बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको मारमा हास्य टेलिशृङ्खला : बन्द भए ‘सक्किगो नि’ र ‘हर्के हल्दार’

बल्छी ध्रुवे भन्छन्– अब मलाई दर्शकले ‘जुठे’ का रुपमा चिन्छन्
शनिबार, २९ जेठ २०७८, ०९ : ३७
शनिबार, २९ जेठ २०७८

कोरोनाको दोस्रो लहरका कारण गत एक महिनादेखि देशमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाले जनजीवन प्रभावित बनेको छ । निषेधाज्ञाकै कारण मनोरञ्जनसँग सम्बन्धित सबै गतिविधिमा ब्रेक लागेको छ । निषेधाज्ञाको असर टेलिभिजनबाट प्रसारण भइरहेका लोकप्रिय टेलिशृङ्खलाहरूमा समेत परेको छ ।

नियमित प्रसारण हुँदै आएका धेरै टेलिशृङ्खला अहिले बन्द भएका छन् । केहीका भने स्टक सकिन लागेकाले के गर्ने भन्ने अन्योलमा छन् ।

लोकप्रिय टेलिशृङ्खला ‘सक्किगो नि’ नयाँ भाग प्रसारण नभएको एक महिना बढी समय भएको छ । निषेधाज्ञाको जारी भएपछि एक साता निरन्तरता पाएको शृङ्खलाको नयाँ भाग नभएपछि टेलिभिजनले अहिले पुरानै भागले काम चलाउँदै आएको छ ।

‘सक्किगो नि’ रोकिएको करिब ४ हप्ता भएको टेलिशृङ्खलाका निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ले बताए । ‘हामीसँग टेलिशृङ्खलाको स्टक भाग थिए । त्यसैले नयाँ प्रसारण रोकिएको छ,’ कट्टेलले भने ‘निषेधाज्ञा खुले पनि फेरि सुटिङ गरेर नयाँ भाग ल्याउँछौं ।’ तत्काललाई केही विकल्प नभएकाले रोक्नु बाहेकको बाटो आफूसँग नरहेको उनले सुनाए । उनले थपे, ‘टेलिशृङ्खलालाई फेरि निरन्तरता दिने हो । तर कहिले भन्न सक्दिनँ ।’

‘सक्किगो नि’मा अर्जुन घिमिरे, कुमार कट्टेल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, दीपक आचार्य लगायतका कलाकार देखिँदै आएका छन् ।

यस्तै टेलिशृङ्खला ‘हर्के हल्दार’ पनि अहिले बन्द छ । निषेधाज्ञा सुरु भएदेखि शृङ्खला बन्द भएको निर्देशक तथा कलाकार विष्णु सापकोटाले बताए ।

‘हामीले प्रत्येक साता खिच्दै देखाउँदै आएका थियौँ,’ सापकोटाले भने, ‘नयाँ भाग छायाङ्कन असम्भव भएका कारण अहिले बन्द छ ।’ नयाँ भाग प्रसारण नभए पनि पुरानो भने रिपिट भइरहेको हुन सक्ने सापकोटाले भने ।

निषेधाज्ञाका कारण सुटिङ रोकिएपछि सापकोटा भने जन्मघर हेटौँडा पुगेका छन् । अहिले खेतबारीको काम गर्ने, गाईबस्तु गोठाला लाग्ने यस्तै आफ्नो दिनचर्या रहेको सापकोटाले बताए ।

‘हर्के हल्दार’मा विष्णु सापकोटा, शिवहरी बैरागी, रोशनी सापकोटा, सुरेन्द्र केसी, शिव शर्मालगायत नियमित देखिँदै आएका कलाकार हुन् ।

टेलिशृङ्खला ‘भद्रगोल’ पनि अहिले बन्दै छ । निषेधाज्ञापछि यो शृङ्खला पनि बन्द भएको हो । शृङ्खला नयाँ भाग खिच्न नसकेका कारण बन्द भएको निर्देशक कलाकार शङ्कर आचार्यले जानकारी दिए । कोरोना समयमा जोखिम मोलेर सुटिङ गर्न नसकिएकाले शृङ्खला बन्द भएको उनी बताउँछन् । भन्छन्, ‘खुल्ने बित्तिकै फेरि शृङ्खला सुरु हुन्छ । अहिले बन्द भएको टेलिशृङ्खला सदैका लागि बन्द गरिएको भने होइन ।’

टेलिशृङ्खला ‘गोलमाल’ पनि बन्द भएको केही साता भइसकेको छ । निषेधाज्ञाकै कारण यो शृङ्खला बन्द भएको हो । निर्देशक नेत्र राउतले शृङ्खलाको छायाङ्कन गर्ने वातावरण नभएकाले रोकिएको बताए ।

‘हामीले शृङ्खलाका नयाँ भाग दिन सकिरहेका छैनौँ,’ राउतले भने ‘टेलिभिजनले पुरानो भाग रिपिट गरेर काम चलाएको छ कि के गरेको छ, थाहा छैन ।’

‘गोलमाल’मा पवन खतिवडा, नविना सिल्वाल, विनोद राई, शिवहरि आचार्य, खपबुलगायत देखिँदै आएका छन् । निषेधाज्ञा खुले पनि शृङ्खलाले फेरि निरन्तरता पाउने निर्देशक राउत बताउँछन् ।

यी माथिका त उदाहरण मात्र हुन् । सुरज खनाल निर्देशित ‘अति भो’, किशोर भण्डारी निर्देशित ‘अड्डा’, ‘हाम्री झ्याउँकिरी’, शिवहरि पौडेल निर्देशित ‘कुलबहादुर काका’ लगायत थुप्रै हास्यटेलिशृङ्खला छन्, जो निषेधाज्ञाको मारमा परेर रोकिएको छ ।

तीन टेलिशृङ्खला नियमित

‘मेरी बास्सै’, ‘हल्का रमाइलो’ र ‘जुठे’ गरेर तीन टेलिशृङ्खला भने अहिले नियमित प्रसारण भइरहेका छन् । यी तीनवटै शृङ्खलालाई अहिलेसम्म निषेधाज्ञाले छोएको छैन ।

‘मेरी बस्सै’ र ‘हल्का रमाइलो’ अबका दिनमा पनि नरोकिने शृङ्खलाका निर्देशकहरू बताउँछन् । जुठेको भने बुधबारबाट स्टक सकिएकाले यसै भन्ने अवस्था नरहेको यसका निर्देशक मरिचमान श्रेष्ठले बताए ।

‘मेरी बस्सै’ केही साताका लागि स्टक रहेको आफूलाई केही चिन्ता नभएको निर्देशक कलाकार दमन रूपाखेतीले बताए । ‘हामीले शृङ्खलाको ७, ८ भाग स्टक खिचेका थियौँ,’ दमनले भने ‘स्टकका कारण हाम्रो शृङ्खला अहिलेसम्म रोकिएको छैन ।’ अझै केही भाग स्टक रहेको रोकिने टेन्स नभएको दमनले सुनाए ।

‘हामीले लकडाउन र कोरोनाको हल्ला सुन्ने बित्तिकै शृङ्खलाको स्टक बनाउनतिर जुट्यौँ’ दमनले थपे, ‘निषेधाज्ञा अब खुल्यो भने समस्या हुँदैन । फेरि लम्बियो भने समस्या पर्नसक्छ ।’ निषेधाज्ञाको फुर्सदको यो समय दमन परिवार र शृङ्खला लेखनमा बिताइरहेका छन् ।

त्यस्तै सामाजिक विषयवस्तुमा निर्माण हुँदै गरेको अर्काे टेलिशृङ्खला ‘जुठे’ अहिलेसम्म रोकिएको छ । ‘स्टक’ भाग सकिएका कारण अब भने नरोकिने तरखरमा छ । ‘ शृङ्खला अलि टाढाको गाउँमा खिच्नुपर्ने भएकाले हामीले एकै पटक धेरै भाग खिच्छौँ । त्यसैले हिजो बुधबारसम्मका लागि टेन्सन थिएन,’ निर्देशक कलाकार मरिचमान श्रेष्ठले भने, ‘जेठभरीको लागि समस्या थियो । अब भने के हुन्छ भन्न सकिन्न ।’

मरिचमानको अलवा राजु पौडेलसमेत शृङ्खलाका लेखक तथा निर्देशक हुन् । दुवै निर्देशक समेत शृङ्खलाका मुख्य कलाकार पनि हुन् ।

यस्तै टेलिशृङ्खला ‘हल्का रमाइलो’ पनि अहिले नियमित प्रसारण भइरहेको छ । राजु पौडेल र मरिचमान श्रेष्ठको संयुक्त लेखन तथा निर्देशन रहेको यो शृङ्खला छायाङ्कन सम्भव भएकाले बन्द नभएको हो ।

‘‘हल्का रमाइलो’ केही भाग ‘स्टक’ थियो । त्यसपछि छायाङ्कन सम्भव भएका कारण अहिलेसम्म बन्द नभएको हो,’ निर्देशक पौडेलले भने, ‘हामीले शृङ्खला जहाँ सुटिङ गर्दै आएका छौँ त्यो गाउँमा जम्मा ६ घर छन् । तीमध्ये पनि एक दुई घरमा मानिस बस्दैनन् ।’ बस्ती नभएको स्थानमा छायाङ्कन गर्दै देखाउँदै गरेका कारण अहिलेसम्म समस्या नभएको पौडेलले सुनाए । थोरै कलाकार लिएर अहिले शृङ्खला छायाङ्कन गर्दै आएको बताएका पौडेलले नेपाल टेलिभिजनले समेत छायाङ्कन सहजका लागि चिट्ठी बनाइदिएको छ ।

अब ‘जुठे’ भनेर चिन्छन्– मरिचमान

अहिलेको समयमा पनि टेलिशृङ्खला ‘जुठे’ नियमित छ । काम गर्न सहज त पक्कै छैन होला ?

–पहिले धेरै भाग खिचेकाले अहिलेसम्म नियमित भएको हो । हिजो बुधबार प्रसारण भएको भागबाट ‘जुठे’को स्टक सकिएको छ । अबको साताबाट के हुन्छ भन्न सकिँदैन । छायाङ्कन गर्न सकियो भने निरन्तरता पाउँछ, नत्र बन्द हुन्छ । छायाङ्कनका लागि हिजो पोखरामा लोकेसन हेरेर फर्किएका छौँ । मिल्यो भने नियमित नै गर्छाैं ।

कोरोनाका कारण छायाङ्कनमा गाह्रो छैन ?

–गाह्रो त पक्कै छ । नियमित गरिरहेको काम दुःख, सुख गरेर भए पनि निरन्तर गरौँ भन्ने सोच हो । हिँड्नका लागि नेपाल टेलिभिजनले एउटा पास बनाइदिएको छ । त्यसले पनि केही सहज भएको छ । कोरोनाको जोखिम त छँदैछ ।

अहिलेलाई शृङ्खला रोक्दा के फरक पर्छ र ?

–शृङ्खला निरन्तर गर्नुपर्छ भन्ने त्यस्तो बाध्यता त केही छैन । यो समय सबैजना घरभित्र थुनिएर रहनुभएको छ । सबैले केही नयाँ कार्यक्रम पनि हेर्न पाऊन् भनेर नियमित काम गरिरहेका हौँ । पुराना कार्यक्रमले भन्दा उहाँलाई नयाँ कार्यक्रमले फ्रेस बनाउन मद्दत गर्छ भन्ने हाम्रो टिमको सोच हो ।

नयाँ कार्यक्रम उत्पादन गर्न आफू र परिवारका लागि जोखिम छ नि ?

–जोखिम त छ । दर्शकका लागि त्यो जोखिम मोलेकै हो हामीले । अर्काे कुरो घरमा मोबाइल चलाएर बस्दा जति कोरोनाको अपडेट हेरिन्थ्यो । सुटिङको समय त्यो हेरिँदैन । काम हुँदा कोरोना बिर्सिंदो रहेछ । त्यसले आफूलाई कोरोनाको भय र त्रासबाट मुक्त राख्नसमेत मद्दत गरेको छ ।

एकसाथ दुईवटा टेलिशृङ्खला निरन्तर गरिरहनु भएको छ गाह्रो छैन ?

–हाम्रा दुई शृङ्खलामै लेख्ने र निर्देशक गर्ने राजु पौडेल दाइ र म गरी दुई जना छाँै । त्यसैले गाह्रो भएको छैन । बरु समय बिताउन सजिलो भएको छ । फुर्सदमा चिया पसलमा बसेर अरूको चियोचर्चाे गर्ने समय छैन । त्यो राम्रो हो नि, होइन र ?

‘जुठे’ चर्चा छ । निर्माण समय यति छिटो चर्चा पाउँछ भने सोच्नु भएको थियो ?

–म गाउँबाट सानासाना सपना बोकेर काठमाडाैं छिरेको मानिस । शृङ्खलाबाट नाम र दाम सबै मिलेको छ । त्यसमै खुसी थिएँ । दर्शकको मायाले झनै राम्रो र फरक काम गर्ने शक्ति मिल्दो रहेछ । त्यही शक्तिले ‘जुठे’ बनाएका थियाँै । सफल भयो ।

‘बल्छी ध्रुवे’को परिचय ‘जुठे’ले बिर्साउँछ कि ?

– ‘जुठे’ हिट हुनुको पछाडिका कारण बल्छी ध्रुवे नै हो । दर्शकले ‘बल्छी ध्रुवे’ र राजु मास्टरले बनाएको भनेर नै ‘जुठे’ मनपराएका हुन् । बल्छीको चर्चा भएको ८, १० वर्षभयो । जुठे भनेर चिनिएको भर्खर हो । अबका दिनमा दर्शकले ‘जुठे’ भनेर पनि चिन्छन् ।

कमेडी शृङ्खला गरिरहेको व्यक्ति ‘जुठे’ किन सेन्टिमेन्टल विषयमा बनाउनुभयो ?

–कमेडी त छँदैछ । योभन्दा पनि केही फरक दिनुपर्छ भनेर ‘जुठे’ सुरु गरेका हौँ । छायाङ्कन समयमा दर्शकले रुचाउने हुन् वा होइन् भनेर टेन्सन नै थियो । प्रसारणपछि दर्शकले रुचाउनुभयो, खुसी लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप