शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघद्वारा कोरोना प्रभावित मुलुकहरूसँग सहकार्यको प्रस्ताव

शुक्रबार, २८ जेठ २०७८, २० : २५
शुक्रबार, २८ जेठ २०७८

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले शुक्रबार साँझ  अन्तर्राष्ट्रिय श्रमिक संगठनको १०९ औ अन्तर्राष्ट्रिय सम्मेलनको सम्बोधन गरेको छ । महासंघको उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले नेपालको रोजगारदाताको तर्फबाट प्रतिनिधित्व गर्दै उक्त सम्मेलनमा सम्बोधन गरेका हुन् । 

कोरोना महामारीको कारण पहिलोपटक भर्चुअल माध्यमबाट आयोजना भएको उक्त सम्मेलनलाई सम्वोधन गर्दै सभापति संघईले कोभिड–१९ महामारीको पीडा यतिखेर सम्पूर्ण विश्वले नै भोग्नु परेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताए । 

उनले भने, ‘यसबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन अझैं केही वर्ष लाग्ने हुँदा त्यसको तयारीका लागि सबै मुलुक बीचको आपसी सहयोग र सहकार्यका लागि म विशेष अनुरोध गर्दछु ।’  सम्बोधनको क्रममा सभापति संघईले गतवर्ष नेपालमा कोरोना संक्रमण फैलिन शुरू भएलगत्तै सरकारले देशव्यापी बन्दाबन्दी–लकडाउन) जारी गरेको र सो बन्दाबन्दी लगातार तीन महिनाभन्दा बढी कायम रहदा सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प हुन गई ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए ।

यसबाट मुलुकको पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित हुनुका साथै पहिलोपटक दुई दशक यताकै ठूलो आर्थिक बृद्धिदर ऋणात्मक हुन पुगेको उनले बताए । यो अवधिमा मुलुकको कुल ग्राहस्थ उत्पादन घट्न गएको, लाखौंको रोजगारी गुमेको र गरिबीको प्रतिशत थप बढन गएको उनले उल्लेख गरे ।

महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयाँ भेरियन्ट तीब्र रूपमा फैलिरहेको हुँदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको र निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महशुस गरी सरकारसँग सहकार्य गर्दै कोरोना प्रभावित जनतालाई विभिन्न माध्यमबाट सहयोग गरिरहेको सभापति संघईले बताए । 

सो अवसरमा सभापति संघईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवम् केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति र कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यवसायको दीगोपना केन्द्रीत रहेको उल्लेख गरे ।

आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने, साना तथा मझौला व्यवसायको प्रवद्र्धनमा प्राथमिकता दिई काम गरिरहेको जानकारी गराउँदै उनले रोजगारदाताले तय गरेका कार्यक्रमहरु सञ्चालन गर्न आइएलओबाट थप सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए । 

१७६ भन्दा वढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ बैठक जून ३ देखि १८ सम्म सञ्चालन हुने र श्रम सम्मेलनमा कोभिड–१९ महामारीको संकटबाट मुक्त हुन अपनाउन पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुनर्उत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्तर्राष्ट्रिय श्रम संगठन शताब्दी घोषणाको कार्यान्वयन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप