शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढी पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई उद्धार गर्न सामुदायिक वन उपभोक्ता महासंघको आग्रह

बुधबार, ०२ असार २०७८, १४ : १०
बुधबार, ०२ असार २०७८

 सामुदायिक वन उपभोक्ता महासंघले बाढी, पहिरोको सम्भावित जोखिम क्षेत्रमा रहेका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा लैजान तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै केहीदिन यता अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भइरहेकोमा चिन्ता प्रकट गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष विगतका वर्षको तुलनामा वढी वर्षा हुने तथा राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको सम्भावित जोखिमवाट प्रभावित सूची अनुसार २३ जिल्लाका १७ लाख स्थानीय समुदायहरु वाढीबाट प्रभावित हुने र २६ जिल्लाका १ लाख २० हजार स्थानीय समुदायहरु पहिरोबाट प्रभावित हुने अनुमान गरेकोतर्फ पनि महासंघले ध्यानाकर्षण गराएको छ ।

‘यस विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा ध्यान दिँदै जोखिममा परेका समुदायहरुलाई सुरक्षित स्थानमा लगेर राखी गाँस, बास तथा स्वास्थ्य सुरक्षाको प्रवन्ध मिलाउन र थप जोखिमबाट बचाउनका लागि हार्दिक अनुरोध गर्दछौं,’ महासंका अध्यक्ष भवानी पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले महिला, बालबालिका, गर्भवती महिला, अशक्त र विपन्न वर्गहरुलाई विशेष प्राथमिकताका साथ राहत, उद्धार र पुनर्स्थापनाका लागि पनि अपिल गरेको छ । देशभर रहेका २२ हजारभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहलाई महासंघले यस विपदको घडीमा राहत, उद्धार र पुनर्स्थापनामा जुट्न र सम्भावित घटनाहरुबाट सचेत रहन पनि आग्रह गरेको छ ।

महासंघले स्थानीयस्तरमा रहेका सञ्चार माध्यम, सामाजिक सञ्जाल मार्फत व्यापक रुपमा सचेतीकरण अभियानमा लाग्न र समुदायका युवा परिचालन गर्न आफ्ना सबै संरचना तथा सरोकारवालालाई आह्वानसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप