शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपद् व्यवस्थापनमा यस्तो छ तीनवटै सुरक्षा निकायको तयारी

मङ्गलबार, ०१ असार २०७८, १६ : ५३
मङ्गलबार, ०१ असार २०७८

मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरूले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताएका बताएका हुन् । 
पूर्वतयारी, उद्दार, पुर्नस्थापना तथा राहतको काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको उनीहरुको भनाइ छ । 

नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले सेनाले विपद प्रतिकार्य योजना तयार पारेर काम शुरु गरिसकेको बताए ।  विपदको घटना घट्ने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए । ७७ वटै जिल्लामा भएका गण तथा गुल्महरूबाट १ तिहाईको जनशक्ति फौजलाई विपद व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत साधन सहित दक्ष जनशक्ति परिचालन गरिने उनले बताए ।  नेपाल सेनासँग तालिमप्राप्त दुईवटा विशेष युनिट भएको उल्लेख गर्दै उनले ती युनिटलाई विपतको समयमा परिचालन गरिने जानकारी दिए । जलसम्बन्धी उद्दारका लागि २०० वटा वोटहरु तयारी अवस्थामा राखिएको पनि उनले बताए । विपदको समयमा आइपर्ने अत्यावश्यक सामग्रीहरु ओसार–पसार गर्न तथा उद्दार गर्नका लागि पश्चिममा सुर्खेतमा र पूर्वमा इटहरी वा विराटनगरमा हवाइ साधन तयारी अवस्थामा राख्ने पनि प्रवक्ता पौड्यालले बताए । 

विपद प्रतिकार्यका लागि नेपाली सेनाले गृह मन्त्रालय, विपद व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला विभिन्न निकायहरुसँग समन्वयमा काम गरिरहेको पनि उनको भनाई छ । नेपाली सेनालाई उद्दारमा जाँदा कोभिड–१९ संक्रमणको जोखिम रहेकाले काममा जाँदा स्वास्थ्य सम्बन्धी प्रोटोकल अपनाउन प्रयास गर्ने पनि उनले बताए । साथै सेनालाई कोभिड – १९ विरुद्धको खोपमा पनि जोड दिने उनले बताए । हालसम्म नेपाली सेनाका ५० हजार जवानले खोपको पहिलो मात्रा र २७ हजार जवानले खोपको दोस्रो मात्रा लगाइसकेको पनि उनले जानकारी दिए । 

यसैगरी सशस्त्र प्रहरी बलले पनि विपतको प्रतिकार्य गर्न आफ्नो तयारी पुरा भएको बताएको छ । सशस्त्र प्रहरी वलका प्रवक्ता राजु अर्यालले पूर्व तयारीका सम्पूर्ण काम पुरा गरीसकेको जानकारी दिए । केन्द्रीय कार्यालयबाट परिपत्र गरेर सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको उनले बताए ।  खतरायुक्त ठाउँको नक्साङ्कन गरेर बाढी, पहिरो, डुबान के को जोखिम हो त्यसै अनुसार जनशक्ति परिचालन गरीएको उनले स्पष्ट पारे ।  सशस्त्रमा विपत व्यवस्थापनको तालिम लिएको जनशक्ति १९१८ जना रहेको भन्दै उनले सो जनशक्तिलाई प्रत्येक प्रदेशमा एक÷एक समुह, उपत्यकामा दुईवटा र विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुईवटा गरी १० वटा समुह परिचालन गरिने बताए । यसको अलावा उपत्यकासहितका ८ वटा बाहिनी, गण, गुल्म, विओपी स्तर र अन्य बेसहरुमा पनि विपद व्यवस्थापनको लागि समुह तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । 

तालिमप्राप्त ३७ जना गोताखोरलाई पनि तयारी अवस्थामा राखिएको उनको भनाई छ । डुवानको अवस्थमा उद्दारका लागि ७० वटा वोटहरु तयारी अवस्थामा राखिएको र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको खण्डमा अवरोध हटाउनको लागि १३ वटा हेभि इक्युपमेन्टहरु परिचालन गरिसकिएको उनले बताए । राजमार्ग अवरुद्ध भएर आपूर्तिमा असहजता हुनसक्ने कुरालाई ध्यानमा राख्दै पेट्रोल पम्पमा पेट्रोल, डिजेल भण्डारण पनि गरिएको उनले जानकारी दिए । 

यसैगरी नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले विपतको प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको बताए । प्रहरीले केन्द्रका विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडी बढाइसकिएको उनले जानकारी दिए ।  विपतको समयमा प्रहरी संगठन भित्र रहेको साधन, स्रोतलाई अधिकत प्रयोग गर्ने उनले स्पष्ट पारे । 

 प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको बताए । स्थानीय स्तरमा प्रहरी सरोकारवाला निकायहरु सँग समन्वय गरिरहेको उनले जानकारी दिए । मुख्य तथा सहायक राजमार्गहरुलाई अवरुद्ध हुन नदिन प्रहरीले ध्यान केन्द्रीत गरेको पनि प्रवक्ता कुँवरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप