बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी हिरोहरू जसले मैदानमै ढलेका एरिक्सनको ज्यान बचाए

सोमबार, ३१ जेठ २०७८, ०८ : ५१
सोमबार, ३१ जेठ २०७८

आइतबार डेनिस पत्रिकाले लेखेजस्तो ‘डेनमार्क हार्यो, जीवनले जित्यो  ।’ निकै कठिन रातमा अन्ततः कोपेनहेगनले राहतको सास फेर्यो । युरोकपअन्तर्गत फिनल्यान्डविरुद्धको डेनमार्कको सुरुवाती  खेलमा घाइते भएका क्रिस्टियन एरिक्सन होशमा आए र उनको अवस्था ‘स्थिर’ बन्यो । 

उनी आसपास रहेकाहरूले निकै तीव्र रूपमा काम गरेका थिए । त्यही तीव्रताले पनि सायद यी मिडफिल्डरको ज्यान जोगाएको हुनसक्छ । एरिक्सनलाई सहयोग गर्न ती खेलाडी, स्वास्थ्यकर्मी र अधिकारीहरू कसरी अघि सरे ? यसबारे चर्चा गरौँ ।
पहिलो दृश्यमा सिमो  क्येर र डेनमार्कका खेलाडीहरू छन् । थ्रो ई रिसिभ गर्न खोज्दा एरिक्सन ढलेपछि कोपेनहेगन पार्केन रङ्गशालमा काम्न थाल्यो ।

डेनमार्कका कप्तान सिमोन क्येर दृश्यमा देखिएका पहिलो खेलाडी थिए । उनले एरिक्सनको एयरवेजलाई सफा गर्न खोजे । दुवै टोलीका खेलाडीहरूले हतार गर्न मेडिकल स्टाफलाई आग्रह गरे । 

उनलाई जोगाइयो तर त्रस्त अवस्थामा रहेका एरिक्सनका साथीहरू उनी वरपर घेरा हालेर बसे । खेल हेरेर बसेका १५ हजार २ सय समर्थक र टेलिभिजनमार्फत खेल हेर्ने दशौँ लाखसामु केही गोपनीयता रहोस् भन्ने उनीहरू चाहना थियो । 

धेरै खेलाडीहरूको आँखामा आँशु थियो । कोही प्रार्थना गरिरहेका थिए । इन्टर मिलानका २९ वर्षीय स्टारलाई अन्ततः स्ट्रेचरमा हालेर अस्पताल लगियो । जब इक्सिन होशमा आए भन्ने खबर प्राप्त भयो, त्यसपछि बल्ल खेल सुरु भयो र फिनल्यान्ड १–० ले विजयी भयो । 

तत्काल तीव्र रूपमा मेडिकल एटेन्सन दिइएकाले उनको ज्यान जोगिएको स्पोर्टस् कार्डियोलोजिस्ट प्रोफेसर सञ्जय शर्मा बताउँछन् । 

डाक्टरले जे देखे 

डेनमार्कका टिम डाक्टर मार्टिन बोसेनले खेल सकिएपछि पत्रकार सम्मेलनमा यो घटनाबारे बताए । ‘उनी पूरै बेहोश थिए,’ उनले भने, ‘म उनी भएको ठाउँ पुग्दासम्म उनले सास फेरिरहेका थिए, मैले पल्सको अनुभव गर्नसक्थेँ । तर अचानक त्यो परिवर्तन भयो र हामीले उनलाई सीपीआर दिन थाल्यौँ ।’

मेडिकल टिम र बाँकी स्टाफहरूको संयोजनका कारण उद्धार सम्भव भएको उनी बताउँछन् । मार्टिनका अनुसार अस्पताल लैजानुअघि नै एरिक्सनले उनीसँग कुराकानी गर्न थालिसकेका थिए । 

२०१२ मा बोल्ट वन्डरर्सका फाबराइस मुआम्बालाई खेलका दौरान कार्डियाक एरेस्ट भएको थियो । उनी पनि बाँच्न सफल भए तर फेरि खेल्न सकेनन् ।  

खेलाडीहरूले खेल पूरा गरे 

डेनिस खेलाडीहरूलाई दुईवटा विकल्प दिइएको थियो । राति नै खेल पूरा गर्ने वा अर्को दिन दिउँसो खेल्ने । एरिक्सन ठीक भए भन्ने सुनिसकेपछि खेलाडीहरूले त्यही रात खेल सक्ने निर्णय लिए ।
 
एरिक्सन ढलेको झन्डै  दुई घण्टापछि खेल सुरु भयो । पहिलो हाफको बाँकी रहेको ५ मिनेट समयको खेल खेलेपछि ५ मिनेट ब्रेक दिइयो । त्यसपछि दोस्रो हाफ सुरु भयो ।
डेनमार्कका प्रशिक्षक कास्पर हजुलमन्दले भने, ‘रातभर सुत्न नसक्ने र भोलिपल्ट फेरि खेल्नका लागि बस चढेर जाने कुरा खेलाडीले कल्पना गर्न सक्दैन थिए । त्यसैले त्यही रात खेलसक्नु सहज थियो ।’

उनल थपे, ‘त्यो कठिन रात थियो । जीवनमा महत्त्वपूर्ण कुरा के हो भनेर हामी सबैलाई स्मरण भयो । हामीसँग निकट रहेका व्यक्ति, हाम्रो परिवार र साथीभाइसँगको निकट सम्बन्ध नै महत्त्वपूर्ण हो ।’ 

प्रशिक्षकका अनुसार खेलाडीहरू यस घटनापछि मानसिक रूपमा थकित थिए र उनीहरू एरिक्सनका लागि मनमनै प्रार्थना गरिरहेका थिए । उनका अनुसार टोलीका केही खेलाडी खेल्नसक्ने अवस्था थिए भने केही थिएनन् । तर पनि खेलाडीहरूले आफ्नातर्फबाट राम्रो गर्ने प्रयास गरेको उनी बताउँछन् । 

खेल सुचारु भएपछि पिर्रे इमाइल होग्ब्जर्गले पेनाल्टी मिस गरे । यदि घाइते नभएको भए एरिक्सनले सायद यो पेनाल्टी प्रहार गर्ने थिए । जोइल पोजानपालोले गरेको हेडरलाई डेनमार्कका गोलकिपर पिटर स्माइकलले नियन्त्रणमा लिन सकेनन् । 

समर्थकहरूले पनि निभाए भूमिका 

खेलमा उपस्थित भएकाहरू, चाहे ती डेनमार्कका समर्थक हुन्, चाहे फिनल्यान्ड वा तटस्थहरू । ती सबैजना समाचारका सुन्नका लागि रङ्गशालामा प्रतीक्षा गरेर बसिरहे, जबकि खेल सुरु नहोलाजस्तो लागिसकेको थियो ।

एउटा बिन्दुमा फिनल्यान्डका समर्थकहरूले ‘क्रिस्टियन’ र डेनमार्कका समर्थकहरूले ‘एरिक्सन’ भन्दै चिच्याए । खेल सुचारु भएपछि मैदानमा फर्किएका सबै खेलाडीहरूको सम्मान दर्शकहरू सिटबाट उठे । ‘अधिकांश दर्शकहरू रङ्गशालामा उठेका छन्,’ स्कटल्यान्डका पूर्व विङ्गर पाट नेभिनले बीबीसी रेडियो लाइभमा भने, ‘उनीहरू केही समाचार सुन्न आतुर थिए भन्ने देखिन्छ । जब पछिल्लो अपडेट सार्वजनिक भयो तब उनीहरू हर्षको आँशु झारेर राहतको सास फेरिरहेका थिए ।’ 

इङ्लिस रेफ्री एन्थोनी टेलरको पनि यो घटनामा ठूलो भूमिका थियो । म्यानचेस्टरका यी रेफ्रीले घटना हुनासाथ खेल स्थगित गरेर स्वास्थकर्मीलाई कुद्न इसारा गरे । त्यसपछि उनले खेलाडीहरूलाई पठाए, जसबाट केही समयका लागि खेल स्थगित हुन्छ भन्ने स्पष्ट भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप