बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाही भन्छन्– 'सरकारी पक्षबाटै आक्रमण भयो'

प्रहरी भन्छ – 'सामान्य मजदुर र शाही समूहबीच झडप भएको हो'
शनिबार, २९ जेठ २०७८, १८ : ००
शनिबार, २९ जेठ २०७८

सुर्खेत । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले सरकार पक्षबाट आफूहरुमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा बोल्दै भनेका छन्, ‘हामीमाथि सरकार पक्षका मान्छेबाट आक्रमण भयो । सुर्खेत प्रहरीले झुट बोल्दैछ ।’

‘सुर्खेतका प्रहरी प्रमुखले बर्दी लगाएर सरासर झुठ बोलिरहेका छन्, यो झुठ बोल्ने काम उहाँबाट बन्द होस्,’ शाही भन्छन्,‘प्रहरीले हामीलाई उद्धार गरेर अस्पतालमा उपचार गर्न ल्याएन । बरु एक घण्टासम्म सोधपुछ ग¥यो । तपाईको नाम के हो रे !’

प्रहरीकै योजनामा आफूमाथि आक्रमण भएको संकेत गर्दै शाही भन्छन्– ‘सुर्खेत प्रहरीका प्रमुखलाई मैले हिजो पनि फोनमा भनें, आउनुस्, गोली हान्नुस्, मार्नुस् । यसरी योजना बनाएर किन तपाईंका मान्छेहरूलाई हामीमाथि आक्रमण गर्न लगाउनुहुन्छ ?’

सामाजिक सञ्चालमा राखिएको भिडियोमा शाहीले आफूसहित कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोकबहादुर रोकाय, राजेश महत, शान्त शर्मा, सीता आचार्य, खगेन्द्र बजगाईं र महेश बीसीलगायतको टोलिमाथि आक्रमण भएको बताएका छन् ।

प्रहरीले झुट बोलेको आरोप शाहीले लगाइरहँदा प्रहरीले भने यस घटनालाई आक्रमण नभई दोहोरो झडपको रुपमा लिएको छ ।

शुक्रबार राति झण्डै ११ बजेतिर शाहीको समूह वीरेन्द्रनगर आउँदै थियो, यताबाट स्थानीय मजदुरहरु घरतिर फर्किदै थिए’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तीले भने, ‘वीरेन्द्रनगर स्थित करेखोलामा  उनीहरुको जम्काभेट भयो । त्यसपछि दुबै समूहबीच विवाद भयो र त्यसपछि हात हालाहाल भयो ।’

डीएसपी घर्तीले झडपमा दुबै समुहका व्यक्तिहरु घाइते भएको बताए । उनले भने, ‘ज्ञानेन्द्र शाहीले आरोप लगाएजस्तो यो घटना देखिन्न । उहाँहरुको राजनीति पृष्ठभूमि के हो, त्यो थाहा भएन । तर, राननीतिक दलबाट परिचालितजस्तो लाग्दैन । लेबर काम गर्ने स्थानीय युवा हुन् । राजनीतिबारे खासै जानकारी राख्ने जस्ता युवाहरु छैनन् ।’

डीएसपी घर्तीले स्थानीय पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए । घटनाबारे थप बुझ्नुपर्ने भन्दै प्रक्राउ परेकाहरूको विवरण भने प्रहरीले खुलाएको छैन । दोहोरो झडप भने पनि प्रहरीले ज्ञानेन्द्र शाही पक्षलाई भने पक्राउ गरेको छैन ।

ज्ञानेन्द्र शाही राहत बाँड्नका लागि सुर्खेत आएका थिए । शाहीको समूह निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई राहत तथा उद्दारका लागि जुटिरहेको छ । शाहीमाथि यसअघि पनि सुर्खेतमा २ पटक यस्तो घटना भएको थियो ।

स्थानीयले भने  निषेधाज्ञाको समयमा किन गाउँ छिरेको भन्दै प्रतिवाद गरेपछि झडप भएको बताएका छन् । झडपमा दुवै पक्षका दर्जन बढी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको र प्रदेश अस्पतालमा उपचार भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप