मनसुनजन्य विपद् : जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित
–नारायण ढुङ्गाना
नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनुभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको छ । मुलुक नै अहिले जोखिम न्यूनीकरण र प्रतिकार्य योजनामा केन्द्रित भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कतिपय जिल्लामा वडास्तरीय रुपमै पहिराको जोखिम पहिचान गरी क्षति न्यूनीकरणका तयारी थालिएको छ । यसपालि बढी पानी पर्ने पूर्वानुमान सँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको र स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा आवश्यक तयारी थालिसकिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल गत सालको अनुभवको आधारमा समीक्षा गर्दै आगामी दिनका पूर्वतयारीका कार्यक्रम अपनाइएको बताउँछन् । “विगतमा बाढीको पूर्वतयारी राम्रो भए पनि पहिराको पूर्वतयारी प्रभावकारी नभएको पाइयो, चाहिने स्रोतसाधन जिल्लामा पुगेको पाइएन”, पोखरेलले भने, “अब त्यसलाई विशेष ध्यान दिएर तयारीका काम थालेका छौँ ।” बाढीमा जसरी पूर्वसूचना प्रणाली छ, अहिले पहिरोका लागि पनि पूर्वसूचना प्रणाली नमुनाका रुपमा नौ जिल्लामा लागू गर्न लागिएको उनले बताए ।
गत वर्ष अप्रत्यासित रुपमा आएको मनसुनजन्य विपद्बाट ४०० बढी मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । पहिरो मात्रै ४०० भन्दा बढी खसेको थियो । गत साल कतिपय क्षेत्रमा हेलीप्याडको व्यवस्था समेत नभएको अबस्थामा नेपालका सबै वडामा हेलिप्याड व्यवस्थापनमा समेत जोड दिइएको छ । विगतकै अनुभवको आधारमा अन्य उद्धार सामग्रीको व्यवस्थापनका लागि आधारभूत काम गरिएको छ ।
प्राधिकरणका अनुसार क्षति भएकाको हकमा विगत लामो प्रयासबाट पुनःनिर्माण र पुनःस्थापनाका कार्यक्रम तत्कालै शुरु गर्न सक्ने भएको छ । तथ्याङ्क विश्लेषणको आधारमा कसरी पूर्वतयारी गर्न सकिन्छ भनेर अन्तरक्रिया र छलफल चलाएर सुझाव समेत लिइएको छ ।
राहत तथा उद्धार सामग्री ठाउँठाउँमा पुर्याउन र तयारीमा लाग्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री खगराज अधिकारीबाट स्पष्ट निर्देशन आएकाले सोहीअनुसार तयारीमा जुटेको पोखरेल सुनाउँछन् ।
सरकारबाट कुनै पनि काममा ढिला नहोस् भनेर सम्बद्ध निकायलाई निर्देशन गएको छ । सबै विपद्जन्य घटना सम्बोधनका लागि एकीकृत कार्यविधि बनाउने प्रक्रियामा अघि बढेको समेत उनले जानकारी दिए । बजेटको अभावमा कुनै पनि काम प्रभावित नहुने समेत उनले स्पष्ट पारे । विपद्मा उद्धार राहत गर्नुपर्ने अबस्थामा आवश्यक व्यवस्थापकीय सामग्री भण्डारण, बाढी र कोभिड तथा पहिरो र कोभिडको जोखिम कस्तो छ ? कुन–कुन जिल्लामा कस्तो प्रभाव पर्न सक्छ भन्ने छुट्याएर सरोकारवालासँगको समन्वयमा प्रतिकार्य योजना तयार पारेको प्राधिकरणका सहसचिव विश्वप्रकाश अर्यालले जानकारी दिए ।
नेपालमा पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीबाट बढी प्रभावित छन् । हिमाली क्षेत्र हिउँ पहिरो र हिमपातबाट प्रभावित हुन्छ । नेपालमा भिरालो जमीन, कमजोर भौगोलिक अबस्था, यत्रतत्र सडक खन्ने काम, जोखिम क्षेत्रमा बसोवास, अव्यवस्थित शहरीकरण, डढेलो तथा अव्यवस्थित वन, प्लटिङ्ग, प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तन, बहु प्रकोपको प्रभाव र चेतनाको अभावले मनसुनजन्य विपद्लाई बढावा दिइरहेको विज्ञहरुले औँल्याएका छन् ।
यसवर्ष मुलुकभर नै सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिसकिएको छ । त्यसमध्ये पनि उच्च हिमाली र पहाडी जिल्ला बढी पानी पर्ने आँकलन छ । यसपालि मनसुनका बेला १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । यसपालि प्राधिकरणले नौ जिल्लाका ३६ पालिकामा प्रभावमा आधारित मनसुन पूर्वसूचना प्रणाली प्रयोगमा ल्याउन लागिएको जनाइएको छ । यस्तै शहरी क्षेत्रका १५५ खुला स्थान पहिचान गरिसकिएको छ । आपत्कालीन अवस्थामा मानिसलाई त्यहाँ व्यवस्थापन गरिने छ ।
विपद् प्रभावितको पुनःस्थापनका लागि निजी आवास पुनःनिर्माणको काम पनि जारी रहेको प्राधिकरणको भनाइ छ । यसअन्तर्गत १० जिल्लामा पहिलो किस्ताको रकम पठाइसकेको जनाइएको छ । आपत्कालीन अवस्थाका लागि परिचालन हुने स्रोत साधनको समेत व्यवस्था गरिएको तथा विषयगत मन्त्रालय र अन्य निकायको जिम्मेवारी पहिचान गरी सम्बन्धित समितिलाई परिचालन गरिएको प्राधिकरणको भनाइ छ ।
सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर विष्णुदेव यादव बाढीको प्रभाव न्यूनीकरणका लागि तटबन्धलगायतका प्रभावकारी कार्यक्रम अपनाई बाढी तथा जोखिम न्यूनीकरणको कार्यक्रम जारी राखेको जानकारी दिए । बोरा तार जाली लगायतको भण्डारण शुरु भइसकेको छ । उनले सीमावर्ती क्षेत्रको बाँधका कारण तराईमा हुने डुबान आउन नदिन तयारी थालिसकिएको र भारतसँग समन्वय भइरहेको बताए । उनले विगतको भन्दा क्षति न्यूनीकरण हुँदै गएको दाबी समेत गरे ।
नेपालमा यही जेठ २८ बाट भित्रिएको वर्षायाम आइतबारदेखि नै मुलुकभर फैलिसकेको छ । देशैभरि मनसुनी वायु रहेको छ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी विभूति पोखरेल मनसुन मुलुकभर नै सक्रिय भएकाले केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन सुझाव दिन्छिन् ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र भण्डारी विश्वकै अग्लो देखि निकै होचो भूभागसमेत नेपालमा रहेकाले पनि मनसुनजन्य विपद्बाट नेपाल उच्च जोखिममा रहेको जानकारी दिए । नेपालमा गत वर्ष ४०० भन्टा बढी क्षेत्रमा पहिरो गएको थियो । धेरै बढी गण्डकी प्रदेशमा गएको देखिएको छ । यो क्षेत्र बढी पानी पर्न सक्ने क्षेत्र पनि रहेको उनले बताए । विभागले गत वर्ष १०० भन्दा बढी पहिरो हेरेर अध्ययन गरेर गृहमा प्रतिवेदन बुझाएको जानकारी दिए ।
गृह मन्त्रालयका सहसचिव गोविन्द रिजाल विपद्को समयमा धनजनको क्षति रोक्ने र आवश्यक राहत तथा पुनःस्थापना कार्यक्रम नै प्रमुख रहेको जानकारी दिँदै सबै मिलेर पूर्वतयारी र प्रतिकार्यका योजनामा लाग्नुपर्नेमा जोड दिए । गृहको निर्देशनअनुसार सबै जिल्लाले आवश्यक प्रतिकार्य योजना तयार गरी लागू भइसकेको उनले जानकारी दिए । आवश्यक स्रोत सामग्री ठाउँठाउँ पुर्याउने कार्य पनि जारी राखिएको छ । रिजालले भने, “यसपालि राहत वितरणमा रकमको अभाव नहुने गरी व्यवस्था मिलाएको छ ।”
रिजालले अन्य विभिन्न साना ८५ वटा खोलामा समेत पूर्वसूचना प्रणाली राख्न निर्देशन दिइसकिएको बताए । कुल १९७ स्थानमा नदीको सतहबारे सूचना दिने गरी व्यवस्था मिलाइएको छ । आज भएको प्रतिकार्य योजना सम्बन्धिको भर्चुअल बैठकमा समेत प्राधिकरणले विशेष सावधानी अपनाउन आम नागरिकमा अनुरोध गरेको छ ।