शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ को नीति तथा कार्यक्रम पारित, १ गते बजेट ल्याउने तयारी

आइतबार, ३० जेठ २०७८, २१ : ४८
आइतबार, ३० जेठ २०७८

प्रदेश नम्बर २ प्रदेशसभाको आइतबार बसेको बैठकले आर्थिक वर्ष ०७८/०७९ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुलेको छ ।

सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे । नीति तथा कार्यक्रममाथि भएको छलफलको क्रममा केही सांसदहरुले संशोधनको प्रस्ताव पेस गरेका थिए । सो संशोधनको प्रस्ताव फिर्ता लिएसँगै सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । नीति तथा कार्यक्रम निर्णयार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री लालबाबु राउतले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

जवाफ दिने क्रममा मुख्यमन्त्री राउतले मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट विगतदेखि नै सहयोग नभएकोले बजेट कार्यान्वयनमा जटिल कठिनाइहरु हुँदै आएको बताए । उनले प्रदेश सरकार मातहत रहेका विभिन्न विभाग, कार्यालयहरूका लागि पर्याप्त ठाउँको अभाव रहेको भए भरका मन्त्रालय, विभाग र समितिहरुमा कर्मचारीहरु न्यून रहेको, न्यून अवधिसम्मका लागि सचिवस्तरका कर्मचारीहरु पठाउँदा छिट्टै नै अवकाश वा सरुवा भई अन्यत्र गएपछि बजेट समयमा सकाउन कठिनाई भएको बताउदै उनले विगतका कमिकमजोरी समेत स्वीकारे । उनले भने, 'संघीय सरकारले आवश्यक सहयोग नगर्दा जे जस्तो भएपनि हामीले भ्याएसम्म काम गरेका छौँ, थोरै कार्यालय भएपनि कर्मचारी अभाव र अझै पनि अव्यवस्थित भएका कार्यालयहरूले गर्दा समेत समयमा बजेट खर्च गर्न कठिनाई भएको हो ।'

उनले तेश्रो चरणको कोरोना महामारीको लागि प्रदेश सरकार तयार रहेको बताए । उनले भने– पहिलो कोरोनाकालमा पनि संघीय सरकारले सहयोग गरेन, आफ्नो स्तरबाट जनताका लागि लागिपरेका छौँ । उनले सरकारले छिट्टै नै असार ३ गते जनकपुरधामको मुजेलियामा रहेको कोभिड अस्पतालको उद्घाटन गर्ने समेत जनाएका छन् । 

यस अघि निति तथा कार्यक्रममा संशोधनका लागि प्रदेशसभा सदस्यहरु शिवचन्द्र चौधरी, सीता गुरुङ, सुन्दर बहादुर विश्वकर्माले राखेका संशोधन प्रस्ताव फिर्ता लिएका थिए भने प्रदेशसभा सदस्य दिलीप साहको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप