बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ताे छ सातवटा प्रदेशले ल्याएको बजेट

मङ्गलबार, ०१ असार २०७८, २१ : २६
मङ्गलबार, ०१ असार २०७८

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेटको अनुमानित विवरण सार्वजनिक गरेका छन् । मंगलबार सबै प्रदेशले आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय व्ययको विवरण सार्वजनिक गरेका हुन् ।

आकारमा सबैभन्दा ठुलो बजेट बागमती प्रदेशले ल्याएको छ भने सबैभन्दा सानो बजेट गण्डकी प्रदेशको छ ।

प्रदेश १ मा ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट

कुल बजेट– ३२,४६,९२,००,०००

चालु खर्च– १४,१६,१५,००,०००

पूँजीगत खर्च– १५,०५,३५,००,०००

वित्तीय हस्तान्तरण– ३,२२,४२,०००

वित्तीय व्यवस्था– ३,००,००,०००

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । कुल बजेटको ४३.६ प्रतिशत चालु खर्चतर्फ र ४६.३ प्रतिशत पूँजीगततर्फ रकम विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले मंगलबार प्रदेशसभामा पेस गरेको वार्षिक अनुमानित आयव्यय विवरणमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख विनियोजन गरिएको हो ।

यस्तै, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख तथा वित्तीय व्यवस्थातर्फ ३ करोड रकम विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब ९ करोड ७७ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख र विशेष अनुदानबाट ५९ करोड ३३ लाख गरी जम्मा ३० अर्ब २० करोड ७९ लाख खर्च व्यहोर्ने लक्ष्य राखेको छ । अपुग रकममध्ये नगद मौज्दातबाट २ अर्ब तथा वैदेशिक अनुदानबाट २६ करोड १३ लाख व्यहोर्ने प्रदेश सरकारको लक्ष्य छ । 

प्रदेश २ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट

कुल बजेट– ३३,७९,१४,३०,०००

चालु खर्च– १५,६३,३३,४७,०००

पूँजीगत खर्च– १८,०५,८०,८३,०००

वित्तीय भार व्यवस्था– १०,००,००,०००

प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले मंगलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को अनुमानित आयव्यय विवरण पेस गरेका हुन् ।

जसअनुसार चालु खर्चतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार रुपैयाँ र पूँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, वित्तीय भार व्यवस्थातर्फ १० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारले बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दातबाट ६ अर्ब २५ करोड गरी कुल ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार व्यहोरिने जनाएको छ । न्यून हुने १ अर्ब रकम व्यहोर्नका लागि आन्तरिक ऋण परिचालन गरिने प्रदेश सरकारले जनाएको छ ।

बागमती प्रदेशमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट 

कुल बजेट– ५७,७२,०९,२७,०००

चालु खर्च– २६,०१,६६,२३,०००

पूँजीगत खर्च– २९,७०,४३,०४,०००

वित्तीय व्यवस्था– २,००,००,००,०००

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले मंगलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८÷७९ को अनुमानित आयव्यय विवरण पेस गरेका हुन् ।

प्रदेश सरकारले चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र पूँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, वित्तीयतर्फ २ अर्ब रुपैयाँ छुट्याइएको छ ।

बजेटको स्रोतमा कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

 


गण्डकी प्रदेशमा ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँ बराबरको बजेट

कुल बजेट– ३०,०३,९४,२७,०००

चालु खर्च– १३,०६,४७,९४,०००

पूँजीगत खर्च– १६,७३,४६,३३,०००

वित्तीय व्यवस्था– २४,००,००,०००

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७८÷७९ को अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका हुन् । बजेटमा पूँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार र चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ २४ करोड रुपैयाँ छुट्याइएको छ ।

बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख र विशेष अनुदान ५४ करोड ९० लाख रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

यस्तै, राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टीबापत प्राप्त हुने ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड २७ लाख २७ हजार रुपैयाँ बजेटको स्रोत रहने जनाइएको छ । यसका बाबजुद न्यून हुने ४ अर्ब १० करोड रुपैयाँ पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भइ बाँकी रहने अनुमानित नगद मौज्दात २ अर्ब १० करोड उपयोग गरिने बजेट वक्तव्यमा उल्लेख छ । नगद मौज्दात उपयोग गर्दा पनि अगुग हुने रकममध्ये आन्तरिक ऋणबाट एक अर्ब र नेपाल सरकारबाट एक अर्ब ऋण लिइने जनाइएको छ ।

लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट

कुल बजेट– ४०,९५,९७,००,०००

चालु खर्च– १४,९३,७३,४३,०००

पूँजीगत खर्च– २१,१७,९९,६१,०००

वित्तीय हस्तान्तरण– ४,८४,२३,९६,०००

लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको छ ।

चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख ४३ हजार तथा पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब २९ करोड ५० लाख ५० हजार, राजस्व बाँडफाँटबाट १३ अर्ब २० लाख, रोयल्टी बाँडफाँटबाट १ अर्ब १ लाख ५० हजार, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब २ करोड ९७ लाख, सशर्त अनुदानबाट ६ अर्ब २३ करोड ३ लाख, समपूरक अनुदानबाट ७२ करोड १६ लाख, विशेष अनुदानबाट ६३ करोड ४९ लाख र चालु आर्थिक वर्षको बचतबाट ७ अर्ब ५ करोड रहने प्रक्षेपण गरिएको छ ।

कर्णाली प्रदेशमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट

कुल बजेट– ३६,५४,६६,३६,०००

चालु खर्च– ११,४९,२७,७०,०००

पूँजीगत खर्च– २१,६५,३९,१३,०००

वित्तीय हस्तान्तरण– ३,३९,९९,५३,०००

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

जसअनुसार पूँजीगत खर्चतर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालु खर्चतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार विनियोजन गरिएको छ । यस्तै, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारले बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ६० करोड, चालु आर्थिक वर्षको बचत हुनजाने अनुमानित रकम १२ अर्ब ९२ करोड १६ लाख ८१ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत प्राप्त हुने ७ अर्ब ४४ करोड ७७ लाख प्रक्षेपण गरेको छ । यस्तै, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुने १० अर्ब १४ करोड २१ लाख र सशर्त अनुदानबाट प्राप्त हुने ३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ पनि प्रदेश सरकारले बजेटको स्रोतमा राखेको छ । यस अतिरिक्त नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान रकम ८१ करोड ३५ लाख र विशेष अनुदानबापतको ६१ करोड ३० लाख प्राप्त हुने प्रदेश सरकारको अनुमान छ ।

कर्णाली प्रदेश सरकारले वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि २ करोड ९ लाख ५५ हजार स्रोत परिचालन हुने प्रक्षेपण गरेको छ ।


सुदूरपश्चिम प्रदेशमा ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट

कुल बजेट– ३०,३३,९४,५५,०००

चालु खर्च– १०,६६,०९,०३,०००

पूँजीगत खर्च– १७,६५,४०,५२,०००

वित्तीय हस्तान्तरण– १,७२,४५,००,०००

वित्तीय व्यवस्था– ३०,००,००,०००

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ छुट्याइएको छ । यस्तै, अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत १ अर्ब ७२ करोड ४५ लाख र वित्तीय व्यवस्थातर्फ ३० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बजेटको स्रोतमा आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ८ करोड ३ लाख २२ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने ७ अर्ब ९२ करोड ९१ लाख, संघीय रोयल्टी बाँडफाँट भई प्राप्त हुने ३ करोड ९४ लाख ६३ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबापत ८ अर्ब ५४ करोड ४० लाख रुपैयाँ प्रक्षेपण गरेको छ । यस्तै, चालु आर्थिक वर्षको बचत कोषबाट ६ अर्ब ६८ करोड ३० लाख ६१ हजार, सशर्त अनुदानबाट प्राप्त हुने १ अर्ब २२ करोड ९४ लाख, विशेष अनुदानबाट प्राप्त हुने ६१ करोड ३५ लाख र विकास साझेदारहरुबाट बजेट प्रणालीमार्फत परिचालन हुने सहायता रकम २ करोड ४६ लाख १० हजार रूपैयाँलाई पनि प्रदेश सरकारले बजेटको स्रोतका रुपमा लिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप