शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लक्षित वर्गलाई खोप ‘छैन’, पार्टी कार्यकर्तालाई सुटुक्क !

शनिबार, २९ जेठ २०७८, १९ : ००
शनिबार, २९ जेठ २०७८

लक्षित वर्गलाई दिइने भनेको कोरोनाभाइरसविरुद्ध खोप मकवानपुरमा व्यापक दुरुपयोग भएको पाइएको छ । नेपाल सरकारले कोरोना संक्रमणको नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका व्यक्ति र लक्षित वर्गको लागि पठाएको खोप पार्टीका कार्यकर्ताहरूलाई लगाएको पाइएको हो ।

​कोरोना संक्रमण जोखिमकै बीच कार्यक्षेत्रमा खटिएका फ्रन्टलाइनर पत्रकार, सरकारी कार्यालयका कर्मचारीहरुका लागि प्राप्त भएको कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोपमा स्वास्थ्य कार्यालय मकवानपुरले अनियमितता गरेको हो ।

मकवानपुरमा क्रियाशील रहेका फ्रन्टलाइनमा खटिएका कर्मचारी, पत्रकार लगायतलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाउने समयसीमा सकिन लाग्दा समेत स्वास्थ्य कार्यालय प्रमुख प्रणय उपाध्यायले ‘खोप छैन’ भन्ने जवाफ दिने गरेका थिए ।

तर, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको कार्यकक्षमा भने उक्त खोप लक्षित वर्गभन्दा बाहिरका व्यक्तिहरुलाई लगाइएको खुलासा भएको छ । उपमेयर लामाको कार्यकक्षमा लक्षित वर्गभन्दा बाहिरका ५० जना पार्टीका कार्यकर्ताहरूलाई खोप लगाइएको हो ।

लामाले भने सो खोप कार्यक्रम बारे आफूलाई थाहा नभएको भन्ने प्रतिक्रिया दिँदै आफ्नो कार्यकक्ष जनताका लागि सधै खुल्ला रहने र त्यहाँ उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधिले खोप लगाएको बताइन् ।

यस विषयमा स्वास्थ्य कार्यालय प्रमुख उपाध्यायले केन्द्रमा माग गरेको खोप प्राप्त भएको १ सय ६० पहिलो चरणमा प्राप्त भएको ४५ गरी २ सय ५ भाइल कोभिसिल्ड खोप मध्ये ५ भाइल खोप हेटौँडा उपमहानगरपालिकालाई पठाइएको र उपमहानगरपालिकाले प्राथमिकताका आधारमा खोप दिएको प्रतिक्रिया दिए । ‘खोप लगाउने काम सम्बन्धित पालिकाको हो । कसलाई लगाउने कसलाई नलगाउने भन्ने कुरा पालिका आफैले निर्धारण गर्ने हो । मलाई यस विषयमा आफूलाई कुनै जानकारी छैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप