जी ७ सम्मेलन सुरु हुँदै, यी एजेन्डामा छलफल हुने
विश्वका ७ औद्योगिक राष्ट्रहरुको समूह जी ७ को सम्मेलन केही घण्टापछि बेलायतमा सुरु हुँदैछ । इङल्यान्डको दक्षिण–पश्चिमतर्फ रहेको कोर्नवालस्थित कार्बिस तटको रिसोर्टमा तीन दिनसम्म यो सम्मेलन आयोजना हुँदैछ । यसपटकको सम्मेलनमा कोरोना भाइरस खोप र जलवायु परिवर्तनका विषयमा छलफल केन्द्रीत हुनेछ ।
बेलायतले १० करोड डोज कोरोना भाइरस खोप आगामी वर्षभित्र दान गर्ने घोषणा गरिसकेको छ । बिहीबारमात्रै सम्मेलनमा भाग लिन आएका अमेरिकी राष्ट्रपति जो बाइडेन सँग बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले भेट गरेका थिए । जोनसोनले भेटघाट निकै सौहाद्र रहेको जानकारी गराएका थिए ।
सम्मेलन स्थलको सुरक्षाका लागि ५ हजार अतिरिक्त सुरक्षाकर्मी खटाइएको छ । जी ७ राष्ट्रको समूहमा अमेरिका, जापान, बेलायत,क्यानडा, फ्रान्स,जर्मनी र इटली छन् । यी सबै देशको अर्थतन्त्र जोड्दा विश्वको कुल जिडिपीको ४६ प्रतिशत हुन आउँछ ।