शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीमाथि आक्रमण निन्दनीय

आइतबार, ३० जेठ २०७८, ०८ : २६
आइतबार, ३० जेठ २०७८

कोरोना भाइरसको प्रकोप विश्वभर नै फैलिएको छ । यसले सामान्य मानिसको जीवनमा निकै असर पारेको छ । आर्थिक समस्या, स्वास्थ्यसम्बन्धी समस्या र अन्य समस्याबाट मानिस गुज्रिरहेको अवस्था छ । यसले मानिसको दिनचर्यामा समेत परिवर्तन आएको छ । यस्ता विभिन्न समस्याका बीचमा स्वास्थ्यकर्मीहरू काम गरिरहेका छन् । आफन्त, साथीभाइ र परिवारभन्दा टाढा रहेर जीवनको बाजी लगाई स्वास्थ्यकर्मीहरूले काम गरिरहेको अवस्था छ । स्वास्थ्यकर्मीहरूले निरन्तर तनावको स्थितिमा काम गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । यस स्थितिमा काम गरिरहँदा पनि स्वास्थ्यकर्मी माथि निरन्तर आक्रमण भइरहनु दुखद् कुरा हो ।

स्वास्थ्यकर्मीलाई भगवानका रूपमा मानिन्छ । कसैको ज्यान बचाउने मानिसलाई भगवान भन्दा फरक नपर्ला । तर अहिले यस पेसामा संलग्न व्यक्तिहरूमाथि निरन्तर आक्रमण हुने क्रम जारी छ । राजनीतिक शक्तिको आडमा होस् वा रिसको आवेगमा स्वास्थ्यकर्मीमाथि आक्रमण हुने क्रम निरन्तर उकालो लाग्दै छ । हालसालै देशका विभिन्न भागमा बिरामी र तिनका नातेदारले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको घटना मिडियामा हेडलाइन बनिरहेका छन् । यस्तै घटना नेपालमा मात्र नभएर अमेरिका, प्यालेस्टाइन, श्रीलङ्का र अन्य धेरै देशमा समेत रेकर्ड गरिएको छ ।

मृत्युको मुखमा पुगेको व्यक्ति होस् वा सामान्य बिरामी भएको व्यक्ति, स्वास्थ्यकर्मीको काम सबैलाई निको पार्ने नै हो । ती व्यक्तिलाई सामान्य अवस्थामा फर्काउन स्वास्थ्यकर्मीले अथक प्रयास गर्ने गर्दछन् । कुनै स्वास्थ्यकर्मीको लापरबाहीले कोही कसैको मृत्यु भइहालेको खण्डमा समेत स्वास्थ्यकर्मीलाई कानुनले कारवाही गर्दछ । कानुनविपरीत गई आफै सर्वैसर्वा भन्ने भाव राखी स्वास्थ्यकर्मीमाथि आक्रमण भने गर्नु हँुदैन । थोरै घटनामा मात्रामा स्वास्थ्यकर्मीको लापरबाहीको कारणले ज्यान जाने गर्छ । त्यसका बाबजुद पनि स्वास्थ्यकर्मीको कारणले गर्दा नै ज्यान गएको भन्ने दोषारोपण लगाई स्वास्थ्यकर्मीमाथि आक्रमण हुने गर्दछन् । स्वास्थ्यकर्मीको अथक प्रयासपछि पनि कैयौँ बिरामीको मृत्यु हुनेगर्छ । सो कुरालाई विचार नगरी प्रतिशोधको भावनासहित स्वास्थ्यकर्मीमाथि आक्रमण हुन्छ ।

स्वास्थ्य विज्ञान जर्नल, २०१४ को लेखमा नेपालमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसाले नेपाली डाक्टर र नर्सहरू रोजगारीका लागि देश छोड्नुको मुख्य कारणका रूपमा उल्लेख गरेको छ । नेपाल मेडिकल काउन्सिलले प्रयोग गरेको अपूर्ण डाटाअनुसार २००७ र २०१२ बीचमा चिकित्सा पेसा गर्नेहरूविरुद्ध हिंसा र उत्पीडनका ६१ घटना रेकर्ड गरिएको थियो । ती त्यसमध्ये एक जना अपराधीलाई पनि दण्डित नगरिएको दाबी गरेको छ । नेपाल चिकित्सक सङ्घले तयार पारेको तथ्याङ्कअनुसार २०७० देखि २०७७ साल चैतसम्म ३४ घटनामा स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोडफोड भएका रहेछन् । उपचारका क्रममा बिरामीको मृत्यु भइसकेपछि बिरामीका आफन्तले आक्रमण गर्ने गरेका छन् । कैयौँ स्वास्थ्यकर्मी आक्रमणबाट घाइते समेत भएका छन् ।

राष्ट्र निर्माण भनेको भौतिक विकास मात्र होइन । जनताको सोच र व्यवहार परिवर्तन पनि हो । देश जति नै विकास भए हिंसा भइरहने हो भने त्यसको कुनै अर्थ रहँदैन । स्वास्थ्यकर्मीविरुद्ध हुने यस्ता हिंसाले समग्र समाजलाई हानि गर्छ । स्वास्थ्यकर्मी जोखिममा परेमा यो सेवामा काम गर्नेको मनोबल घटाउँछ । पेसाप्रतिको सम्मान र मनोबल उच्च भएमा मात्र जो कोहीले काम गर्न सक्छन । यी दुवै कुरामा कमी आएमा कुनै पेसामा आवद्ध व्यक्तिहरूले काम गर्न नसक्ने कुरा स्पष्ट रहेको छ ।

स्वास्थ्यकर्मीले यस्ता हिंसाका दोषीलाई कारबाही गर्न मागसमेत गरेका छन् । साथै उनीहरूको सुरक्षाको ग्यारेन्टीको विषय पनि अघि सारेका छन् । स्वास्थ्य क्षेत्र महत्त्वपूर्ण पेसा हो । तर बढ्दो हिंसाको घटनाले यस पेसामा अरुचि बढ्दै गएको छ । स्वास्थ्य सेवाको सुधार निमित्त स्वास्थ्यकर्मी माथि हुने आक्रमणलाई रोक्नुपर्छ । सरकार र त्यसअन्तर्गतका निकायले प्रभावकारी कदम चाल्नुपर्छ । यस्तो समस्या समाधान गर्न अझ प्रभावकारी स्वास्थ्य नीति निर्माण गर्न जरुरी छ । स्वास्थ्य क्षेत्रलाई हिंसा मुक्त कार्यस्थल बनाउन आवश्यक छ । अस्पताल र स्वास्थ्य केन्द्रमा हुने आक्रमण रोक्न नीतिहरूको निर्माण गरिनुपर्छ ।

आफू संलग्न पेसामा सुरक्षा पाउनु व्यक्तिको हक हो । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ जारी छ । उक्त ऐनमा स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ । त्यस्तो भएको खण्डमा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । त्यस्तै गरेर स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ छ । यस नियमावलीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धमा अन्य आवश्यक काम गर्नेबारे उल्लेख गरिएको छ ।

हामी आफ्नो परिवारसँग सुरक्षित रूपमा घरमा बसिरहेका हुन्छौँ । ज्यानको बाजी लगाई हामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न हामीले सहयोग गर्नुपर्छ ।

कोभिड–१९ को महामारीमा सरकारले स्वास्थ्यकर्मीलाई थप हौसला प्रदान गर्नुपर्छ । स्वास्थ्य सेवामा खटिएका व्यक्तिको पारिश्रमिक शुल्कमा समेत वृद्धिदर गरिनुपर्दछ । त्यति मात्र नभई स्वास्थ्यकर्मीलाई जुनसुकै बेला आक्रमण गर्नेलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।

लेखक काठमाडौँ स्कुल अफ ल की विद्यार्थी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकृति बानियाँ
प्रकृति बानियाँ
लेखकबाट थप