मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

साम्राज्यवादीको इसारामा चलेको नेपालको शिक्षा प्रणाली

आइतबार, ३० जेठ २०७८, ०८ : २१
आइतबार, ३० जेठ २०७८

विश्व समुदाय यतिबेला वैज्ञानिक हतियारसँग चम्किरहेको छ । उत्पादनको क्षेत्रमा होस् या युद्धको क्षेत्रमा होस्, विकसित राष्ट्रहरूमा विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्दै हरेक दिन नयाँ–नयाँ आविष्कार भइरहेको छ । उनीहरु मानव जीवनलाई कसरी सहज, सभ्य, सरल बनाउन सकिन्छ भनेर व्यापक बहस र पैरवी भइरहेको छ । वर्तमान युगसम्म आइपुग्दा परिवर्तनले युगान्तकारी छलाङ मारेको छ । यसको जग भनेको शिक्षा हो । यसले नयाँ ज्योतिको उदय गराउँछ ।

शिक्षा मानव जीवनको मस्तिष्क हो । किनभने शिक्षाको पहुँचमा नभएको मानिसको हालत मरुभूमि जस्तै हुन्छ । विश्वको राजनीतिक, आर्थिक, सामाजिक पक्षतर्फ नजर लगाउने हो भने केही देश विकसित, केही देश विकासशील र केही देश अविकसितको परिधिमा हुनुको पछाडि अरू कुनै कारण नभई शिक्षाको नै हात छ ।

जुन देशको शिक्षा माटो सुहाउँदो छ त्यो देश शक्तिशाली बनेको छ । त्यसले विश्वमा तहल्काको तरङ्ग फैलाउँदै आफ्नो वर्चस्व कायम गरेको तथ्य यथार्थ हो । ती देशले उपलब्ध स्रोत र साधन अनुसार आवश्यकतालाई मध्यनजर गर्दै शिक्षालाई त्यही ढाँचामा बदलेकाले आजको शक्तिमा खडा भएका हुन् ।

देशअनुसारको भेष भनेजस्तै आफ्नै देशको माटोलाई सुहाउने शिक्षा प्रणाली कायम नगरी बाह्य शक्तिको निर्देशनमा मात्र पाइला चालेको भए आजका विकसित देशको हविगत पनि नेपालको जस्तै हुनेथियो । चीन, अमेरिका, जापानलगायतका विकसित देशका शिक्षा प्रणाली हेरौँ, तिनले शैक्षिक साम्राज्यवादीको कुरा मानेका छैनन् ।

विश्वमा दुई खालको शिक्षा छ । एउटा शैक्षिक साम्राज्यवादले दिग्दर्शन गरेको शिक्षा । जुन शिक्षा अधिकांश विकासशील र अविकसित राष्ट्रमा छ । अर्को खालको शिक्षा भनेको वैज्ञानिक, प्राविधिक तथा व्यावसायिक शिक्षा हो । यस्तो शिक्षा विकसित राष्ट्रले अवलम्बन गरेका छन् । त्यसले वैज्ञानिक क्षेत्रमा कायापलट गरेको छ ।

नेपालको शिक्षा प्रणाली नेपाली माटो सुहाउँदो छैन । यो शिक्षा प्रणाली शैक्षिक साम्राज्यवादीको इसारामा चलेको छ । विडम्बनाका साथ भन्नुपर्छ, नेपाल जस्तो स्रोतसाधनले सम्पन्न राष्ट्रले शिक्षामार्फत त्यही कुरालाई सदुपयोग गर्न सक्ने बनाउन सकेको छैन । यसको प्रमुख कारण के हो भने शिक्षामा बाह्य शक्तिको पहुँच बलियो हुनु हो । यसले नेपालमा विद्वान् हैन कामदार उत्पादन गर्न चाहन्छ ।

हामीले लिइरहेको शिक्षालाई हेर्दा प्रष्ट हुन्छ, के यो व्यावहारिक छ ? वैज्ञानिक छ ? के यो प्राविधिक छ ?  हाम्रो शिक्षा प्रणालीको अर्को अत्यन्त खराब विशेषता भनेको शैक्षिक व्यापारीकरण हो ।

आम नेपालीको जीवनमा परिवर्तन गर्ने नाममा विभिन्न युद्धहरू भए । सबै आन्दोलनमा होमिए तर शिक्षालाई नेपाली वातावरण अनुकूल बनाउन कसैले सकेनन् । संविधानको प्रस्तावनामा नै लोकतान्त्रिक मूल्य मान्यता समाविष्ट समाजवादी चरित्रको राष्ट्र निर्माण गर्ने जस्ता महत्वपूर्ण विशेषता अङ्गिकार गरेको छ । तर त्यसको प्रभावकारी कार्यान्वयनतर्फ कसैको ध्यान गएको छैन । किनभने नेतृत्व आफ्नो मस्तिष्कको पकडमा छैन । संविधानले समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको परिकल्पना गरेको छ । यो परिकल्पना अहिलेको शिक्षा प्रणाली नफेरिएसम्म कागजमै सीमित रहन्छ । किनभने यस्तो शिक्षाले देशलाई समृद्धि दिन सक्दैन ।

तसर्थ समृद्ध र वैज्ञानिक समाज विकास गर्ने हो भने सबभन्दा पहिले शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ । नेपालको स्रोतसाधनलाई उपयोग गर्न सक्ने प्राविधिक, व्यावसायिक तथा जनवादी शिक्षा चाहिन्छ । यसले बेरोजगारी समाप्त पार्दै लैजान सकोस् ।

कागजमा लेख्दैमा समृद्धि आउँदैन । समृद्धि भनेको त त्यसको कार्यान्वयनले ल्याउने हो । अहिलेको शिक्षाले अपवादबाहेक केवल भिक्षा माग्न सिकायो । जसले बेरोजगार शक्तिलाई मलजल गरेको छ । यस्तो शिक्षा प्रणालीले समृद्ध र वैज्ञानिक समाजको विकास हुन सक्दैन । 

सर्वप्रथम शिक्षामा आमूल परिवर्तन गरी उत्पादनसँग जोडिनु पर्छ । देशमा उपलब्ध स्रोत साधनबाट कसरी लाभ लिने, विश्व बजारमा बिक्री हुन योग्य वस्तुको उत्पादन कसरी बनाउने भन्ने  सवाललाई सम्बोधन गर्ने शिक्षाको विकास गर्नु पर्छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने, परिवर्तित समाजमा उभिन सक्ने जनशक्ति तयार गर्ने शिक्षा नभई समृद्धि सम्भव छैन ।

विदेशी शक्तिको आँटमा होइन स्वदेशी तागत बमोजिम विश्व वातावरणमा ग्राह्य शिक्षा बनाउनु पर्छ । अनि मात्र समृद्ध र वैज्ञानिक समाजको विकास हुन्छ ।

लेखक कानुनका विद्यार्थी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत खत्री
भरत खत्री
लेखकबाट थप