बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकमा उपचारत अभिनेत्री निशालाई चलचित्रकर्मी कल्याण कोषको सहयोग

शनिबार, २९ जेठ २०७८, १२ : २२
शनिबार, २९ जेठ २०७८

नर्भिक अस्पतालमा उपचार अभिनेत्री निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले पनि सहयोग गर्ने भएको छ । कोषले उनलाई नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने चलचित्र कलाकार संघका अध्यक्ष तथा कोषका सदस्य रवीन्द्र खड्काले जानकारी दिए । ‘कोषले उनको परिवारलाई आइतबार सहयोग रकम उपलब्ध गराउनेछ,’ खड्काले थपे ।

कोषको अलवा अभिनेत्री करिस्मा मानन्धरले पनि उनको परिवारलाई नगद २५ हजार सहयोग दिँदैछिन् । मानन्धरले शनिबार निशाको बुबालाई उक्त रकम प्रदान गर्ने  खड्काले जानकारी दिए । जसको समन्वय कलाकार संघले नै गरेको छ ।

करिब तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको बिहीबारबाट नर्भिक अस्पतालले निःशुल्क उपचार थालेको हो । समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेर निःशुल्क उपचारको व्यवस्था गरेकी हुन् ।

​नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा पोष्ट गरेका थिए । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ । चिकित्सकले उनको अवस्था सुधार हुने अपेक्षा गरेका छन् ।

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला  अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रति दिन बिग्रँदै गएको थियो । ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको हो । अहिले भने विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग आउन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप