शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजसी शैलीमा उपप्रधानमन्त्री रघुवीर महासेठ दम्पतीको स्वागत

सोमबार, ३१ जेठ २०७८, १८ : ४३
सोमबार, ३१ जेठ २०७८

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ आफ्नै गृह नगरमा आलोचित भएका छन् । संघीय सरकारमा महासेठ दम्पतीले आलोपालो स्थान पाएको भन्दै एकातिर परिवारवादको विषयमा आलोचना झेल्दै आएका उनी पछिल्लो समय कोरोना महामारीलाई बेवास्ता गर्दै भिडभाड गरी गृहनगरमा राजसी शैलीमा अभिनन्दन मोह देखाएकोमा थप आलोचित भएका हुन् ।

नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका रघुवीर महासेठले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त भएपछि चार दिनसम्म गृहनगरको भ्रमण गरे । सो क्रममा उनले पत्नी तथा पूर्वमन्त्री जुली महतोका साथ तामझामसहित शिलान्यासदेखि मन्दिर–मन्दिर दर्शन गर्ने तथा कार्यकर्ता भेलासम्म गर्न भ्याए ।

महासेठको गृहनगर मिथिला विहारी नगरपालिकामा सरकारीस्तरबाटै निकै तामझामका साथ उनको स्वागत गरिएको थियो । नगरपालिकाको कार्यालय अगाडिदेखि उनको गाउँको विभिन्न स्थलमा स्वागतद्वारको पण्डाल लगाइयो ।

नगरपालिका आफैले बनाएको स्वागतद्वारमा नेकपा एमालेका स्थायी समिति सदस्य तथा नवनियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठ तथा उनकी श्रीमती एवं पूर्वमन्त्री जुली महतोको तस्वीर राखिएको थियो ।

तर स्थानीयवासी भने कोरोना महामारीको बेलामा मन्त्री महासेठ दम्पतीको तामझामसहितको भ्रमण र स्वागत सत्कारले राजतन्त्रको झल्को दिएको बताउँछन् ।

रघुवीर महासेठ संघीय सरकारमा उपप्रधानमन्त्री रहेका कारण उनको स्वागतमा पण्डाल लगाइनुलाई स्वाभाविक मान्न सकिए पनि राजतन्त्रमा राजारानीको तस्वीरसहित पण्डाल लगाउने गरिएकै शैलीमा महासेठ र उनकी पत्नीको तस्वीरसहितको पण्डाल लगाएर तामझाम देखाउनु अशोभनीय रहेको स्थानीयवासी बताउँछन् ।

उपप्रधानमन्त्री रघुवीर महासेठ गृहनगर आएपछि धनुषा जिल्लामा विभिन्न कार्यक्रममा सरिक भए । गृहनगरमा स्वागतसँगै भएको आवागमनपछि उनी विभिन्न ठाउँमा शिलान्यास कार्यक्रममा सहभागी भए । शिलान्यास पनि महासेठ दम्पतीले संयुक्त रुपमा गरेका थिए ।

धनुषाको मिथिला विहारी नगरपालिकास्थित मिथिलेश्वर मौवाहीमा पुलको शिलान्यास, सबैलास्थित पुल पुलेसाको शिलान्यास कार्यक्रममा सहभागी भएका उनीहरुले कोरोना महामारीको बेलामा सयौं कार्यकर्ता जम्मा गरेर चियापान कार्यक्रमसमेत आयोजना गरे ।

सोमबार उनी एका बिहानैदेखि राम मन्दिर, राजदेवी मन्दिर, जानकी मन्दिर लगायतका मठ मन्दिरको दर्शन तथा पूजा अर्चनामा व्यस्त रहे । मिथिला विहारी नगरपालिकाको कार्यपालिकाका सदस्य रामउदगार दासले मन्त्रीको स्वागतमा द्वार बनाइनु र मिथिला विहारी नगरपालिकाको नाममा पण्डाल झुण्ड्याइनु गलत रहेको बताए । उनले मिथिला विहारी नगरपालिकाको नाम दुरुपयोग गरिएको आरोप लगाए ।

‘रघुवीर महासेठ मन्त्री भएकै कारण नगरवासीले बहालवाला नवनियुक्त मन्त्रीको स्वागत गर्नु स्वाभाविक हुन सक्छ, तर पूर्वमन्त्री भइसकेकी जुली महतोको समेत नाम स्वागतद्वारमा लेख्नु अशोभनीय हो, यसले स्वयं महासेठकै कदलाई घटाएको छ ।’

उनले स्वागतद्वारको नाममा मिथिला विहारी नगरपालिकाले एक रुपैयाँ पनि खर्च गर्न नसक्ने बताए । उनले भने, ‘जसले लगाएको हो, उनले निजीस्तरमा खर्च व्यहोर्नेछन् ।’

स्थानीयवासी लक्ष्मी साहुले पनि कोरोना महामारी नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको समयमा सर्वसाधारणहरू घरभित्र थुनिन विवस रहेको तर मन्त्रीको भ्रमणमा सयौं कार्यकर्ता जम्मा गरेर तमासा देखाइएको टिप्पणी गरे ।

उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले भने आलोचना गर्नेहरुले यस्ता विषयलाई मुद्दा बनाएर प्रचारवाजी गर्ने गरेको आरोप लगाए । उनले कसले कस्तो स्वागतद्वार बनाउँछ भन्ने आफूलाई थाहा नहुने प्रस्ट पार्दै पूर्वमन्त्री रहेकाले नै जुलीको नाम लेखिनु स्वाभाविक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप