फ्ल्यास ब्याक : हेल्लो मुख्यमन्त्री !
‘नमस्कार म अनिशा श्रेष्ठ, प्रेस युनियन कास्की कार्य समिति सदस्य र पोखरा टेलिभिजनमा काम गर्छु ।’
यो मेरो दोस्रो परिचय थियो, नेकपाका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग । पहिलो भेट दोस्रो भेटको १५ दिनपछि भएको थियो । पहिलो भेटको संयोग पनि अचम्मको छ ।
मुख्यमन्त्री भएको पाँच महिनापछि होला सायद मैले त्यतिबेला खिचेको फोटोले त्यही सूचना दिन्छ । मुख्यमन्त्री र प्रदेश संरचना हाम्रो देशका लागि पहिलो अभ्यास थियो, त्यसैले काममा अलमल हुनु स्वभाविकै थियो । सायद यसै कारणले होला, समय लिएर जाँदा पनि करिव २ घण्टाजति मुख्यमन्त्री कार्यालयको बाहिरै प्रतिक्षा कक्षमा कुर्नुपरेको । योबीचमा सयाैंले उनलाई भेटे, यो क्रम म कुरा गर्दा पनि जारी नै थियो ।
पहिलो भेटको कुराकानीमै लाग्यो उनी दुबईका सेख महम्मद विन राशिद अल मक्तुमजस्तै एलर्जी टु एभरेज छन् । २० वर्षको दौरानमा दुबईले जसरी समृद्धिमा फड्को मार्यो, गण्डकी प्रदेशले पनि त्यसरी नै फड्को मार्छ । मलाई यस्तै लागेको थियो ।
भारतीय मोटिभेसनल स्पिकर बिबेक बान्द्राले भनेजस्तै कि त नम्बर वान, कि त वन्ली वान ! हो, कार्यगतरुपमा जे–जस्तो उतार–चढाव भए पनि पूर्व मुख्यमन्त्री बनेपछिको दोश्रो सार्वजनिक वक्तव्यमा उनले मेरो अपेक्षालाई आंशिक भए पनि पूरा गरे । उनले भने, ‘म पूर्वमुख्यमन्त्रीको हैसियतमा राज्यले दिने कुनै पनि सेवा सुविधा लिन्नँ ।’
प्रतिक्षा गरिरहँदा लाग्यो, यो संरचना नयाँ हो, त्यसैले प्रदेश सरकार र जनतालाई जोड्ने केही काम गर्न पाए ? अनि प्रतीक्षालयमा खसेर फोहोर भएको सुन्दरमध्येको एक थुंगा फूल टिपें अनि निधो गरें, यही फूलले शुुभकामनासहित आफ्नो चाहनाको कुरा पनि राख्छु । हो, त्यसै गरें । करिव १० मिनेटको पहिलो भेटमा मैले यही कुरा गरें । उनी पनि उत्साहित भए । १५ दिनपछि म प्रपोजलसहित उपस्थित भएँ जनतासँग मुख्यमन्त्री शीर्षकमा ।
करिब १ घण्टाको दोश्रो छलफलमै मुुख्यमन्त्रीले भन्नुभयो, राम्रो कुरा । ल सुरु गर्नुस् । यसो भनिरहँदा त्यहाँ उपस्थित अरु नेकपा समर्थित कतिपय सञ्चारकर्मीहरूले विरोध पनि गरे । नेकपाको सरकारको काम बाहिर ल्याउन किन नेपाली काँग्रेसको पत्रकारलाई दिने ? उनले प्रतिवाद गरे र भने, ‘आज ६ महिना भयो, मैले पटक–पटक तपाईहरुलाई पनि भनें । तर, कसैले यो हिम्मत ग-यो ?’
हक्की स्वाभावका मुख्यमन्त्रीलाई कसैले अर्को प्रश्न गर्न सकेन । काम सुरु भयो, पोखरा टेलिभिजनमा प्रशारण गर्ने गरी ।
मौखिक अनुमति भए पनि काम गर्नका लागि लिखित सहमति आवस्यक थियो । यो कामलाई नजिकबाट अनुभव गर्दै राजनीतिक सल्लाहकार गोविन्द नेपाली र तत्कालीन मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव हरिप्रसाद बस्याल, जसको प्रेरणा र सहयोगका कारण यो लेख्ने अवस्थामा पुगेकी हुँ । जसले, सायद कुनै बहाना, बखेडा झिकेर कार्यक्रमलाई ढिलासुस्ती गरी अन्य कसैलाई कार्यक्रम दिएको भए यो सम्भव हुने थिएन ।
जनतासँग मुख्यमन्त्री नामका बारेमा पनि उधुम छलफल भयो । प्रदेश सरकारको कामका लागि मुख्यमन्त्री नाम जोड्नु त्यति उपयुक्त हुँदैन भन्ने पनि आयो । तर, पनि अन्त्यमा यही नामबाट कार्यक्रम गर्ने र हरेक पन्ध्र÷पन्ध्र दिनमा प्रसारण गर्ने गरी सहमति भयो ।
योबीचमा करिव १०÷१२ पटक कार्यक्रम र समेट्नुपर्ने विषयमा केन्द्रित भएर भेट भएको थियो मुख्यमन्त्रीहरुसँग । लगभग उनको स्वभावका बारेमा जानकार नै थिएँ म । त्यसैले पनि पहिलो एपिसोड फलामकै चिउराजस्तो लागेको थियो । मेरो गुडलक नै भनौं कि के भनौं, मैले सोचेजति असहज भने बनेन ।
तीनवटा क्यामेराले छायांकन गरिएको पहिलो एपिसोडको पहिलो प्रश्न थियो, ‘गुरुङ लाहुरेको छोरो, लाहुरे हुने चलन नै छ, बाटो बिराउने साहस गर्दा कत्तिको कठीन भयो, सुरुवात यहीँबाट गरौं ?’
करिव १७ वटा प्रश्नहरुको प्रश्नोत्तर चलिरहँदा प्रमुख सचिव, सम्पूर्ण मन्त्रीहरु र कर्मचारीहरुको बाक्लो उपस्थिति थियो । पहिलो कार्यक्रम हक्की स्वभावका मुख्यमन्त्री अनि प्रदेशअन्तर्गतका सबै मन्त्रीहरुका बीचमा यो कार्यक्रम सक्न निकै हम्मे–हम्मे जस्तो भएको थियो । एक घण्टाको यो पहिलो एपिसोड सक्दा मलाई नै थाहा भएन, कतिचोटि सास फेरें होला ।
कार्यक्रमको सुटिङ सकियो, मनमा अर्कोखालको उथल–पुथल थियो कसले के भन्छ होला र कस्तोखालको प्रश्न आउँछ भन्ने । मुख्यमन्त्रीको बोली आयो, ‘प्रदेशमा आएपछि पहिलो पटक पत्रकार महिलासँग टीभीमा अन्तवार्ता दिएँ । अनिशाले राम्रो गर्न सक्छिन् ।’ बल्ल सास फेरेको थाहा पाएँ । मन शान्त भयो ।
कार्यक्रम प्रसारण लगत्तै सायद उहाँलाई धेरै फोन म्यासेज आएछ क्यारे दबावसहितको । दोस्रो एपिसोडको सुटिङ दौरानमा सुटिङ सकिएपछि अनिशा तिम्रा दुस्मन धेरै रहेछन्, मलाई कार्यक्रम अनिशालाई किन दिएको भनेर फोन आयो, कत्तिले त प्रेस युनियनको क्यालेन्डर नै लिएर आउनुभयो साथीहरु । मैले कुरा सुनिरहे अनि भनें, ‘मलाई थाहा छैन, दुस्मन कस्तो हुन्छ र को हुनुहुन्छ मुख्यमन्त्रीज्यु ।’
जति नै दबाव आए पनि उहाँले प्रष्ट भन्नुहुन्थ्यो, ‘जरुर म पार्टीले टिकट दिएर नै मैले जनताको मत लिएको हुँ । तर, पनि कार्यक्रम राम्रो गर्नुपर्छ, म जनताको मान्छे हुँ । मेरा लागि सबै बराबर हुन् । मैले कार्यक्रम हटाउदिनँ अनिशा । कार्यक्रम फरम्याट अनुसार हुनुपर्छ ।’
त्यसपछि मलाई झन् राम्रो गर्नुपर्छ भन्ने दबाव थपियो ।
२२ वटा एपिसोड कार्यक्रम गर्दासम्म मुख्यमन्त्रीको एउटै गुनासो र भनाइ रहन्थ्यो, ‘यो कार्यक्रम जनताको कार्यक्रम हो, त्यसैले जनअपेक्षाका कुराहरुलाई र हामीले गरेका कामलाई पनि समानान्तर रुपले लैजाउँ है । युवाका लागि धेरै गर्नुपर्छ र प्रदेश सरकारले गरेका कामहरु जनताको माझमा पुग्नुपर्छ ।’
यसो भनिरहँदा अनावश्यक गुणगान गाउनुहुँदैन भन्ने उनको प्रष्ट विचार थियो । नहुने काम गर्नुहुँदैन र जनताको मन दुखाउनु हुँदैन । यसमा सधैं सचेत छन् जस्तो लाग्थ्यो मलाई ।
तर, पछिल्लो केन्द्रीय राजनीतिको उतारचढावको प्रभाव गण्डकी प्रदेशमा पनि प¥यो । फलस्वरुप पहिलो पूर्वमुख्य मन्त्री पनि पृथ्वीसुब्बा गुरुङ नै बने । बाध्यता भनौं कि विडम्बना, कानुनले जेसुकै भनोस् तर पनि उनले अघिल्लो पटक संसदमा गरेका कतिपय कुराहरु जनताको पक्षबाट बोल्दा त्रुटिपूर्ण नै थिए । एक महिनापछि नै भए पनि उनले विधिको पक्षमा निर्णय गरे र मुख्यमन्त्रीको पदका लागि अन्य कुनै तिकडम गरेनन् केन्द्रमा झैं ।
मान्छेबाट नै हो गल्ती हुने । र, सुधार्ने पनि मान्छेले नै हो । नेपाली काँग्रेसको कार्यकर्ता भएर पनि नेकपाको चंगुलमा छिरेर काम गर्दा मलाई कहिल्यै उनीहरुको सिद्धान्त र व्यवहारको राजनीतिक विचलन भने भएन । यसो भनिरहँदा २२ एपिसोड कार्यक्रममा जनअपेक्षा अनुसारका कार्यक्रम गर्न भने सकिनँ होला । किनभने कार्यक्रममा केही सीमाहरु पक्कै थिए । तर, पनि सकेको गरें ।
अब परिवेश फरक छ । मुख्यमन्त्री र मन्त्रिमण्डल पनि फरक छ । त्यसैले, यो अवस्थामा प्रदेश सरकारले गर्नुपर्ने काम र जनअपेक्षा पनि अनगिन्ती छन् । त्यसैले यी अपेक्षा र चाहनालाई पूरा गर्ने गरी कार्यक्रमलाई निरन्तरता दिन सक्ने हो भने पहिलो बैठकका निर्णयहरु जति विवादित बने, त्यस्तो हुनबाट भने केही रोक्ला नै । अनि वास्तविक कुरा जनतासमक्ष जान्छ, जसले गर्दा एउटै विषयमा पटक–पटक पत्रकार सम्मेलन गरी निर्णयको भाव र आशय सार्वजनिक गर्न पनि पर्दैन होला ।
(पोखराकी सञ्चारकर्मी अनिशा श्रेष्ठ ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’की प्रस्तोता हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन
-
हवाई भाडामा ब्रह्मलुटले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा
-
दीपक मनाङेले भने- फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु
-
त्रिविमा पाँच वर्षमा २३ लाख ३३ हजार विद्यार्थी भर्ना, ३ लाख ७२ हजार पास
-
विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक मङ्सिर दोस्रो साता बस्ने
-
ट्रम्पको पुनरागमनले मक्ख छिन् शेख हसिना, बढ्ला युनुस सरकारको अप्ठ्यारा ?