केन्द्रीय संस्करण

निर्वाचनका लागि तयार रहन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

person explore access_timeजेठ २९, २०७८ chat_bubble_outline0

 

गृहमन्त्री खगराज अधिकारीले प्रहरीलाई निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका अधिकारीले प्रहरी कर्मचारीहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गरेका थिए । सो क्रममा उनले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबै भन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिए । घोषित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायतका दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री अधिकारीले कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै यस कार्यमा अझ बढी सक्रिय हुनुपर्ने बताए । सीमित साधन स्रोतका बावजुद नेपाल प्रहरीलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको चर्चा गर्दै यस सन्दर्भमा आवश्यक व्यवस्थापनका लागि गृह मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिए । गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीको निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए । संगठनले प्राप्त गर्ने नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास उनले व्यक्त गरे । 

यसअघि गृहमन्त्री अधिकारी र गृहसचिव महेश्वर न्यौपानेलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरेका थिए ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री अधिकारीसमक्ष प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौति, आवश्यकता र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.