शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बिजनेस’ नपाएर बेरोजगार बने राष्ट्रिय सभाका सांसद

सांसदहरु भन्छन्– सरकार संसद भन्ने शब्दै सुन्न चाहँदैन
मङ्गलबार, ०१ असार २०७८, १० : ४६
मङ्गलबार, ०१ असार २०७८

प्रतिनिधि सभा नभएका बेला संघीय संसदको स्थायी सदन मानिने राष्ट्रिय सभा सरकारको उपेक्षामा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक भंग गरेको प्रतिनिधि सभासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । जीवित रहेको राष्ट्रिय सभा पनि यतिबेला निस्क्रिय अवस्थामा छ । राष्ट्रिय सभामा रहेका ५९ सदस्य बेरोजगारजस्तै बनेका छन्  ।

अघिल्लो बर्ष पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन तीनवटा बैठकपछि पुस २६ गते अन्त्य भयो । सो अवधिमा जम्मा ७ घण्टा ५ मिनेट राष्ट्रिय सभाको बैठक चलेको थियो । नेपालको संसदीय इतिहासमा यो सबैभन्दा छोटो अधिवेशन हो । 

हालसम्म २५ विधेयक दर्ता भएको राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिमा रहेका १० विधेयकमध्ये ८ वटा विधेयक सभामा प्रस्तुत गर्नका लागि तयारी अवस्थामा छन् । सरकारले दर्ता गरेका ७ वटा विधेयक पनि छलफल अघि बढ्न नपाउँदा अलपत्र अवस्थामा छन् ।

गत पुस ५ गते पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको सरकारले संसदप्रति सरकार प्रतिवद्ध छ भन्ने देखाउनका लागि पुस १७ गते बैठक बोलाए पनि बिजनेस नदिई ९ दिनपछि बन्द गरेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार पहिलो अधिवेशन अन्त्य गरेको ६ महिनाभित्र संसदको अर्को अधिवेशन बोलाउनुपर्ने प्रावधान अनुसार सरकारले राष्ट्रिय सभाको बैठक आह्वान गर्ने बेला हुन लागेको छ ।

संवैधानिक व्यवस्था अनुसार पुसमा हिउँदे अधिवेशन बोलाएको सरकारले असारमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्ने हुन्छ  ।

सरकारलाई संसद चाहिएकै छैन : राधेश्याम अधिकारी

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी सरकारलाई संसद नै नचाहिएको तर्क गर्छन् । संसदप्रति सरकार उत्तरदायी हुनुपर्ने भएकाले सरकारलाई संसद मन नपर्ने उनले बताए ।

राष्ट्रिय सभा पनि सरकारलाई उत्तरदायी बनाउने थलो भएकाले सरकारले चाहेको भए गत बैशाख २७ गते प्रतिनिधि सभाको बैठक बोलाउन सक्ने अधिकारीले बताए । राष्ट्रिय सभा चालू भएको भए केही विधेयकहरु पनि पास गराउन सकिने उनको भनाइ छ ।

अधिकारीले रातोपाटीसँग भने, ‘राष्ट्रिय सभा हामीले बोलाएर बोलाइँदैन, सरकारले नबोलाइकन हुँदैन । कर्मकाण्ड गर्न मात्र चाँहि बोलाउलान् । मलाई के लाग्छ भने अहिलेकै परिस्थितिमा बोलाइहाले भनेपनि धेरै प्रभावकारी हुने हिसावले बोलाइहाल्लान जस्तो लाग्दैन ।’

उनी अगाडि भन्छन्, ‘सरकारले जनप्रतिनिधिको कुरा सुन्न नचाहेपछि त्यो प्रभावकारी हुन सक्दैन । संसद चल्न त सरकारले बिजनेश दिनुपर्ने हुन्छ । केही बिजनेश हामीले नै खडा गरे पनि सरकारी पक्षबाट बाधा व्यवधान आउन सक्छ ।’

प्रतिनिधिसभा नभएका बेला गर्नुपर्ने काम धेरै छन् : सांसद बिडारी

राष्ट्रिय सभा सदस्य एवं सो सभाअन्तरगत विषयगत समितिका सभापतिसमेत रहेका रामनाराण विडारी प्रतिनिधि सभा नभएका बेला राष्ट्रिय सभाका लागि प्रशस्तै कामहरु रहेको बताउँछन् ।

राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयकमाथि छलफल गरेर त्यसलाई प्रतिनिधि सभामा पठाउन सकिने र आफूअन्र्तगत रहेका समितिहरुको छलफल अघि बढाएर त्यसको प्रतिवेदन तयार पारी सरकारलाई निर्देशन दिन सकिने बिडारीले उल्लेख गरे ।

सांसद बिडारीले रातोपाटीसँग भने, ‘अहिलेको कोभिड समस्याका बारेमा जनताका कुरा उठाउने र सरकारले जारी गरेका अध्यादेशका बारेमा बिचार राख्ने काम राष्ट्रियसभाले गर्न सक्छ । अहिले शिक्षा क्षेत्र बन्द छ, अस्पताल अस्तब्यस्त छ,  यस्ता समसामयिक विषयमा राष्ट्रिय सभाले सरकारलाई निर्देशन दिन सक्छ ।’

विशेष समय लिएर  देशका जल्दाबल्दा समस्याका बारेमा सरकारको ध्यानाकर्षण गर्न राष्ट्रियसभाले सक्ने उनी बताउँछन् । विभिन्न संकल्प प्रस्तावदेखि लिएर ध्यानाकर्षण प्रस्ताव, अत्यन्त जरुरी प्रस्ताव आदिमा छलफल गर्न सक्ने बताउँदै बिडारीले भने, ‘सरकारले बिजनेश दियो भने राष्ट्रिय सभाका काम धेरै छन् ।’

तर, राष्ट्रिय सभा पनि संघीय संसद अन्र्तगत नै पर्ने भएकाले प्रधानमन्त्रीलाई संसद देखिनसक्नु भएको उनले बताए

संसदीय समितिका बैठक पनि प्रभावहीन

राष्ट्रिय सभा अन्र्तगत ४ वटा बिषयगत समिति र २ वटा प्रतिनिधि सभासँग जोडिएका संयुक्त समिति गरी ६ वटा समिति छन् । प्रतिनिधि सभा नभएको अवस्था र जारी निषेधाज्ञाका कारण ती समितिहरुले प्रभावकारी भूमिका खेल्न सकेका छैनन् ।

राष्ट्रिय सभाअन्र्तगत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र संयुक्त समितिअन्र्तगत संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वहरुको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति छन् ।

जसपाका राष्ट्रिय सभाका सदस्य शेखरबहादुर सिंह  राष्ट्रिय सभा बैठक नभएकाले सामान्य तरिकाले दिनचर्या बितिरहेको बताउँछन् । उनले प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभाका लागि खासै काम नहुने बताउँदै आफू आवद्ध रहेको राष्ट्रिय सरोकार समितिमा आक्कल झुक्कल भर्चुअल बैठक हुने गरेको बताए ।

राष्ट्रिय सभाका एमालेका सांसद रामचन्द्र राईले अहिले राष्ट्रिय सभा बन्द भएकाले कुनै काम नभएको बताए । शनिवार संसदीय समितिको भर्चुअल बैठक भए पनि अरु काम नभएको बताए । निषेधाज्ञा जारी हुनुपूर्वदेखि नै हेटौँडामा बसेका उनले सोमबार काठमाडौं फर्कन लागेको उल्लेख गरे । उनले राष्ट्रिय सभाको अधिवेशन नभएको र कोरोनाका कारण विषयगत समितिले पनि काम गर्ने अवस्था नभएको बताए ।

राईले भने, ‘अहिले राष्ट्रिय सभाको बैठक छैन र कोरोना संक्रमणका कारण संसदीय समितिहरुको पनि बैठक बस्ने अवस्था छैन । कोभिडका कारणले सदन चल्ने कुरा भएन । भीडभाड गरेर बैठक चलाउने कुरा पनि भएन । सबैसँग निजी सवारी साधन नभएकाले बैठकमा जान पनि यतिबेला कठिन होला ।’

एमालेका अर्का राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले अहिले राष्ट्रिय सभा बैठक नभएकाले आफ्नो जिल्लामा कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री पठाउन मन्त्रालयमा पहल गर्न व्यस्त रहेको बताए । उनले भने, ‘निषेधाज्ञाका कारण बाहिर आउने अवस्था छैन । हिजोदेखि अलि सहज भएकाले आज सिंहदरबार आएको छु, राष्ट्रिय सभा अध्यक्षको कार्यालय खुलेको छ । अरु विषयगत समितिहरुको पनि बैठक बस्न सकिरहेको  छैन ।’

सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेपछि राष्ट्रिय सभाअन्र्तगत रहेका विषयगत समितिहरुको बैठक नबसेको संघीय संसदका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप