शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढी पहिरोमा परी ३ जनाको मृत्यु, ११ बेपत्ता

बुधबार, ०२ असार २०७८, १६ : ०४
बुधबार, ०२ असार २०७८

केही दिन देखिको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक/एकजनाको मृत्यु भएको जानकारी दिए । । सिन्धुपाल्चोकमा सात जना हराइरहेका छन् । गत वर्ष पनि सिन्धुपाल्चोकमा पहिराले ठूलो जनधनको क्षति भएको थियो । यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेका उनले बताए । अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ ।

बाढी पहिरोमा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानमा व्यवस्था गर्न लागिएको तामाङले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ । 

त्यस क्षेत्रका लागि एक ट्रक राहत सामग्री काठमाडौँबाट पठाइसकिएको तामाङले जानकारी दिए । अब मनाङका लागि हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । नेपालमा यही जेठ २८ गतेदेखि मनसुन प्रवेश गरेको थियो । त्यसयता लगातार पानी पर्दै आएको छ । यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप