शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ

आइतबार, ३० जेठ २०७८, २० : ५७
आइतबार, ३० जेठ २०७८

सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आज पक्राउ परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

पसलसँगै रहेको घरमा सुतिरहेका व्यापारी दम्पतीको मण्डलसहितका आरोपितहरूले २०७१ जेठ २१ गते राति हत्या गरेको बताइएको छ । यसअघि पक्राउ परेकाहरू सुनसरी हरिपुर गाविस–७ भण्टाबारीका २६ वर्षीय मो कैजुम मियाँलाई सप्तरी जिल्ला अदालतले २०७३ भदौ २६ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले मियाँलाई हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद फैसला भएको जिल्ला अदालतले जनाएको छ ।
 
श्रेस्तेदार कुमार मास्केका अनुसार सुनसरी जिल्लाको श्रीपुर गाविस–८ का ४० वर्षीय मो हैदर अली मियाँलाई हत्या आरोपमा जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद भएको छ । सुनसरी जिल्लाको श्रीपुर जब्दीस्थित कोशी कटान क्षेत्रबाट २०७१ जेठ २९ गते एक थान नल कटुवा पेस्तोल, दुई राउण्ड गोली र गरगहनासहित  पक्राउ परेका कैजुम र हैदरलाई जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले २०७१ असार २९ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो ।

यसैगरी सुनसरी हरीपुर गाविस–७ का २७ वर्षीय इनर भनिने इन्द्रदेव कामत र श्रीपुर गाविस–३ कुमयाहीका २६ वर्षीय सागिर मन्सुर मियाँलाई ११÷११ वर्ष कैद फैसला भएको छ । सुनसरी नरसिंह गाविस–९ चिरौनीबाट २०७१ असोज ४ गते पक्राउ परेका कामत र सागिरलाई सप्तरी जिल्ला अदालतले २०७१ असोज ६ गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो ।

आज पक्राउ परेका मण्डल र सुनसरी हरिपुर गाविस–७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अलाउद्दिन मियाँ फरार रहेकाले उनीहरूको हकमा मुद्दा मुल्तवी राखिएको छ । सलिम अझै पक्राउ परेका छैनन् ।
 
आरोपितहरूले २०७१ जेठ २१ गते राती हनुमाननगर बजारस्थित पसलसँगै रहेको घरमा वेगवानी दम्पतीको हत्या गरेका थिए । लाशको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७१ जेठ २३ गते पोष्टमार्टम भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत ०७१ जेठ २३ गते मुद्दा दर्ता गरेको थियो ।

आरोपितहरूबाट गरगहना किन्ने सुनसरी ईनरुवा नपा–१ घर भई लौकही गाविस–६ मा सुनचाँदीको पसल गर्ने ३४ वर्षीय सुबोध स्वर्णकारलाई हत्या र चोरीबाट सफाई मिले पनि उनले किनेको चोरीको धनमाल पीडित पक्षलाई फिर्ता दिने फैसला भएको छ । रुपनी गाउँपालिका–१ बाट २०७१ असार ४ गते पक्राउ स्वर्णकार अदालतको आदेशमा २०७१ असार २९ गते नगद रु १० लाख धरौटी बुझाई रिहा भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप