २०७८, १६ : १६
बुधबार, ०२ असार २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेर फलफूल पसल खोलेको आरोपमा प्रहरीले ३ जनालाई पक्रेको छ । कुलेश्वरबाट भारतीय नागरिक सञ्जयप्रसाद गुप्ता, धादिङ घर भएका दिपक पाण्डे र नुवाकोट घर भएका राजकुमार सुनारलाई पक्राउ गरिएको काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा रहेको सन्देश ट्रेडिङका सञ्चालक र कामदारलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो । दिउँसो फलफूल पसल खोल्ने भारतीय नागरिक गुप्ता सन्देश ट्रेडिङका मेनेजर हुन् । पाण्डे र सुनार कामदार हुन् ।

मंगलबार पक्राउ परेका भारतीय नागरिक सञ्जयप्रसाद गुप्तालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५० हजार जरिवाना गरेको छ । पसलका कामदार पाण्डे र सुनार जनही ३ हजार तिरेर छुटेका छन् । जेठ ३१ गतेबाट लागू हुनेगरी स्थानीय प्रशासनले फलफूल पसल बिहान ११ बजेसम्म मात्र खोल्ने अनुमति दिएको छ । तर, सो पसल दिनभर खुल्ला रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

सन्देश ट्रेडिङलाई प्रहरीले यसअघि पनि निषेधाज्ञा उल्लंघन गरेको आरोपमा दुईसय जरिवाना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप