बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै काँग्रेसको आपत्ति

सोमबार, ३१ जेठ २०७८, १३ : ००
सोमबार, ३१ जेठ २०७८

बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । 
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वैद्यले बागमती प्रदेशको २०७८÷७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक शब्द प्रयोग गरेका थिए । 

सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलीपल्ट जेठ २९ गते वैद्यले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिदैँ संसदको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए ।  वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरको भन्दै नेकपा(एमाले) मकवानपुरको भातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्धा दायर गरेका थिए । 

 नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमा विपरित भएकाले फिर्ता लिन निर्देशन गरेको र लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्धा दायर भएको जनाएको छ । 

संविधानले दिएको प्रदेश सभा सदस्यको अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको बर्खिलाप बदनीयतपूर्ण तवरले मुद्धा दर्ता गरिएकाले मुद्धा फिर्ता लिन पनि नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले आग्रह गरेको छ ।

 कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्धा दर्ता भएको प्रति आपत्ति जनाए । उनले भने, ‘युवा संघको एउटा व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरी, जायरीको आधारमा दर्ता गर्ने प्रहरी कार्यालय मकवानपुरप्रति हाम्रो घोर आपत्ति छ । संविधान, कानुन, मुलुकको संसदीय मर्यादाको बर्खिलापमा गरिएको दर्ताप्रति हाम्रो घोर आपत्ति छ । यस्तो किसिमले दर्ता गरेर कानुनी कारबाही अगाडी बढाउन नमिल्ने कुरालाई जुन ढंगले बढाइयो यसप्रति नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण भएको छ । यसलाई तत्काल फिर्ता लिने काम भएन, यसलाई अगाडी बढाइयो भने नेपाली कांग्रेस संसदीय दल प्रदेश सभामा यसको डटेर प्रतिवाद गर्नेछ र जुनसुकै मुल्य चुकाउन पनि तयार छ ।’

कांग्रेसले नरोत्तम वैद्यमाथि मुद्धा चलाउनु गैर संवैधानिक कार्य भन्दै संविधानको बर्खिलापमा जान प्रहरी, अनुसन्धान अधिकारी र सरकारको कुनैपनि निकायलाई अधिकार नभएको बताएको छ । मुद्धा तत्काल फिर्ता लिन आग्रह समेत गरेको छ । अन्यथा प्रदेश सभा मार्फत नै सशक्त प्रतिवादमा उत्रिने कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप