शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

आइतबार, ३० जेठ २०७८, १३ : २८
आइतबार, ३० जेठ २०७८

चीनको एक शहरले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ ।  तिब्बतस्थित शान्नान सहरले ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ । 

वि.सं. २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो ।  नेपालमा तीव्र गतिमा कोरोना संक्रमण बढेसँगै भक्तपुरमा यस रोगको प्रभावबारे चासो लिई शान्नान नगरपालिकाले चिन्ता व्यक्त गर्दै पत्राचार गरेको थियो । 

सोही क्रममा संक्रमण दर तीव्र रुपमा बढिरहेको र संक्रमितहरुको उपचारमा अक्सिजन, भेन्टिलेटर र अक्सिजन सिलिन्डर अभाव भएकाले व्यवस्था गर्न सकिए कोरोना रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्ने जानकारी भक्तपुर नगरले गराएको थियो ।

प्राप्त उपकरणहरूमा भेन्टिलेटर १ सेट,  अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) १ एक सय वटा र आईसीयु बेड ५० वटा रहेको छ ।  उक्त सहयोग चिनियाँ युयान ५ लाख ९९ हजार ४ सय अर्थात् नेपाली रुपैयाँ १ करोड ९ लाख २१ हजार ६८ रुपैयाँ रहेको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ ।  

तातोपानी नाकामार्फत पठाइएको उक्त सामाग्रीहरु हाल भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा संकट परेको बेला छिमेकी मित्र देशको तर्फबाट भएको सहयोगको लागि धन्यवाद दिएका छन् । 

उनले यस प्रकारको सहयोगले दुई नगरबीचको आपसमा मित्रता र सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।  भक्तपुर नगरपालिकाले हाल ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा कोभिड—१९ का बिरामीको लागि ख्वप अस्पताल अन्तर्गत २५ शैयाको एचडीयुसहित ७५ शैंयाको कोभिड युनिट सञ्चालन गर्दै आइरहेको छ । 

‘जनस्तरबाट प्राप्त सहयोगको रकमबाट ख्वप अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लान्टको आवश्यक सामाग्रीहरु चीनको छेन्दुबाट ल्याइसकेका छौं’ नगरप्रमुख प्रजापतिले भने ।  अक्सिजन प्लान्टबाट परीक्षणको रुपमा अक्सिजन उत्पादन भइरहेको छ, अबको केही दिनबाटै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुने नगरप्रमुख प्रजापतिको भनाई छ । 

चीन सरकारले केही दिन अगाडि नेपाल मजदुर किसान पार्टीको तर्फबाट पठाएको १५ हजार थान मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर समेत ख्वप अस्पताललाई प्राप्त भएको नगरपालिकाले जानकारी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप