शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिया टोलीसँगको मैत्रीपूर्ण अभ्यासबाट मात्र समग्र खेल सुधार्न सकिन्छ

किरण चेम्जोङ कप्तान राष्ट्रिय फुटबल टिम
सोमबार, ३१ जेठ २०७८, २१ : ४३
सोमबार, ३१ जेठ २०७८

कतार विश्वकप छनोट र एसियन कप छनोटका लागि नेपालले कुवेत भ्रमण गरेर आइतबार साँझ नेपाल फर्किएको छ । अघिल्ला भ्रमणभन्दा यो पटकको भ्रमण उपलब्धिमूलक रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् । काठमाडौँमा सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कप्तान किरण चेम्जोङले विगतमा भन्दा राम्रो प्रदर्शन गरेको बताएका छन् । सधैँ रक्षात्मक रणनीति अपनाउने नेपालले यो भ्रमणमा आक्रामक खेल्न सक्छ भन्ने उदाहरण दिएको कप्तान उनले बताए । समूह तालिकाको चौथो स्थानमा रहँदै कतार विश्वकप छनोट यात्रा समाप्त हुँदा २०२३ मा चीनमा हुने एसियन कपको झिनो आशा प्लेअफ मात्रै बाँकी छ । कोरोना महामारी नभएको भए नेपालले कुवेत भ्रमणमा खेलेका खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाली दर्शक माझ खेल्ने थियो । कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राष्ट्रिय टोली सम्हाले पनि विगतको खेल्ने शैलीभन्दा फरक देखियो । साथै प्रशिक्षक अलमुताइरीले नेपाली टोलीलाई कुवेत भ्रमण गराउँदा बलिया टोलीसँग पनि नेपालले प्रतिस्पर्धात्मक खेल देखाउन सक्छन् भन्ने मानसिकता थपिदिएका छन् ।

स्वदेश फर्किएपछि नेपाली टोलीका कप्तान किरण चेम्जोङले न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्ता (सम्पादित अंश) ।

कुवेत भ्रमण समग्रमा कस्तो रह्यो ?

कुवेतको तीनवटै खेल हेर्दा टिमले धेरै सकारात्मक खेल खेलेको देखेको छु । टिममा गएपछि खेल सुधारिएको देखिएको छ । यसमा सकारात्मक र नकारात्मक दुवै पक्षलाई नियाल्नु पर्छ । सकारात्मक कुरालाई बढी ध्यान दिनुपर्छ । विशेष हामीले हाम्रो बलियो पक्षलाई केलाउँदै अगाडि बढ्नुपर्छ । आउँदा दिनमा सकारात्मक विषयमा विशेष ध्यान दिनुपर्छ । यसरी नै अगाडि बढ्दा नेपालको फुटबल विकासले गति लिन सक्छ ।

चाइनिज ताइपेईसँगको खेलमा हामीले विगतको नतिजालाई निरन्तरता दिन सक्यौँ । जोर्डन र अस्ट्रेलियासँगको खेलमा भने विगतको नतिजालाई क्रमभङ्ग गर्ने लक्ष्य पूरा हुन सकेन । नसक्नुमा हामी कहाँ चुक्यौँ ?

पहिलो खेल चाइनिज ताइपेईसँग थियो । ताइपेईको घरेलु मैदानमा खेल्न जाँदा त्यो समयमा टोली निकै बलियो देखियो । दोस्रो लेगमा पनि सुखद नतिजा निकाल्न हामी पूर्ण रूपमा तयार थियौँ । कुवेत जानुअघि इराक भ्रमण गरेर लिएको उपलब्धिले हाम्रो मनोबल बढ्यो । पहिलो खेल चाइनिज ताइपेईसँग थियो । तयारी राम्रो भएकाले नतिजालाई निरन्तरता दिन सक्यौँ । भ्रमणमा रहेका कोच र एसिस्टेन्ट कोचले हाम्रो खेललाई राम्रोसँग नियाल्नुभएको थियो र उनीहरुको खेललाई पनि । हामीसँग जित्नुको विकल्प थिएन । सोहीअनुसार कोचले दिएको निर्देशनलाई खेल अवधिभर पालाना ग¥यौँ । पेनाल्टीबाट अग्रता लिएसँगै खेलाडीमा हौसल मिल्यो । पछि दोस्रो गोल पनि ग¥यौँ । बलमा पकड  जमाउँदै दबाब दिएर खेल्यौँ । राम्रो खेल्यौँ । दोस्रो खेल जोर्डन खेल उसैको मैदानमा खेलेका थियौँ । टफ म्याच थियो । पहिलो खेलमा गोलको मार्जिन धेरै लागेको थियो । पहिलो खेलमा पेनाल्टीबाट हामी पछि परेका थियाँै । दोस्रो लेगमा पनि सोही अवस्था भयो । नचाहँदा नचाहँदै गल्ती भयो । मानवीय त्रुटि र फुटबलको पाटो हो । जोर्डनसँगको खेलमा पनि पुरानो गल्ती भयो । सामान्य गल्तीले खेल गुमाउन पुग्यौँ । सुधारको प्रयास गरे पनि अलमलमा प¥यौँ । यद्यपि जोर्डनसँगका कमजोर पक्ष केलाउँदै खेल्ने प्रयास गरे पनि सफल हुन सकेनौँ । अङ्क खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौँ । ३–० ले नै हार्ने सोच थिएन तर खेलमा सोही नतिजा दोहोरियो । समग्रमा प्रदर्शनले राम्रा गरेका हौँ ।

एसियाली पावर हाउस र विश्वकपको अनुभव लिएको अस्ट्रेलियासँगको खेललाई कसरी नियाल्नु भयो ?

अस्ट्रेलियासँग पहिलो लेग नै टप टोलीका खेलाडीसँग खेल्न पाउनु हाम्रा लागि अवसर रह्यो । पहिलो खेलभन्दा दोस्रो लेग फरक थियो । पहिलो लेगमा फिल्ड सेयर गर्न पाउनु हामीलाई उपलब्धिमूलक थियो । पहिलोमा हामी अनुभव बटुल्ने लक्ष्यमा थियौँ भने दोस्रो लेग प्रतिस्पर्धात्मक फुटबल खेल्ने लक्ष्य राखेका थियौँ । सोहीअनुसार तयारी पनि गरेका थियौँ । पहिलो हाफमा १० खेलाडीमा सीमित भए पनि समग्र टोली एक बनेर खेल प्रदर्शन गर्न सफल भयौँ । वान म्यान डाउनमा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौँ । अस्ट्रेलियासँगको खेलमा टिम मेट्सले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु । तारिफ गर्न चाहन्छु । देशका लागि मरेर खेलेका थिए । तारिफ योग्य खेल रह्यो । राम्रो खेले । अस्ट्रेलियासँगको दोस्रो लेग पनि राम्रो भयो । सुखद नै मान्नुपर्छ ।  एसियाको पावर हाउससँग खेल्न पाउँदा हामीलाई अनुभव प्राप्त भयो । आउँदा दिनमा एसियाका अन्य पावर हाउससँग खेल्नुपर्छ र खेल्न पाऊँ भन्ने हाम्रो अपेक्षा छ । कोरिया, जापान, इरान जस्ता टोलीसँग खेल्न पाऊँ । नतिजा जे होला केही फरक पर्दैन । पहिलो खेल गुमाए पनि दोस्रो खेलमा सुधारका अवसर पाउँछौँ । यसरी आउँदा दिनमा बलियो टोलीसँग खेल्न पाउँदा नेपाली  फुटबलको स्तर सुधारिन्छ भन्ने मेरो विश्वास छ । जितका लागि खेल्नुभन्दा पनि अनुभवलाई यस्ता खेलले सुधारका लागि धेरै सहयोग गर्छ । सधैँ हार्छ भन्ने आँकलन भए पनि नेपालले पनि प्रतिस्पर्धात्मक फुटबल खेल्न सक्छ भन्ने सन्देश विश्वभर जान्छ । ठूलो अन्तरले हारेको भए पनि दोस्रो पटक आमने सामने हुने अवसर पाउँदा सुधारिएको खेल देखायो भन्ने सन्देश दिन सक्छौँ भन्ने कुरा अस्ट्रेलियासँगको खेलले प्रमाणित गरेको छ । अस्ट्रेलियाका प्रशिक्षकले पनि हाम्रो खेलको तारिफ गरेका छन् । अब यस्तै बलियो अस्ट्रेलियासँग आउँदा दिनमा पनि खेल्न पाए स्कोर गर्न सकिन्छ भन्ने विश्वास छ । समग्रमा अन्तिम खेल पनि राम्रो मान्छु ।

छोटो समय टोलीलाई सम्हालेका प्रशिक्षक अल्मुताइरीको रणनीति भ्रमणमा सफल भएको हो ? अनि यस्तो सम्भव कसरी भयो ?

कोचले मात्र सम्भव हुँदैन । टोलीले युनाइटेड खेल देखाउँदा नतिजा निक्लिने हो । कोचको निर्देशनले धेरै अर्थ राख्छ । नयाँ कोचले वे देखाउने हो । नेपाली टोलीलाई सम्हाल्नुभएका नयाँ प्रशिक्षक अबदुल्लाहले सबै खेलाडीको माइन्डमा ‘वि क्यान प्ले फुटबल’ भरिदिनुभएको छ । यस्तो वातावरण सबै खेलाडीका दिमागमा राखिदिनुभएको छ । जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौँ भन्ने मानसिकता भरदिनु भएको छ ।  नतिजा जे भए पनि एट्याकिङ फुटबल खेल्नुपर्छ  ।  उहाँको प्रेरणाले नयाँ खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्छौँ भन्ने मानसिकताको विकास भएको छ । युवा खेलाडीमा यस्तो छाप परेको छ । अन पिच, अफ पिचमा सबै खेलाडीलाई मोटिभेसन दिन सक्नुभएको छ । नयाँ खेलाडीमा फाइटिङ स्प्रिट विकास भएको छ । प्रशिक्षकको मात्र भन्दा पनि समग्र टिमको प्रदर्शन रह्यो । प्रशिक्षकको योजना फुटबललाई एक स्टेप माथि लाने लक्ष्य रहेको छ । सोहीअनुसार उहाँले परीक्षण गर्नुभएको छ । त्यसका लागि हामीले उहाँलाई साथ दिएका छौँ । सोहीअनुसार सुझाव पालना गरेका छाँै ।

विगतको भन्दा फरक शैलीको फुटबल प्रदर्शन गरेको नेपालले एट्याकिङ फुटबल खेलेको छ । युवा खेलाडी र पाका खेलाडी पनि टोलीमा रहेका छन् । आउँदा दिनमा नेपाली टोलीले कुवेत भ्रमणमा गरेको प्रदर्शनलाई निरन्तरता दिन कस्तो किसिमको योजना आवश्यक छ ?

खेलाडीहरु वर्षभरि नै व्यस्त हुनुप¥यो । व्यस्त तालिका पनि हुनुपर्छ । शीर्ष डिभिजनका लिगहरु निरन्तर हुनुप¥यो । पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न एनएसएलले खेलाडीमा राम्रो सन्देश दिएको छ । खेलाडीलाई एनएसएल राम्रो भएको छ । यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई व्यस्त र अवसर खेज्नका लागि निकै मद्दत गरेको छ । लिगहरु लामो समयसम्म हुनुपर्छ । व्यावसयिक हिसाबले लिगहरु सञ्चालन हुनुपर्छ । राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण गराएर व्यस्त गराउनुपर्छ । फुटबल खेलाडीलाई फुटबलमा नै व्यस्त बनाउनुपर्छ । हामीभन्दा माथिल्ले र तल्लो स्तरका देशहरुसँग बारम्बार मैत्रीपूर्ण खेल धेरैभन्दा धेरै मिलाएर खेलाडीलाई धेरै अनुभव दिनु पर्छ । सबैभन्दा ठूलो कुरा खेलाडीलाई व्यस्त राख्नुपर्छ । खेलाडीलाई फुर्सद हुने किसिमको वातारणभन्दा पनि व्यस्त बनाउँदै फुटबलतिर मात्र सोच्ने वातावरण जरुरी छ । यसले गर्दा नेपाली फुटबलको नतिजा राम्रो हुन्छ । खेलाडीका लागि पनि यस्ता योजनाले हौसला मिल्छ । ठूलो टोलीसँगको पटक पटक खेल्न पायौँ भने अवश्य नै हामीले सुधारिएको खेल देखाउँन सक्छौँ । कमी कमजोरी नियाल्न सक्छौँ । अनुभव हुन्छ, पहिलो, दोस्रो अनि तेस्रो खेलमा सुधार अवश्य देखिन्छ । यसरी नै फुटबल सुधार गर्न सकिन्छ । नेपालको तुलनामा विदेशतिर लामो समयसम्म लिग सञ्चालन हुन्छन् । एन्फा र नेपाल सरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाउनुपर्छ । बलिया टोलीसँग पटक पटक मैत्रीपूर्ण खेल खेल्दै कमीकमजोरी सुधार्दै समग्र खेल सुधारको बाटो अँगाल्न सकिन्छ । समग्रमा भन्नुपर्दा खेलाडीलाई व्यस्त राख्नुपर्छ ।  अन्तर्राष्ट्रिय भ्रमण गराउँदै टोलीलाई अनुभव बटुल्ने मौका दिनुपर्छ । ठूलो क्लब, लिग खेल्ने क्लबदेखि माथिल्लो स्तरको टोलीसँग खेल्ने अवसर धेरेभन्दा धेरै हुनुपर्छ ।  यस्ता खेलले युवा खेलाडीलाई राम्रा अनुभव दिन्छ र हौसाल पनि मिल्छ । यस्तैयस्तै विषयमा ध्यान दिइयो भने नेपाली फुटबलले विकासको गति छिटै लिन्छ । फुटबलको विकासमा मद्दत गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप