बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेठमा कोरोनाको तथ्याङ्क : कूल मृत्युको ४५ प्रतिशत एकै महिनामा, संक्रमण दर घट्न थाल्यो

ग्राफ ओरालो लागे पनि जोखिम उस्तै, तेस्रो लहरको खतरा
सोमबार, ३१ जेठ २०७८, २१ : ०७
सोमबार, ३१ जेठ २०७८

नेपालमा पछिल्ला दिनहरुमा कोरोनाभाइरसको संक्रमण दर घट्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो एक महिनाको तथ्यांकलाई केलाउने हो भने महिनाको सुरुवातको तुलनामा महिनाको अन्तिम दिन संक्रमण दर आधाभन्दा कम रहेको पाइन्छ । संक्रमणदर घटे पनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको कारण जारी निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।

के भन्छ तथ्याङ्क ?

 

नेपालमा हालसम्म पीसीआर ३२ लाख २४ हजार १६३ जनाको पीसीआर तथा १ ला १३ हजार २१० जनाको एन्टीजेन परीक्षण गरिएको छ । यसमध्ये पीसीआर विधिबाट ६ लाख १० हजार ५२ र एन्टीजेन विधिबाट २१ हजा ३३९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो एक महिनामा मात्र ५ लाख ७२ हजार ३४ जनाको परीक्षण गरिएको थियो । यसमध्ये १ लाख ८८ हजार ८२४ जनामा पोजेटिभ पाइएको छ ।  महिनाको शुरुवाती हप्तामा दैनिक २३ हजार जनाकोसम्म परीक्षण गरिएकोमा महिनाको अन्तिम दिन करिब १५ हजार जनाको मात्र परीक्षण गरिएको थियो ।

परीक्षण र संक्रमित पुष्टि हुने तथ्यांकलाई आधार मानेर हेर्दा पछिल्लो समय सक्रमण दरमा भने उल्लेख्य रुपमा कमी आएको छ । महिनाको शुरुवातमा ४५ प्रतिशतसम्म संक्रमण दर पुगेकोमा यो दर महिनाको अन्तिमसम्म आइपुग्दा २० प्रतिशतको हाराहारीमा पुगेको छ ।

 

पछिल्ला दिनहरुमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । गत जेठ १२ यता लगाताररुपमा संक्रमणमुक्त हुनेको संख्या बढी रहँदै आएको छ । एक महिनामा २ लाख ८ हजार ५९९ जना निको भएका छन् । कूल संक्रमितमध्ये हालसम्म ५ लाख ३६ हजार २५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ८७.८ प्रतिशत रहेको छ ।

निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्यामा पनि ओरालो लाग्ने क्रममा रहेको छ । १ लाखभन्दा बढीसम्म सक्रिय संक्रमित पुगेको सक्रिय संक्रमितको संख्या अहिले ६५ हजार ८०४ मा झरिसकेको छ । सक्रिय संक्रमित मध्ये हाल ६१ हजार १२२ जना होम आइसोलेसनमा, ४ हजार ६८२ जना संस्थागत आइसोलेसनमा, ९९५ जना आईसीयूमा र ३२४ जना भेन्टिलेटरमा रहेका छन् ।

नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनको संख्या ८ हजार ४६५ जना पुगेको छ । पछिल्लो एक महिनामा मात्र ३७९६ जनाले ज्यान गुमाए । कूल मृत्युको करिब ४५ प्रतिशत हिस्सा जेठ महिनाकै रह्यो । एकै दिन बढीमा २४६ जनासम्मले ज्यान गुमाए । नेपालमा मृत्यु दर १.६ प्रतिशत रहेको छ ।

 

संक्रमित घटे पनि जोखिम कायमै

कोरोनाभाइरस कोभिड—१९ संक्रमितको ग्राफ जेठ महिनाको अन्तिमसम्म आइपुग्दा ओरालो लाग्दै गएको र यो क्रमशः घट्दै जाने जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । यद्यपि संक्रमितको ग्राफ कम हुँदैमा अवस्था सामान्य हुन लाग्यो भनेर बुझन नहुने ईपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पूर्व प्रमुख तथा भाइरोलोजिष्ट डा. वासुदेव पाण्डे बताउँछन् ।

हाल निषेधाज्ञाका कारण शहरी क्षेत्रमा संक्रमण दर कम जस्तो देखिएपनि गाँउगाउँमा संक्रमण देखिएकाले झन् उच्च जोखिम रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका भाइरोलोजिस्ट तथा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ग्रामिण भेगका गाउँगाउँमा कोरोना संक्रमित भेटिएपनि कन्ट्याक्ट टे«सिङ र कोरोना परीक्षण न्यूनमा मात्रा भएको हुँदा संक्रमणको जोखिम उस्तै रहेको पुनको कुरामा पूर्वनिर्देशक डा.पाण्डे पनि सहमति जनाउँछन् ।

जेठ १ गते १८ हजार ५ सय ४८ मा कोरोना परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको थियो । जेठ महिना भरि सबैभन्दा धेरै ७ गते २३ हजार ३ सय ५३ परीक्षण गरिएको थियो । जेठको ३१ गते अर्थात आज पीसीआर परीक्षण दर घटाएर ९ हजार ४ सय ३८ पु¥याएको छ । सोमबारमात्र २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमण दर घट्दै गएपछि केही समयको लागि नेपालपनि संक्रमित घट्ने डा.पाण्डेको धारणा छ । ‘नेपालमा कम्तिमा पनि ६०÷६२ प्रतिशतमा नयाँ भेरियन्टको एन्टिबडी बिकास भएको हुन सक्ने भएकाले अब नेपालमा पनि संक्रमण दर घट्दै जान्छ,’ उनी भन्छन् ।

संक्रमितको ग्राफ कम भएपनि पीसीआर परीक्षणका आधारमा संक्रमित हुने दर उच्च रहेकाले पूर्ण रुपमा सजकता अपनाउनुको विकल्प नभएको उनी सुनाउँछन् । कोरोना संक्रमणसँग जुध्नका लागि वातावरण अनुकुल भएमा अब कोरोना संक्रमणको ग्राफ कम हुँदै जाने डा. पुनको विश्वास छ ।

कोरोना संक्रमणको यो दोस्रो लहर हो । वर्तमान समयमा संक्रमणको दर उच्च विन्दूमा पुगेर क्रमशः ग्राफ कम हुँदै गएको डा.पुनका भनाइ छ । ‘कुनैपनि लहरमा संक्रमण दर उच्च विन्दुमा पुगेर प्राकृतिक रुपमै क्रमशः घट्दै जान्छ,’ उनी भन्छन्,  ‘संक्रमण फैलिने वातावरण अनुकूल हुँदै गएको खण्डमा तेस्रो लहर पनि अवश्य पनि आउँछ ।’

कस्तो अवस्थामा तेस्रो लहर आउन सक्छ ?

कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमण दर उच्च विन्दूमा पुगेर क्रमशः तल झर्ने क्रममा रहेको जनस्वास्थ्यविद्हरुले बताउन थालेका छन् । संक्रमण बढ्न नदिनका लागि जनता र सरकारले उपयुक्त वातावरण सृजना नगरे चाडैँ तेस्रो लहर आउने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

अब कस्तो अवस्था संक्रमण बढ्छ अथवा तेस्रो लहर आउन छ ? डा. पुन यस्तो भन्छन् :

पहिलोः कोरोनाको भेरियन्ट – अहिले भन्दापनि कोरोनाभाइरस म्युटेट भएर नयाँ भेरियन्ट देखाप-यो भने संक्रमण बढ्छ । वर्तमान समयमा देखिएका नयाँ भेरियन्ट भन्दापनि शक्तिशाली भेरियन्टको विकास भएमा संक्रमण पुनः फैलिन सक्छ । शरीरमा विकास भएको एन्टिवेडीको प्रभावकारीतालाई अब आउने नयाँ–नयाँ भेरियन्टहरुले कम गर्नसक्छ ।

यस्तो अवस्थामा संक्रमणको अर्का छाल आउछ । विश्वमा कोरोनाविरुद्ध विकास भएका खोपलाई चुनौती दिने गरी नयाँ भेरियन्ट देखापरेको खण्डमा कोरोना संक्रमण पुनः तेस्रो लहरका रुपमा फैलन सक्छ ।

दोस्रोः जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा – पहिलो लहरमा संक्रमणको ग्राफ उच्च विन्दूमा पुगेपछि क्रमशः ओरालो लाग्ने क्रममा जनस्वास्थ्यका नियम नअपनाउँदा संक्रमण बढेको थियो । जनस्वास्थ्यका मापदण्ड  पूर्णरुपमा पालना वर्तमान समयमा पनि गरिएको छैन । अब संक्रमणको ग्राफ ओरालो लाग्यो भन्दैमा, कोरोनाविरुद्धको पहिलो मात्रा वा दुवै मात्रा खोप लगाएका छौँ भनेर वेवास्ता गरेको खण्डमा तेस्रो लहर चाँडै नै आउन सक्छ । खोप लगाएका र नलगाएका नागरिकले बराबर रुपमा सजकता अपनाउन जरुरी हुन्छ ।

तेस्रोः खोपको व्यवस्था नहुँदा – सरकारले समुदायस्तरमा कोरोनाविरुद्धको खोप समयमै व्यवस्था गर्न नसकेको खण्डमा पनि कोराना संक्रमण पुनः तीव्रगतिमा फैलन्छ । सरकारले समयमा नै नागरिकलाई खोप व्यवस्था गरेमा कोरोना भाइरस म्युटेसन भएर शक्तिशाली भेरियन्ट भएर फैलिएपनि दोस्रो लहरको जस्तो अवस्था सृजना नहुन सक्छ ।

संक्रमण ग्राफ घटेपनि जोमिख उस्तै : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले शहरी क्षेत्रमा कोरोनाभाइरस संक्रमण संख्यात्मक रुपमा घटेपनि जोखिम उस्तै रहेको बताउँछन् । पीसीआर गरेका तीन भागमध्ये एक भागलाई संक्रमण देखिने क्रम जारी छ । वर्तमान समयमा निषेधाज्ञाले संक्रमणको ग्राफलाई उकालो लाग्न सहयोग गरेको उनी बताउँछन् । होम आइसोलेशनमा बस्नेहरुले सहि रुपमा नियम पालना गरेकाले संक्रमण कम भएको उनी ठान्छन् । संक्रमितको संख्या घट्दै गएमा क्रमशः मृत्यु हुनेको संख्यापनि घट्दै जाने उनले बताए । ‘यसभन्दाअघि हजारौँको संख्या संक्रमित भएर केही अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन्,’ उनी भन्छन्, ‘अहिले पत्ता लगाएका संक्रमितको तत्काल मृत्यु हुने त होइन, त्यसैले अहिले मृत्यु दर नघटेको जस्तो देखिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप