शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लिक्विड अक्सिजन प्लान्ट स्थापनामा सरकारले सहुलियत प्रदान गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

सोमबार, ३१ जेठ २०७८, १८ : २३
सोमबार, ३१ जेठ २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिक्विड अक्सिजन प्लान्ट स्थापनामा सरकारले सहुलियत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शंकर ग्यास प्रालिले नवलपरासीको देवचुली नगरपालिकामा निर्माण थालेको नेपालकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भरता कायम गर्ने प्रयास सह्रानिय भएको बताए ।

प्रधानमन्त्री ओलीले महामारीको दोस्रो लहरले अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनाए पछि महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्नुपर्ने अवस्था आएको बताए । उनले अक्सिजनमा आत्मनिर्भरता बढाउन अक्सिजन प्लान्ट स्थापना गर्न आयात गर्नुपर्ने उपकरणमा कर, भन्सार छुट तथा सहुलियत कर्जाको प्रबन्ध सरकारले कार्यान्वयनमा ल्याएको बताए । प्रधानमन्त्री ओलीले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था गरेको स्मरण गराए ।

प्रधानमन्त्रीले उद्योग सञ्चालनले जनतालाई मात्र नभई उद्योगीलाई पनि अवसर प्रदान गरेको बताउँदै लिक्विड अक्सिजन प्लान्ट स्थापनामा सरकारले यसअघि घोषणा गरेको सहुलियत प्रदान गरिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

यस्तै कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले संकटको समयमा अक्सिजनको बिषयमा सरकार, सरकारी निकाय र समाजका सबै अङ्गहरूको सामूहिक प्रयासले नै यसलाई समाधान गरिएको उल्लेख गरे । 

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय भोज प्रसाद श्रेष्ठले उद्योगलाई प्रदेश सरकारले पनि दिन सक्ने सहुलियत प्रदान गर्ने बताए। 

शंकर ग्यास प्रालिले २०५६ सालमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १०० क्युविक मिटर प्रतिघण्टाको उत्पादन क्षमताको अक्सिजन ग्यास प्लान्ट जडान गरि उत्पादन सुरु गरेको थियो ।

प्रालिले २०६० सालमा काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा १०० क्युविक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरेको थियो । त्यसले अपुग भएपछि पुनः सोही स्थानमा २५० क्युविक मिटर प्रतिघण्टा र ८० क्युविक मिटर प्रतिघण्टा समेत गरी जम्मा ४३० क्युविक मिटर क्षमताको प्लान्ट जडान गरी संचालन गर्दै आइरहेको छ । प्रालिले २०७१ सालमा रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि २५० क्युविक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरि सेवा प्रदान गर्दै आएको थियो । 

कोभिड–१९ को दोश्रो लहरमा मुलुकभर अक्सिजनको अभाव हुँदा उद्योगले पूर्ण क्षमतामा सञ्चालन गरेर आपूर्ति गरे पनि त्यसले पर्याप्त नभएपछि नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्टको निर्माण सुरुवात गरेको उद्योगले जनाएको छ। 

उद्योगले करिब १ अर्ब रुपैयाँको लागतमा आगामी एक वर्षभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित रोहिणी गाउँपालिका वडा नम्बर ४ मा स्थापना हुन लागेको प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र एक टन नाइट्रोजन ग्यास प्रतिदिन उत्पादन गर्न सकिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप