बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध संविधानको प्रावधान विपरीत जाहेरी दर्ता

सशक्त प्रतिकार गर्ने काँग्रेसको चेतावनी
सोमबार, ३१ जेठ २०७८, १९ : ५३
सोमबार, ३१ जेठ २०७८

मकवानपुर । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम तोकेर दिएको अभिव्यक्तिलाई लिएर युवा संघ मकवानपुरले सोमबार प्रहरीमा हत्या दुरुत्साहन सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गराएको हो ।

नीति तथा कार्यक्रमका बारेमा गत जेठ २८ गते शुक्रबार बसेको प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध ‘नाथुराम गोड्से’ बन्छु भन्ने अभिव्यक्ति दिएका थिए । उनको सोही अभिव्यक्ति विरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेको हो ।

नेपालको संविधान अनुसार संसदभित्र दिएका कुनै पनि अभिव्यक्ति उपर कुनै पनि निकायमा उजुरी लाग्दैन । तर उक्त व्यवस्थालाई संविधानको धारा १७ को (१) र (२) ले काट्ने भन्दै युवा संघ मकवानपुरले प्रहरी समक्ष किटानी जाहेरी दर्ता गराएको हो ।

नेपालको संविधानको धारा १८७ मा प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रता रहने र प्रदेशसभामा व्यक्त गरेको कुनै कुरा वा दिएको मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा अदालतमा कारबाही नचलाइने उल्लेख छ ।

भने संविधानको धारा १७ को १ मा खण्ड (क) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय इकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको नमानिने उल्लेख छ ।

त्यस्तै संविधानको धारा १७ को २ मा भने खण्ड (ख) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनता, संघीय इकाइ बीचको सु–सम्बन्ध वा सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको नमानिने व्यवस्था छ ।

युवा संघ मकवानपुरले वैद्यले प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिएको भन्दै फौजदारी अपराध संहिताको धारा ३५ को (१) (२) र धारा १७७ को (१) अनुसार किटानी जाहेरी दर्ता गरेको छ । फौजदारी अपराध संहिताको धारा ३५ (१), (२) र १७७ (१) लाई आकर्षित भएको र सोही अनुसार किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह सिंह राठौरले बताए ।

‘किटानी जाहेरीमा उल्लेख भए अनुसार संविधानको धारा १८७ लाई धारा १७ (१) र (२) ले काटेको भनी किटानी जाहेरीमा उल्लेख भएकाले हामीले दर्ता गरेका हौं,’ उनले भने ।

सांसद् वैद्यविरुद्ध किटानी दर्ता भएलगत्तै कानूनी परामर्शका लागि उक्त उजुरी सरकारी वकिलको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।

‘संविधान र कानूनको व्याख्या गर्ने निकाय सर्वोच्च अदालत हो । हामीले कानूनी हिसाबले काम गर्ने भएकाले किटानी जाहेरी दर्ता गरी सरकारी वकिलको कार्यालयमा पठाएका छौं,’ उनले भने, ‘त्यहाँबाट आएको राय सुझाव अनुसार हामी कानूनी प्रक्रिया अगाडि बढाउँछौँ ।’

सांसद् वैद्यले आफूले बोलेको उक्त अभिव्यक्तिप्रति आत्मालोचना गर्दै गत शनिबार बसेको प्रदेशसभा बैठकमा रोष्टमबाटै माफीसमेत मागिसकेका छन् । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सांसद् वैद्यले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गरेको र माफी पनि मागेकाले संसद्को रेकर्डबाट उक्त अभिव्यक्ति हटाउन निर्देशन दिइसकेका छन् ।

किटानी जाहेरीप्रति काँग्रेसको आपत्ति

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले वैद्यविरुद्ध दर्ता भएको हत्या दुरुत्साहन सम्बन्धी किटानी जाहेरीप्रति आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य वैद्यविरुद्ध हत्या दुरुत्साहन सम्बन्धी जाहेरी दर्ता भएकोप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा प्रदेशसभा सदस्य वैद्यले आफूले दिएको उक्त अभिव्यक्तिप्रति आत्मालोचना गरी माफीसमेत मागेको र अभिव्यक्ति फिर्ता लिइसकेकाले किटानी जाहेरी दर्ता भएकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

प्रहरी समक्ष दर्ता भएको उक्त किटानी जाहेरी संविधान विपरीत भएकाले आपत्ति प्रकट गर्दै उनले त्यसको सशक्त प्रतिवाद गर्ने जनाएका छन् । वैद्य बागमती प्रदेश, काठमाडौं निर्वाचन क्षेत्र नं. ४ (क) बाट निर्वाचित सांसद् हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप