मेलम्ची दोस्रो चरणको निर्माण अघि बढाइँदै

person explore access_timeजेठ ३१, २०७८ chat_bubble_outline0

–सञ्चिता घिमिरे

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरेको छ । 

आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, याङग्री खोलामा हेड वर्क र याङ्ग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यससँगै स्थानीयवासीले माग गरेको सडक निर्माणको प्रक्रिया अघि बढाइने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए​ । आयोजनाअन्तर्गत पहुँच सडक निर्माण भइरहेको छ । सडक सम्पन्न भएपछि मात्रै सुरुङ र हेड वर्कको ठेक्का लाग्ने उनले बताए । उनले भने, “सडक नबनेसम्म सुन्दरीजलमा काम गर्न सकिने भएपनि याङ्ग्री वा लार्के खोलामा गर्न सकिँदैन ।”

आयोजनाको पहिलो चरणअन्तर्गत अहिले मेलम्ची खोलामा ‘हेडवर्क’ निर्माण भइरहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलामा छुट्टाछुट्टै ‘हेडवर्क’ बनाउनुपर्ने प्रवक्ता पन्तले बताए । त्यस्तै दोस्रो चरणमा कम लम्बाइका दुई सुरुङसमेत निर्माण गर्नुपर्ने हुन्छ । डिजाइनअनुसार शुरुमा लार्केबाट दुई किमी सुरुङ बनाएर याङ्ग्री खोलामा पानी खसालिन्छ । याङ्ग्रीबाट पनि अर्को सुरुङ बनाएर त्यो पानी मेलम्चीमा खसालिने उनले बताए । याङ्गीबाट मेलम्चीसम्मको सुरुङको लम्बाई नौ किमी रहेको छ । उनले भने, “दुबै सुरुङ बनेपछि दुबै खोलाको पानी मेलम्चीमा मिसिने छ ।” 

मेलम्ची खोलाबाट सुन्दरीजलसम्मको सुरुङको लम्वाई २७ किमी छ । यो सुरुङभन्दा दोस्रो चरणमा निर्माण हुने सुरुङहरूको लम्वाई कम हुने भएकाले कम समयमा सकिने प्रवक्ता पन्तले बताए । त्यस्तै, पहिले सुरुङ निर्माणको अनुभव नभएपनि अहिले अनुभव भएको उनले बताए । उनले भने, “स्रोत उपलब्ध भएमा धेरै समय लाग्दैन ।” 

दोस्रो चरणको निर्माणस्थल याङ्ग्रीसम्म पुग्न २५ किमी पहुँच सडक निर्माण गत वर्ष शुरु भएको थियो । सडक विभाग र समिति दुबैले स्तरोन्नतीको काम गरिरहेका छन् । सडक विभागले भइरहेको सडकको स्तरोन्नति गरिरहेको छ । समितिले झण्डै १० किमी र विभागले १५ किमी सडक निर्माण गरिरहेको छ । गत आवमा निर्माण शुरु भएकामा आगामी आवमा सकिने प्रवक्ता पन्तले बताए । सडक निर्माण भइरहँदा याङ्ग्री र लार्केमा हेडवर्क वा सुरुङ निर्माण नसकिए पनि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने उनले बताए ।

दोस्रो चरणमा आयोजना निर्माणस्थलमा अहिले क्याम्प बनाउने, मुआब्जा बाँड्ने, वातावरण व्यवस्थापनलगायतका काम भइरहेको छ । अघि नै अध्ययनको काम भइसकेको छ । पहिलो चरणमा एशियाली विकास बैंकको सहयोगमा आयोजना निर्माण भएकामा बैंकले दोस्रो चरणको निर्माणमा समेत चासो देखाएको छ । 

चालु आवमा मेलम्ची खोलाको पानी वितरण शुरु भएकामा सरकारले आगामी आवमा सोही आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाबाट काठमाडौँ उपत्यकामा पानी ल्याउन आवश्यक पूर्वाधार निर्माण अघि बढाउने योजना बनाएको छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप १७÷१७ गरी ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । आगामी आवमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरिएको छ । 

सरकारले आगामी आवमा काठमाडौँ उपत्यकाको खानेपानी वितरणमा उल्लेख्य सुधार गर्ने योजना बनाएको छ । पहिलो चरणमा चार थोक प्रणालीबाट ११३ किमी नयाँ वितरण लाइन थप गरी एक लाख १० हजार घरधुरीमा पानी वितरण गरिने बजेट वक्तव्यमा उल्लेख छ । त्यस्तै, दोस्रो चरणको पानी वितरणका लागि कीर्तिपुर, पेप्सीकोला, भक्तपुरलगायतका स्थानमा संरचना निर्माण अघि बढाइने छ । सो कामका लागि सरकारले रु चार अर्ब ७९ करोड विनियोजन गरेको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।