शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा एघार महिनामा हजार जना पक्राउ

सोमबार, ३१ जेठ २०७८, १८ : ३२
सोमबार, ३१ जेठ २०७८

विदेश पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने  अभियुक्तलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।     सप्तरीको विष्णुपुर गाउँपालिका–१ मलेकपुरका ४६ वर्षीय ईनरदेव यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सप्तरी जिल्ला अदालतले आरोपितविरुद्ध २०७५ असार २५ गते १ वर्ष कैद र १ लाख २५ हजार जरिवानाको फैसला गरेको थियो । फैसला पश्चात फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको प्रहरी टोलीले गाउँ घरबाटै यादवलाई पक्राउ गरेको हो ।

अभियुक्त यादवले विदेश पठाइदिने प्रलोभनमा पारी २०६८ असोज २ गते जैफुन खातुनसँग १ लाख २५ हजार रुपैयाँ लिई ठगी गरेको भन्दै ठगी मुद्दाको उजुरी परेको थियो । छोरालाई विदेश पठाउन खातुनले विश्वासमा परी यादवलाई रकम दिए पनि न पठाएको र रकम पनि फिर्ता नदिएको बताए ।

पक्राउ परेका अभियुक्तलाई सप्तरी जिल्ला अदालतमा आज उपस्थित गराइएकोमा कैद भुक्तानको लागी अदालतले राजविराज कारागार पठाएको प्रनाउ काफ्लेले बताए । आर्थिक वर्ष ०७७/०७८ मा सप्तरी प्रहरीले फरार रहेका १ हजार ७ जना अभियुक्तहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत आर्थिक वर्षको हालसम्म फौजदारी मुद्दातर्फ १ सय ६४ जना र देवानी मुद्दातर्फ ८ सय ४३ जना पक्राउ परेका हुन् । पक्राउ परेकाबाट जम्मा २०३ वर्ष ३ महिना ६ दिन कैद र १ करोड ५ लाख १८ हजार ६२३ रुपैयाँ असुल उपर हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप