शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि धितोपत्र बोर्डको चौतर्फी विरोध

सेयर होल्ड गरेर बस्नेहरुलाई पिडा दिएको आरोप
बुधबार, ०२ असार २०७८, ११ : ३४
बुधबार, ०२ असार २०७८

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि यसको व्यापक आलोचना भएको छ । बोर्ड यतिखेर विवादमा तानिएको छ । ५१ वटा कम्पनीको लगानीकर्ता डुबे को जिम्मेवार हुने भन्दै लगानीकर्ताले प्रश्न गरेका हुन् । बोर्डको विज्ञप्ति पछि पनि बुधबारको सेयर बजार (समाचार तयार पार्दा ११ः१५ बजे) सम्म सकारात्मक लयतर्फ हिँडिरहेको छ । १ अर्ब बढी भन्दा बढीको कारोबार भइसकेका छ ।

विज्ञप्तिप्रति लगानीकर्ताका छाता संगठनले आपत्ति जनाएका छन् । बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले बोर्डको विज्ञप्तिप्रति असहमति जनाएका हुन ।

यता सेयर विज्ञ रवीन्द्र भट्टराई पनि सामाजिक सञ्जालमा बोर्डप्रति आपत्ति जनाउँदै लेख्छन्, ‘धितोपत्र बोर्डको भूमिका यत्ति हो । यदि बोर्डका पदाधिकारीले सेयर बजारका बारेमा केहि बोल्न नपाएर वा मिडियामा अनुहार देखाउन नपाएर छटपटी भए बोल्नलाई सानो हरफ तयार पारिदिएको छु त्यहि बोले हुन्छ ।

'धितोपत्र बजारमा लगानी गर्ने क्रममा लगानीकर्ताले आफ्नो जोखिम लिने क्षमताको मूल्यांकन गरि सुसूचित भइ अधिकतम विवेक प्रयोग गरेर लगानी निर्णय गर्नेछन् भन्ने कुरामा बोर्ड विश्वस्त छ । पुँजी बजारको विकास गर्न, लगानीकर्ताको हितको संरक्षण गर्न, बजारको पारदर्शिता कायम गर्न र नियम कानुनको पालना गराउने कुरामा बोर्ड प्रतिबद्ध छ ।'

​तर यो किन, यो बेच, बजार बढ्छ, घट्छ, यो कम्पनीमा जोखिम छ यसमा छैन भन्ने जस्ता कुराहरु रेफ्रीको भूमिकामा बसेको संस्थाले गर्न मिल्दैन । नियामकले किन्नेलाई मात्र हैन बेच्नेलाई पनि न्याय दिन सक्नुपर्छ । यो किन भनिरहँदा बेच्नेलाई अन्याय भैरहेको हुन्छ । यो बेच्नेभन्दा किन्नेलाई अन्याय भै रहेको हुन्छ । बजार बढ्छ भनि रहँदा घट्ने आशा भएकालाई अन्याय भै रहेको हुन्छ भने घट्छ भनिरहँदा बढ्ने आश भएकालाई अन्याय भै रहेको हुन्छ । बोर्डले जोखिम पुर्ण भनि सूची सार्वजनिक गर्दा सेयर होल्ड गरेर बस्नेहरुलाई पीडा थपिदिएको छ भने अर्कोतर्फ सूची बाहेकका सवै कम्पनीमा जोखिम छैन वा जोखिम मुक्त छन जति वा जसरी लगानी गरे पनि हुन्छ भन्ने सन्देश गइ रहेको हुन्छ । सेयर बजारमा नियामकले जोखिम मुक्त भन्ने शब्दको प्रयोग गर्नु आफैमा मुर्खता सिवाय केही पनि हैन । सम्पुर्ण सेयर बजार नै जोखिमपूर्ण हुने भएकाले त्यस भित्र कुनै कम्पनी जोखिम युक्त र कुनै जोखिममुक्त भनेर नियामकले परिभाषित गर्नु आफैमा हास्यास्पद छ र यसलाई भन्छन् नमच्चिने पिङको सय झट्का । वा कहि नभएको सेयर बजारको जात्रा खुमलटारमा । लगानीकर्तालाई विवेक प्रयोग गर भन्ने संस्थाको यो अविवेकी हर्कतले पुँजीबजारको नियामकको नियामकीय क्षमताको स्तर छरपस्ट भएको छ । यदि यी कम्पनीको सेयर दोस्रो बजारमा अनियमित तरिका बाट कारोबार भएको पाएको भए कहिले र कसरी भएको थियो र तीनलाई बोर्डले कस्तो कारबाही गर्दैछ र पीडितले कसरी क्षतिपुर्ति पाउँछन् त्यो पनि स्पष्ट हुनुपर्छ ।’

उनी मात्र होइनन साना देखि ठुला लगानीकर्ता समेत सेबोनको सूची प्रति चकित बनेका छन् । लामो समयदेखि सेयर बजारबारे नजिकमा बसेर नियालिरहेका लगानीकर्ता अम्बिका पौडेल पनि नियामकले आफ्नो भुमिका बिर्सिएको बताउँछन् । भोलीको सम्भावनाको आधारमा आज लगानीकर्ताले सेयरमा पैसा तिर्न हो भन्दै पौडेल भन्छन, ‘कतिपय राम्रा कम्पीलाई जोखिमयुक्त कम्पनी भनेर परिभाषित गरेको छ । जोखिमको महसुस लगानीकर्ताले नै गर्ने हो । नियामकले भन्न होइन ।’

सेबोनले जोखिम मापन गर्न लिएको अधार पनि वैज्ञानिक र तथ्यपरक नभएको उनको तर्क छ ।

नियामक रेफ्री हो रेफ्रीले यसले खेल जित्छ यसको हेर्नु अरुको नहेर्नु भन्न नमिल्ने लगानीकर्ताहरु बताउँछन् । पछिल्लो समय इन्साइडर ट्रेडिङ र कर्नरिङको विषय उठान भएपछि बोर्डले सूचीकृत भएका कम्पनीबारे अध्ययन सुरु गरेको थियो । जोखिमयुक्त ५१ कम्पनी छनोट गर्दा केही आधार लिएको बोर्डले जनाएको छ । जसमा विगत एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरुको सेयरको मूल्य वृद्धि ३०० प्रतिशत भन्दा बढी भएको, मूल्य आम्दानी अनुपात १०० भन्दा बढी भएको, प्रति सेयर आम्दानी ऋणात्मक भएको, प्रति सेयर अंकित मूल्य भन्दा प्रति सेयर नेटवर्थ कम रहेको आदिलाई आधार मानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप