मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार

शुक्रबार, २८ जेठ २०७८, १९ : ४५
शुक्रबार, २८ जेठ २०७८

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधबार साँझबाट ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए । उनले भने, “आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविक सरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो ।” 

उनका भतिज तथा उद्योग वाणिज्य सङ्घ, ललितपुरका पूर्वअध्यक्ष अजरमान जोशीले आज उनको स्वास्थ्यमा निकै सुधार भएको र आउँदो आइतबार घर फर्काइने सम्भावना रहेको बताए । गत वैशाख ३० देखि जोशी एक सय एक वर्ष पुरा गरी एक सय दुई वर्षमा प्रवेश गरेका छन् ।

मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीबीच जोशी निवास बखुम्बहाल पुगेर उनको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका थिए । मदन पुरस्कार प्राप्त जोशीको मुहार अङ्कित रु १० को हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उनको तस्वीर अङ्कित चाँदीको विभिन्न सिक्का समेत निष्काशन भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप