शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जथाभावी खनिएको पोखरीले लियो ५ बालिकाको ज्यान, गाउँ नै शोकमा

शुक्रबार, २८ जेठ २०७८, १९ : २८
शुक्रबार, २८ जेठ २०७८

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुरमा बाख्रा चराउन गएका ५ जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेका छन् । कुनै मापदण्डबिना पोखरी खन्दा यस्तो घटना निम्तिएको गाउँलेहरु बताउँछन् । प्रहरीका अनुसार माछापालनका लागि खनिएको नयाँ पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

शुक्रबार बिहान बालिकाहरू घरबाट बाख्रा चराउनका लागि चौरतर्फ निस्किएका थिए । सोही क्रममा खेतमा पानी जमेको देखेपछि उनीहरु पौडी खेल्न पुगेका थिए । थोरै पानी रहेको भन्दै पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रले भने– ‘बालिकाहरू बाख्रा चराउन गएको बेला पानी जमेको देखेपछि पौडी खेल्ने क्रममा डुबेका रहेछन् ।’ धनुषा प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहको जनाएको छ। मिश्रले उक्त पोखरी स्थानीय हुलास यादवको रहेको बताए ।

स्थानीयका अनुसार बिहान ७ जना बालिका बाख्रा चराउन भनेर घरबाट निस्केका थिए । खेतमै खनिएको पोखरीमा ५ जना नुहाउन पसे । २ जना भने ननुहाउने भन्दै पोखरीमा पसेनन् । पोखरीमा छिरेकाे केही बेरमा नै पाँचै जना डुब्न थालेपछि दुई जना बालिका हारगुहार गर्दै गाउँमा पुगेर घटनाबारे जानकारी गराएको स्थानीय अरुण कुमार राउतले जानकारी दिए ।

गाउँलेहरु तत्कालै घटनास्थलमा पुगे पनि त्यतिबेलासम्म ढिला भइसकेको थियो । पाँचै जना बालिकाको शव पानीमा तैरिरहेको थियो । त्यसपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थल पुगेर मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरी नायब उपरिक्षक मिश्रले बताए । 

स्थानीय अरुणकुमार राउतले प्रश्न गरे, ‘झट्ट हेर्दा खेतजस्तै देखिन्छ । यसरी अव्यवस्थित तरिकाबाट पोखरी खन्दा पाँच जना अबोध बालिकाको इहलीला समाप्त भएको छ । यसको दोषी को ? मापदण्ड बिना पोखरी खन्न किन दिइयो ? यसैगरी बेटी बचाउनुहुन्छ सरकार ?’

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीय चादँनी ठाकुर र उत्तम साह तेलीकी १२ वर्षीय छोरी ललिता साह तेली छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप