शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : बजेट परम्परागत र वितरणमुखी रहेको टिप्पणी

बुधबार, ०२ असार २०७८, ११ : ०५
बुधबार, ०२ असार २०७८

 प्रदेश २ सरकारले ल्याएको बजेट परम्परागत, वितरणमुखी र विगतकै निरन्तरता रहेको टिप्पणी गरिएको छ । खासगरी विपक्षी दलले अहिलेका आधारभूत समस्यालाई बजेटले सम्बोधन नगरेको आरोप लगाएका छन् ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सरकारले ल्याएको बजेट परम्परागत रहेको र सरकारमा काँग्र्रेस सहभागी भएकाले उसलाई खुशी पार्ने प्रयास गरिएको विपक्षीको आरोप छ ।

जसपाको महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले वितरणमुखी बजेट ल्याइएको आरोप लगाए । उनले प्रदेश सरकारमा सहभागी भएर नयाँ साथी बनेको काँग्रेसलाई खुशी पार्नका लागि यस प्रकारको बजेट ल्याइएको हुन सक्ने टिप्पणी गरे ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘प्रदेश सरकारमा काँग्रेस केहीदिन अगाडिमात्रै प्रवेश गरेको छ, आफ्ना नयाँ साथीलाई खुशी पार्ने खालको बजेट ल्याइएको छ ।’

माओवादी केन्द्रका प्रदेशसभा सदस्य दिलीप साहले प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी रहेको आरोप लगाए । उनले पुरानै कार्यक्रमलाई बढी प्राथमिकताका साथ समावेश गरिएको बताए । ‘प्रदेश सरकारले ल्याएको बजेट परम्परागत छ,’ उनले भने, ‘बजेटमा कुनै नयाँ कार्यक्रम समावेश गरिएको छैन, न जनतालाई अनुभूति हुने खालका कुनै कार्यक्रम समावेश छ ।’

विपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्य मञ्जु यादवले बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरिन् । उनले बजेटमा परम्परागत शैैलीलाई निरन्तरता दिइएको र प्रचारमुखी बजेट बजेट ल्याइएको आरोप लगाइन् । ‘यस प्रकारको बजेटले जनतालाई प्रत्यक्ष लाभ हुनै सक्दैन,’ उनले भनिन्, ‘प्रदेश सरकारले प्रचारमुुखी बजेट ल्याएको छ ।’

अर्थशास्त्री डा. सुरेन्द्र लाभले केन्द्रको सिको गरेर प्रदेश सरकारले बजेट ल्याएको बताए । उनले प्रदेश सरकारको बजेट परम्परागत खालको रहेको भन्दै समाजवाद उन्मुख बजेट हुन नसकेको टिप्पणी गरे । उनले प्रदेश सरकारले गरिब, विपन्न वर्गलाई बजेटमा सम्बोधन गर्न नसकेको आरोप लगाए ।

‘प्रदेशमा कोरोनाका कारण अर्थतन्त्र धरासायी भएको छ,’ उनले भने, ‘बेरोजगारी, भोकमरी बढेको छ, तर बजेटमा त्यस्ता वर्गलाई सम्बोधन नै गरिएको छैन ।’ यस्ता वर्गलाई बजेटमा सम्बोधन नगरेसम्म समाजवाद उन्मुख बजेट हुन नसक्ने उनको भनाइ छ ।

डा. लाभले भने, ‘हाम्रो बजेट ३ खम्बे अर्थनीतिमा आधारित रहे पनि त्यो नियमलाई समेत प्रदेश सरकारको बजेटले पालना गर्न सकेन ।’

उनले बजेट परम्परागत शैलीकै रहे पनि पूँजीगत खर्च बढी हुनु सुखद संकेत रहेको बताए ।

सांसद गोविन्द न्यौपानेले पनि पुरानै खाले बजेटले अहिलेको अवस्थामा जनताको समस्यालाई छुन नसक्ने टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप