शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेश : थापा कारवाहीमा परेपछि यस्तो छ नयाँ अंकगणित

शुक्रबार, २८ जेठ २०७८, १६ : ०१
शुक्रबार, २८ जेठ २०७८

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि शनिबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि समय प्रदान गरिएको छ । प्रदेश प्रमुखले शुक्रबार प्रदेशसभा सदस्यहरुलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री चयनका लागि समयसीमा तोकेसँगै विपक्षी दलहरु उत्साहित भएका छन् । गण्डकी प्रदेशसभाको अंकगणित शुक्रबार ५९ सदस्यमा खुम्चिएको छ । राष्ट्रिय जनमोर्चा संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सदस्य कृष्ण थापा कारवाहीमा परेसँगै प्रदेशसभा सदस्यको संख्या घटेको हो ।

प्रदेशसभाको यो अंकगणितको आधारमा बहुमतका लागि कम्तीमा ३० सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दा उक्त प्रस्तावको विपक्षमा परेको ३० मत नै नयाँ सरकार गठनका लागि बहुमत जुट्ने मुख्य आधार बनेको विपक्षी दलहरुको भनाइ छ ।

मुख्यमन्त्री गुरुङले पेस गरेको विश्वासको मतको विपक्षमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका दुई र जसपा नेपालका दुई गरी कुल ३० मत खसेको थियो । विपक्षी गठबन्धनमा यी ३० मत कायमै रहेको र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले समेत प्रदेशसभालाई जोगाउन तथा नयाँ सरकार गठन गर्न आफूले सघाउने घोषणा गरेका कारण उनीसहित ३१ मत आफूहरुसँग कायम रहेको काँग्रेसका प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछाने बताउँछन् ।

यसअघि एमाले नेतृत्वको सरकारलाई सघाउँदै आएका मनाङेले नयाँ सरकार गठन प्रक्रियालाई सघाएको खण्डमा जनमोर्चाको कारवाहीमा परेका कृष्ण थापा पुनः अदालत गएर आफ्नो पक्षमा अन्तरिम आदेश जारी गराउन सफल भएको अवस्थामा समेत नयाँ सरकारलाई विश्वासको मत लिन सहज हुने देखिन्छ ।

सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय तोकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप