केन्द्रीय संस्करण
नियात्रा

गोलान हाइट्सको यात्रा

person explore access_timeजेठ २९, २०७८ chat_bubble_outline0
https://www.timesofisrael.com/

वि.स. २०५५ फागुन २१ गते बिहान ४ः१० बजे मुम्बईबाट उडेको विमान ९ः२४ मा इजरायलको तेल अबिबस्थित बेन गुरिवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । अवतरण सूचनामा ‘इजरायलको स्थानीय समय बिहानको ८ः१२ बजे रहेको’ बताइएपछि मैले आफ्नो घडीमा समय मिलाएँ । काठमाडौँदेखि इजरायलसम्म सीधा उडान थिएन । त्यसैले हिजो नै काठमाडाँैबाट दिल्ली पुगेर डोमेस्टिक फ्लाइटमा मुम्बई गएको थिएँ । अहिले जस्तो धेरै देशको भ्रमण गरेको अनुभव मसँग थिएन त्यतिबेलासम्म । अन्य विदेशी मुलुक त परैजाओस मेची र महाकाली नदीमा रहेको पुलको सिमाना, जोगबनी, रक्सौल, सुनौली र गौरीफन्टाभन्दा बढी भारतकै अन्य भूभागमा पनि पुग्न सकेको अवस्था थिएन । त्यसैले एउटा आलोकाँचो तर अत्यन्तै उत्साहित यात्रु थिएँ म ।

ट्रलीमा ‘ब्यागेज’ राखेर बाहिर निस्केँ । भ्यान जस्तो देखिने एउटा गाडीको आगाडि गएर अङ्ग्रेजीमा मैले हाइफा जान खोजेको भनेपछि ड्राइभरबाट टाउको हल्लाएर सकारात्मक सङ्केत पाइयो । म अघिल्लो सिटमा बसेँ । आठ जनाको सिट भरिएपछि मात्रै जाने हुँदा एकछिन कुर्नु पर्याे । मैले यात्रा डायरी झिकेर लेख्न थालेँ । गाडीमा पछि बसेका यात्रुहरू घरीघरी मलाई हेर्दै थिए ।

भूमध्य (मेडिटरिनियन) सागरको तीरमा रहेको तेल अबिबबाट उत्तरतर्फ सोही सागरको तटमा रहेको हाइफा सहरको दूरी ८१ किलोमिटर भएको कुरा पढेको थिएँ । ‘कतिबेला समुद्र देख्न पाइएला ?’ भन्ने कौतुहलले मेरो दिमाग परिक्रमा गरिरहेको थियो । भूमध्यसागरकै छेउबाट सडक रहेछ । कस्तो गज्जब ! गाडीको बायाँतिरबाट दृश्यावलोकन गर्दा जीवनमै पहिलो पटक समुद्रका छालहरू देख्न पाउँदा निकै नै मज्जा आयो । यस अघि आफूले देखेका त्रिशूली, नारायणी, कोसी तथा कर्णाली नदीसँग तुलना नै गर्न नसकिने खालको दृष्टिले भ्याएसम्म पानी नै पानी देखिन्छ भूमध्यसागरमा । माथि निलो आकाशमा सेतो बादलका धर्साहरू, तल निलो समुद्रमा सेता छालहरू, बिछुट्टै मनमोहक दृश्य ! ठाउँठाउँमा आकाशे सडक तथा पुलहरू, गगनचुम्बी घरहरू, अत्यन्त सफा र हरियालीयुक्त सडकका छेउछाउमा हरियो पृष्ठभूमिमा हेब्रु र अङ्ग्रेजी भाषामा लेखिएका साइनबोर्डहरू !

सवा घण्टापछि हाइफा सहरको डेभिड पिन्स्की स्ट्रिटमा अवस्थित गोल्डा मेयर माउन्ट कार्मेल अन्तर्राष्ट्रिय तालिम केन्द्रको मूलद्वार अगाडि गाडी टक्क रोकियो । साइनबोर्ड देखेपछि मेरो मन ढुक्क भयो । ड्राइभरले गाडीबाट बिल च्यातेर दिए, जसमा ४२ सेकेल (इजरायली मुद्रा) लेखिएको थियो । मैले आफूसँग डलर मात्र भएको बताएपछि उनले १० डलर दिन आग्रह गरँे । एरपोर्टबाट बाहिर निस्कनुअघि नै पैसा साट्नुपर्ने रहेछ । मैले त यादै गरिनछु । पैसा पाएपछि ड्राइभरले भने ‘टोडाह रब्बा’ (हेब्रु भाषामा धेरै धन्यवाद) । मैले पनि भनेँ, ‘थ्याङ्क यु भेरी मच’ ।

विश्वकै चौथो र इजरायलको पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री गोल्डा मेयरको नाममा स्थापना गरिएको तालिम केन्द्रको गेटमा भएको घन्टी थिचेँ । रिमोट कन्ट्रोलबाट ढोका खोलियो । मेरा लागि यो नौलो कुरा नै थियो । भित्र पस्ने बित्तिकै दुई जना महिलाले ‘नमस्ते’ भने । हेर्दा नेपाली जस्ता थिएनन् । ‘इजरायली भए पनि उनीहरूले नेपाली बुझ्नेरहेछन् क्यार’ भन्ने लाग्यो । विदेशी भूमिमा नेपालीपनको अभिवादन पाउँदा म त मक्खै परेँ । नेपालबाट एउटा सहभागी आउँनै बाँकी छ भन्ने उनीहरूलाई थाहा रहेछ । दुई जनामध्येकी ज्येष्ठता झल्काउने जिउडाल भएकी महिला रहिछन्– कोर्स निर्देशक जेनेट । उनले आफ्नो परिचयसहित स्वागत गरिन् र मलाई आफ्नो बारेमा केही बताउन आग्रह गरिन् ।

अनिदो भएर ओठ फुटेको, दाह्री नकाटेको, हावाले कपाल जिङ्ग्रिङ बनाएको, दिल्ली र मुम्बई एरपोर्टको हिँडाइ तथा दौडधुपले खुट्टा पनि दुखेको हुनाले बहुरूपी जस्तै देखिएको छु होला भन्ने लाग्यो आफूलाई । तथापि फ्रेस नै नभई आफ्नो बारेमा केही कुरा बताएँ जेनेटलाई ।

अर्की महिलाको नाम रहेछ ब्राखा । उनले सहभागी आवासको कोठा नं. २९ देखाइदिइन् । मेरो रुम पार्टनर रहेछन् दक्षिण अफ्रिकाका सिम्पेवे । हतार हतार फ्रेस भएर डाइनिङ हलमा झरेँ । नेपालकै अर्की सहभागी मधुजीसँग परिचय भयो । ‘लन्च आवरमै सिम्पेवेसँग चिनपर्ची गरियो । त्यस्तै अरू मुलुकका केही साथीहरूसँग पनि ।

लन्चपछि अत्यन्तै प्रफुल्लित भएर ‘प्रारम्भिक बाल विकास र अविभावक सहभागिता’ विषयको एक महिने छोटो तालिममा सहभागी भएँ । इजरायल सरकारको विदेश मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सहयोग संस्था MASHAV​ को छात्रवृत्तिमा संस्थागत ढङ्गले यो अवसर मिलेको थियो । हलमा ‘इजरायल ः जमिन र जनता’ विषयको सेसन प्रशिक्षक योहोसुवाले लिनुअघि परिचयात्मक कार्यक्रम गराउनुभयो । मेरो अफिस प्लान इन्टरनेसनलले अन्तिम समयमा सहभागी फेर्नुपरेको हुनाले नै म ढिलो पुगेको थिएँ । 

स्पेनिस र अङ्ग्रेजी माध्यममा दुईवटा समानान्तर सेसन चल्दै रहेछन् । अङ्ग्रेजी समूहमा नेपाल, अल्बानिया, दक्षिण अफ्रिका, जर्जिया, बेलोरुस, चेक रिपब्लिक, डोमिनिका, इथ्योपिया, फिजी, जमैका, केन्या, दक्षिण कोरिया, पपुवा न्युगिनी, फिलिपिन्स, पोल्यान्ड, तान्जानिया, टर्की, युगान्डा र भियतनाम देशका २४ जनाको सहभागिता रहेछ । तीमध्ये केवल तीन जना मात्र पुरुष । उन्नाइस देशका साथीसँग चिनजान, मित्रता र आपसी अन्तत्र्रिmया गर्न पाइने कुराले मलाई पुलकित बनाएको थियो ।

इजरायली जमिन र जनतासम्बन्धी सेसनले मनमा ठूलो जिज्ञासा उमारिदिएको थियो । ‘कहिले घुम्न पाइन्छ होला जेरुसलेम, गोलान हाइट्स, डेडसी आदि ठाउँहरू ? तालिम सकिएको भोलिपल्ट बिहानै फर्किने हवाई टिकट भएको हुँदा घुम्न नपाइने पो हो कि ? जस्ता प्रश्नले  मनलाई अशान्त पारेको थियो । सेसन समाप्त हुनुभन्दा अगाडि भोलि बिहानै गोलान हाइट्स तथा सी अफ ग्यालिलीको अवलोकन भ्रमण गर्न जाने कुरा प्रशिक्षकबाट सुन्न पाउँदा र तालिम प्याकेज भित्रै जेरुसलेम, हेब्रु विश्वविद्यालय, विदेश मन्त्रालय, तेल अबिब, मसादा, रमल्लाह, डेड सीको भ्रमण पनि समावेश गरिएको थाहा पाएर फुरुङ्ग भएँ म ।

बिहान ७ः४५ बजे स्पेनिस र अङ्ग्रेजी समूहको दुईवटा गाडीमा ४८ जना सहभागी तथा  प्रशिक्षक हाइफाबाट प्रस्थान गरियो । हाम्रो गाडीमा प्रशिक्षक योहो थिए । उनले गाडीकै माइक्रोफोनबाट यात्रा बारे सन्देश, सूचना तथा यात्राको आचारसंहिताबारे अवगत गराए ।

इजरायलको उत्तरी भेगमा अवस्थित मुख्य बन्दरगाह भएको, इजरायलको तेस्रो ठूलो सहर रहेछ हाइफा । माउन्ट कार्मेल पहाडको उत्तरी मोहडामा भिरालो जमिन तथा भूमध्यसागरको तटीय क्षेत्र रहेको यो सहर अत्यन्तै सुन्दर छ । भिरालो बस्तीमा टाउन प्लानिङ बेजोडको छ । झन्डै पौने तीन लाख जनसङ्ख्या रहेको यो सहर पर्यटकीय हिसाबले पनि लोकप्रिय रहेछ । बहाई गार्डेन तथा बहाई मन्दिर यहाँको आकर्षणको केन्द्र रहेछ ।

योहोले हाइफा सहरको पुछार तथा भूमध्यसागरको किनारतर्फ हेर्न सबैलाई आग्रह गरे । उनले भने, ‘खाडी युद्धको बेलामा इराकले मिसाइल हानेर क्षति पुर्याएको वायल रिफाइनरी त्यही हो ।’ युद्धको बेला क्रुद्ध भएको इराकले अमेरिका पुग्नेगरी मिसाइल हान्न नसक्ने हुँदा अमेरिका समर्थक देश इजरायललाई निशाना बनाएको रहेछ ।

हाम्रो गाडी जेभुलन उपत्यका हुँदै आगाडि बढ्यो । त्यहाँ १२ जातीय समूहहरूको बसोबास रहेछ । किबुच प्रणाली पनि प्रचलनमा रहेछ । त्यसपछि हामी एउटा प्राचीन गाउँ ताम्रा पुग्यौँ । एकहुल गाईवस्तुहरू देखा परे । गाउँले वातावरण रमणीय थियो ।

तेल अबिबदेखि यहाँसम्म आइपुग्दा सडकको वरपर देखेको आधारमा इजरायलको जमिन त्यति धेरै उर्वर जस्तो त लागेन । तर माटो नै नभएको ठाउँमा पनि अन्यत्रबाट माटो ल्याएर खेती योग्य बनाई बाली लगाइएको देख्दा ‘हाम्रो देशको जस्तो जमिन र पानीको स्रोत इजरायलीहरूले पाउने हो भने कस्तो बनाउने थिए होला ?’ भन्ने लाग्यो मलाई । जताततै ड्रिप (थोपा थोपा चुहिने) सिँचाइ प्रणालीमा उन्नत ढङ्गले खेती गरिने रहेछ । हाम्रोमा त्यतिबेलासम्म यो प्रणाली त्यति व्यापक भइसकेको थिएन । योहोले बताएअनुसार इजरायलको ९० प्रतिशत जमिन विभिन्न संस्था तथा सहकारीमार्फत परोक्ष रूपमा राज्यको मातहतमा हुने रहेछ ।

अगाडि बढ्दै जाँदा योहोले उद्घोष गरे, ‘ह्युमिडिटी कम छ, टाउको दुख्न सक्छ । पानी पिउनुस् बेला बेलामा ।’ सबैले आआफ्नो बोतलबाट पानी पिउन थाले । बाटामा जैतुनका बडे रुख थिए । शताब्दियौँ पुराना रुख पो रहेछन् । यहाँको गाउँको आकार झन्डै जुम्लाको जस्तै देखिन्थ्यो । गुजुमुज्ज घरहरू अनि वरपर बालीनाली लगाइएको कतै भिरालो त कतै समथल जग्गा । 

हामी कार्मेल सहरमा पुग्यौँ । करिब ३० वर्ष पुरानो यो सानो सहरको जनासङ्ख्या झन्डै २५ हजार भएको बुझियो । सडकको दायाँपट्टि औद्योगिक क्षेत्र देखियो । 

अलिकति हिउँले ढाकेको एउटा पहाड देखियो । त्यो रहेछ इजरायलको सबैभन्दा अग्लो भूभाग, माउन्ट हर्मन । माउन्ट हर्मनको शृङ्खला इजरायल, सिरिया र लेबनानसम्म फैलिएको रहेछ । हिउँले ढाकेको हिमाल सजिलै देख्न नपाउने मुलुकका साथीहरू निकै रोमाञ्चित भएँ । तर घरको छतबाट नै लामो समयसम्म हिउँले ढाकेको हिमाल देख्न पाइरहने मलाई चाहिँ ठिकै मात्र लाग्यो । नेपालीका लागि त्यो पहाड जस्तो देखिए पनि इजरायलीका लागि हिमाल नै हो । खासमा इजरायलको माउन्ट हर्मन काठमाडौँको चन्द्रागिरि (२५२१ मिटर) भन्दा कम उचाइमा (२२३६ मिटर) रहेछ । यसको सबैभन्दा अग्लो चुचुरो (२८१४ मिटर) चाहिँ सिरियामा पर्दाेरहेछ ।  योहोले हाँस्दै भने, ‘वि कल इट ग्रान्ड फादर अफ माउन्टेन्स्, हामी यसलाई हिमालहरूको हजुरबुवा भन्छौँ ।

हाइफाबाट हिँडेको दुई घण्टामा हामी गोलान हाइट्स पुग्यौँ । इजरायली युद्धको अखडा अवलोकन गर्न हस्याङफस्याङ गर्दै गाडीबाट झ¥यौँ । आआफ्नो सुरले फोटो खिच्न तम्सिएकाहरूलाई योहोले एक ठाउँमा भेला हुन अनुरोध गरे । उनले सिरिया र लेबनानको भूभाग देखाए । त्यस्तै इजरायलको सबैभन्दा उत्तरमा लेबनानसँग जोडिएको सानो सहर मेटुलातर्फको भूभाग पनि । नेपाली सेना संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा लेबनान जाने भेनेको ठाउँ त्यही नै रहेछ ।

गोलान हाइट्समा युद्धकालीन टनेल, पिल्लर, युद्धका सामग्री जस्ताको तस्तै राखिएका रहेछन् । प्रमुख ‘ट्याङ्क फाइरिङ प्लेटफर्म’ रहेछ यो ठाउँ । योहोकै सल्लाहअनुसार मैले काला ढुङ्गाका केही टुक्राहरू झोलामा राखेँ । युद्ध मैदानको चिनो घर लैजान पाएकोमा एक किसिमको छुट्टै आनन्द आयो मलाई । त्यतिबेला मलाई डडेल्धुराको अमरगढी किल्ला, गोरखाको लिगलिगकोट र सिन्धुली गढीमा घुम्दाका क्षणहरूको सम्झना भयो । 

गोलान हाइट्सको अवलोकन

योहोले सन् १९६७ मा इजरायल र इजिप्ट, सिरिया र जोर्डनको गठबन्धन बीचमा भएको ६ दिने (जुन ६–१०) युद्धको बारेमा केही कुरा बताए । कतिपय तथ्य मैले गुगल सर्च गरेर पछि थाहा पाएँ । छ दिनसम्म चलेको भिषण युद्धमा इजरायलले विजय प्राप्त गर्दै सिरियाबाट गोलान हाइट्सको दुई तिहाइ भूभाग, जोर्डनबाट पश्चिम तट (वेस्ट ब्याङ्क) र इजिप्टबाट गाँजापट्टी तथा सिनाइ प्रायद्वीप कब्जा गरेको थियो । गोलान हाइट्स इजरायलले कब्जा गरेपछि एक लाख सिरियाली नागरिकहरू विस्थापित भएका थिए । सन् १९७३ मा सो भूभाग फिर्ता लिन सिरियाले इजरायलसँग पुनः युद्ध गरेको रहेछ । यसलाई योम किप्पुर युद्ध पनि भनिदो रहेछ । उक्त युद्धमा सिरियाका ३१ सय जना मारिएका थिए भने इजरायलतर्फ ७२ सयको ज्यान गएको रहेछ । आफ्नोतर्फ निकै क्षति भए पनि इजरायलले सिरियालाई सफल हुन नदिएपछि सन् १९७४ मा युद्धबिराम भएको रहेछ । त्यसपछि सो स्थानमा संयुक्त राष्ट्रसङ्घको शान्ति सेना राख्न थालिएको रहेछ ।    

भूराजनीतिक तथा सामरिक महत्त्वको चट्टानी उच्च स्थली, हिउँ पर्ने तथा पानीको स्रोत भएको भूभाग र पर्यटकीय आकर्षण आदिले गर्दा इजरायलका लागि यो अत्यन्तै लोकप्रिय र संवेदनशील भूभाग मानिँदो रहेछ । इजरायलले सन् १९८१ मा एकतर्फी हिसाबले कानुन पास गरेर गोलान हाइट्सलाई आफ्नो भूभाग भनेर घोषणा गरे पनि अन्तर्राष्ट्रिय समुदायले पूर्ण रूपमा उक्त कदमलाई मान्यता नदिएको अवस्था रहेछ । गोलान हाइट्सलाई हेर्ने दृष्टिकोण पनि देश अनुसार फरक हुने रहेछ । 

गोलान हाइट्सबाट फर्किंदै गर्दा मलाई आफ्नो कलेज जीवनको सुरुवातका वर्षहरूको सम्झना भयो । जुनबेला मैले गोलान हाइट्स, गाजापट्टी, वेस्ट ब्याङ्क, जेरुसलेमको चर्चा निकै सुनेको तथा पढेको थिएँ । नेपाल टेलिभिजन त  स्थापना भएकै थिएन भने टिभी हेर्ने कुराको कल्पनासम्म पनि थिएन । कलेज पढ्दा न्युरोड भूगोल पार्कको भित्तामा टाँसिएको गोरखापत्र हेर्ने गर्थें । प्रमाणपत्र तह सकेर वि.सं २०३९ सालमा स्थायी प्राथमिक शिक्षक हुँदा अङ्ग्रेजी पत्रिका  ‘द राइजिङ नेपाल’ को वार्षिक ग्राहक बनेको थिएँ । खबरभन्दा पनि आफ्नो अङ्ग्रेजी विषयको दक्षतामा सुधार ल्याउने जमर्काे थियो त्यो । गोरखापत्र संस्थानका एक कर्मचारीले त्यतिबेला धादिङमा हुलाकबाट केवल मेरो नाममा मात्रै ‘राइजिङ नेपाल’ पठाइने गरेको बताएका थिए । सत्यतथ्य के हो उनैलाई थाहा होला तर म दङ्ग परेको थिएँ त्यो कुरा सुनेर । गोरखापत्रमा भन्दा राइजिङ नेपालमा बढी अन्तर्राष्ट्रिय समाचार छापिन्थ्यो । गोलान हाइट्सको कुरा मैले त्यतिबेला राइजिङ नेपालमा पनि पढेको थिएँ ।

‘केडाल, आर यु मिसिङ होम ?’ मेरो अन्तिम नाम बिगार्दै लुथरले सोधे । ‘एस, ही डिस्एपिर्ड फ्रम इजरायल’ (हो, उनी इजरायलबाट हराए) मिन्हाले थपिन् । नजिकै भएका मधुजी, म्युङ्गलिम, अस्रत पनि खित्का छोडेर हाँसे । मैले भनेँ, ‘सरी है, गोलान हाइट्सले मेरो कलेज लाइफ सम्झाइदियो क्या ।’ खासमा मलाई गोलान हाइट्स र यासेर अराफातसम्बन्धी पुरानो कुराको सम्झना आएकाले नै एकछिन अतितको स्मरणमा डुबुल्की मारेको मात्र थिएँ । साथीहरूले पक्रिहाले । आखिर छत्तीस सालको आन्दोलनसँगै आगो ओकल्ने क्रान्तिकारी भएको थिएँ नि म पनि ! बेला बखतका कुरा ।

गोलान हाइट्स जानलाग्दा नै देखिएको सी अफ ग्यालिलीलाई फर्किदा राम्रोसँग अवलोकन गर्ने मौका पाइयो । समुद्र सतहबाट २१५ मिटर तल रहेको, संसारकै सबभन्दा होचो ठाउँमा भएको ताजा पानीको सागर रहेछ– सी अफ ग्यालिली । नुनिलो पानीको सागरलाई पनि हिसाब गर्ने हो भने चाहिँ डेड सीपछिको दोस्रो होचो सागर रहेछ । यसको मुख्य स्रोत जोर्डन नदी र जमिन मुनिबाट आउने मूल नै रहेछ । मलाई त्यतिबेला राराताल र फेवा तालको झझल्को आयो । चारैतिर जमिन र सडकले घेरिएको सी अफ ग्यालिली अत्यन्तै राम्रो देखिन्थ्यो । तथापि मलाई त्योभन्दा त रारा ताल दस गुणा सुन्दर छ भन्ने लाग्यो ।

सी अफ ग्यालिलीमा भियतनामी, कोरियाली र अफ्रिकी साथीहरूसँग नेपाली ।

सी अफ ग्यालिली देखिने सानो पहाडमा एउटा ऐतिहासिक रोमन क्याथोलिक चर्च रहेछ । यो एउटा पर्यटकीय केन्द्र रहेको बुझियो । चर्चमा जान पाउँदा क्रिस्चियन साथीहरू अत्यन्तै खुसी भए । त्यहाँबाट समुद्र सतहमुनि अवस्थित टाइबेरियस सहर पनि नजिकै रहेछ । इजरायलका प्रमुख पवित्र धार्मिक सहरहरु जेरुसलेम, हेब्रोन र टाइबेरियस रहेछन् ।

हाम्रो गाडी लन्चका लागि मिगडल रेस्टुरेन्टको आगाडि रोकियो । एउटा टेबलको दुईतिर बाँडिएर मधुजी, म्युङ्गलिम (कोरिया), मिन्हा (भियतनाम), अस्रत (इथियोपिया), बाले (फिजी) र म बस्यौं । आआफ्नो रुचिअनुसार बिफ, चिकेन, फिससहितको परिकार अर्डर गर्ने काम भयो । सुरुमा इन्कार गरे पनि सी अफ ग्यालिलीकै ताजा माछा भएको जानकारी पाएपछि मैले पनि माछाकै परिकार मगाएँ ।

ठूलो प्लेटमा पखेटासहितको सग्लो माछा, केही मसला वा चट्नी जस्तो देखिने चिज, काँटा र चक्कु राखेर टेबलमा राखिदिँदै तपाईको दिवाखानाको मज्जा लिनुहोस् भने एकजना फुर्तिला भाइले । हेर्दा त्यो माछा अत्यन्तै आकर्षक थियो, पानीमा डुब्न पाए अहिले नै जुरुक्कै उठेर खियाउन थाल्ला जस्तो ।    

मलेखु खोलामा आफैँ दुवाली थुनेर, खुँगा थापेर, जिलेटिनमा डाइनामाइट घुसाई त्यसमा फ्युज राखेर अनि लहरा वा डोरीले कसेर हिर्मिरे, गन्धखानी तथा जोगी रहमा बम पड्काई माछा मार्ने र खाने अनुभव भएको मान्छे म । त्यस्तै त्रिशूली नदी र थोपाल खोलाको माछाको समेत पारखी ! विसं २०४२ सालको बमकाण्डपछि त्यसरी नदीमा बम हान्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो । आखिर जे भए पनि बम हान्ने काम चाहिँ पक्कै राम्रो थिएन ।

जैतुनको तेल मिसाइएका चट्नी र सलाद, बिल्कुलै नमिठो लाग्यो । बिना मसला उसिनेको माछाको स्वाद पनि मीठो भएन । संसारको सबैभन्दा होचो ठाउँमा भएको फ्रेस पानीमा हुर्किएको ताजा माछाको इज्जत राख्न र पेट भर्नकै लागि भने पनि माछा त खानै पर्याे । जबर्जस्त ढङ्गले खाइयो ।

लन्चपश्चात फर्किंदै गर्दा बाटामा जोर्डन नदीको पृष्ठभूमिमा फोटो खिचियो । त्यसपछि नाजरेथ सहरमा एउटा प्रसिद्ध चर्च रहेछ । धेरै वर्षअघि बनेको भव्य चर्चभित्र झन्डै पाँच सय जति मान्छेहरू प्रार्थना गरिरहेका थिए । लाउड स्पिकरमा ठूलो स्वरले धार्मिक गुरुले प्रवचन दिइरहेका थिए । जोकोही जान मिल्ने चर्चभित्रको सरसफाइ तारिक गर्न लायक थियो ।

बस हाइफातर्फ एकतमासले गुडिरहेको थियो । यात्रामा बेलिबिस्तार गर्ने योहो पनि मस्त निदाएका थिए । आपसी गफगाफ पनि कम भइसकेको थियो । ‘अब अर्काे कुनै दिन डेड सी, जेरुसलेम र प्यालेस्टाइनी भूभागमा भ्रमण गर्दा क्या मज्जा आउँछ होला’ भनेर मनमा कुरा खेलाउँदै थिएँ । भुसुक्कै निदाएछु म पनि ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.