बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री खनाल दिल्ली प्रस्थान, भएको के हो ?

चिकित्सक भन्छन्–मृगौलाको समस्याबाट हुने लक्षण देखियो
बुधबार, ०२ असार २०७८, १३ : ५९
बुधबार, ०२ असार २०७८

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।  उनको परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि अस्पतालले डिस्चार्ज गरेको हो । 

उनी बुधबार साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली प्रस्थान गरेका हुन्  नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  
लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 
त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो । 

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो । 
उनको ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो । 

उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो । 

दिल्ली उड्नुअघि पनि उनमा निरन्तर खोकी लागिरहेको पनि अस्पतालको विज्ञप्तिमा उल्लेख छ । अस्पतालले भनेको छ, ‘शरीर समेत शिथिल देखिन्थ्यो, उहाँ कामिरहनुभएको थियो । चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् ।’ 

मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताए । 
डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो । 

यसैबीच खनालले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै सफल उपचार पछि आफू स्वदेश फर्केर सबै माझ पुनः हुने विश्वास लिएका छन् ।   उनले पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न पनि सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप