शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोकमरीको चपेटामा हलिया बस्ती, एउटै घरमा १०७ जनाको बसोबास !

शुक्रबार, २८ जेठ २०७८, १३ : १७
शुक्रबार, २८ जेठ २०७८

-रमेश केसी

थलारा गाउँपालिकाको केन्द्रदेखि ३० मिनेटको दूरीमा एउटा सानो बस्ती छ । त्यहाँ २५  दलित परिवारको बसोवास छ । बस्ती पुग्ने बित्तिकै एउटा स्लेटले छाएको घर भेटिन्छ । घर निकै जीर्ण भैसकेको छ । सुन्दा अचम्म लाग्ने तर यथार्थ छ वटा मूल ढोका भएको त्यस घरमा २२ परिवारका १०७ जना बस्दा बस्दै आएका छन् । घर हेर्दा पाँच÷छ परिवारलाई पनि सहज रुपमा बस्न नमिल्ने खालको छ । 

थलारा गाउँपालिका—८, बिसखेतमा रहेको हलिया बस्तीको यथार्थ हो यो । ‘‘हामी सबै परिवारको जग्गा भनेको यही घर भएको ठाउँ मात्रै हो । अन्त घर बनाउन जग्गा छैन । अन्त जग्गा किनेर घर बनाउँ भन्नुभयो बिहान बेलुकाको खाना जोहो गर्न नै गाह्रो छ ।’’ जुना दमाईंले विरक्त मान्दै भनिन्, ‘‘बाजे बराजु अर्काको हलो जोत्दै मरे । हाम्रो जिन्दगी साँझ बिहानको खाना खोज्दै जाने भयो ।’’ 

पुस्तौनी हलिया रहेका यहाँका दमाईं परिवार पूर्ण रुपमा मालिकको आश्रयमा छन् । साहुको हलो जोते वापत दिने केही अन्न बालीले दमाई परिवारको चुलोमा खाना पाक्थ्यो । सरकारले २१ भदौ २०६५ मा हलिया प्रथा अन्त्य भएको घोषणा गरेपछि  साहुले हलियालाई दिएको ऋण फिर्ता मागे र हलो जोत्न दिएनन् । कत्तिले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् । अझै पनि साहुको गाली खाइरहनु परेको हलियाहरुको गुनासो छ । 

हलिया गरेर गुजारा चलाइरहेका दमाई समुदायको बस्ने घरबाहेक अरु जग्गा जमीन छैन । स्थानीयवासी पदम नेपाली भन्छन् , ‘‘घर त छ, बस्नलाई पर्याप्त ठाउँ छैन एउटै घरमा १०७ जनाले बस्नु परेको छ ।’ बस्नको भन्दा पनि खानाको समस्या भएको उनको भनाइ छ । उनले भने, ‘‘पहिला लकडाउन नहुँदा अरुकामा ज्यालादारी गरेर परिवार पाल्थेँ । अहिले कोरोनाले गर्दा न काम पाइएको छ । खानालाई नै समस्या भएको छ । यस्तै अवस्था रह्यो भने भोकभोकै मर्नु पर्ने अवस्था छ ।” 

पदम नेपालीको भन्दा पीडा कम छैन ज्ञानु दमाईको पनि । उनी उमेरले ५५ वर्ष पुगिन्। उनको १२ जनाको परिवार रहेको छ । उनको बस्ने घरबाहेक अरु जग्गा जमीन केही छैन । बन्दाबन्दी नहुँदा गाउँगाउँमा गएर माथिल्लो जात ठकुरी, ब्रह्माणको घरका काम गरेर परिवारलाई पाल्ने गर्नुहुन्थ्यो । “बन्दाबन्दीले गर्दा अहिले कतै काम गर्न जान पनि मिल्दैन, घरमा खानलाई केही पनि छैन । सरकारले पनि हेरेन अब भोक भोकै मर्नुपर्ने अवस्था आएको छ”, ज्ञानु दमाईंले आफ्नो पीडा सुनाउँदै भनिन, ‘‘कतैबाट राहत पाए हुन्थ्यो । बन्दाबन्दी खुलेपछि साहुको काम गरेर पनि केटाकेटी पालिन्थ्ये ।”

यस्तै पीडा विसखेतका सम्पूर्ण हलिया परिवारमा रहेको छ ।  सबै परिवार यतिबेला भोकमरीको चपेटामा छ । अहिलेसम्म आफ्नो नाममा जग्गा जमीन नभएका दमाई समुदाय मुक्त हलिया खाद्य अधिकार समूह गठन गरी आफ्ना मागसहित विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । सुरक्षित रुपमा बस्न पाउनु पर्ने, जोखिममा रहेको बस्तीलाई स्थान्तान्तरण गर्नु पर्ने, बाँच्न पाउने हकको सुनिश्चित हुनु पर्ने माग दमाई समुदायको रहेको छ  । उनीहरुको सवाल सम्बोधनको लागि खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था फियान नेपालले पनि सहयोग गर्दै आएको छ । 

‘फियानकै सहयोगमा बाजेबराजुका पालादेखि मालिकबाट लिएको क्रण तिर्न सफल भए पनि हाम्रा अरु समस्या ज्यूँका त्यूँ छन्’ बलु दमाईले भने, ‘‘यो घर बनाएको ठाउँबाहेक अन्त खुट्टा टेक्नलाई पनि जमीन छैन । यतिका मान्छेलाई बिहान खाए साँझ के खाउँ भन्ने चिन्ता छ”, उनले बन्दाबन्दी नभएको बेला ज्याला मजदूरी गरेर पेट पाल्ने काम गरिरहेको भए पनि बन्दाबन्दीपछि काम नपाउँदा बस्ती नै भोकमरीको चपेटामा परेको बताए । 

विसं २०६६ मा जिल्ला मालपोत कार्यालयले यो बस्तीका मानिसलाई हलिया प्रमाणीकरण गरेको छ । ‘मुक्त हलिया पुनःस्थापनाको ढाँचा र कार्ययोजना २०७० ले आफ्नो स्वामित्वमा घर र जग्गा दुबै नभएकालाई ‘क’ घर भएका तर जग्गा नभएकालाई ‘ख’ आफ्नो जग्गा भएका तर घर नभएकालाई ‘ग’ तथा घर र जग्गा दुबै भएकालाई ‘घ’ वर्गमा वर्गीकरण गरेको छ ।

यो मापदण्डअनुसार बिसखेत गाउँका हलियाहरु ‘ख’ वर्गमा हुनुपर्नेमा उनीहरुलाई ‘घ’ वर्गमा सूचीकृत गरिएको छ । हलिया मुक्तिको घोषणापछि सरकारले साहुबाट लिएको ऋण तिरिदियो । जग्गा नहुनेको जग्गा जोडिदियो । घर बनाइदियो । यी काममा करोडौं रुपैयाँ खर्च गर्यो । हलियालाई आत्मनिर्भर बनाउने भन्दै विभिन्न सङ्घसंस्थाले पनि ठूलो धनराशी सिध्याए पनि हलियाको ठूलो सङ्ख्या अहिले पनि साहुकै हलो जोतिरहेका छन् । 

जिल्ला मालपोत कार्यालयमार्फत ८८ जना हलियाको घर निर्माणका लागि प्रति परिवार रु तीन लाख २५ हजारका दरले रु दुई करोड ८६ लाख, जग्गा खरिदका लागि  ११० जना हलियालाई प्रति परिवार रु दुई लाखका दरले रु दुई करोड २० लाख र घर मर्मत शीर्षकमा ८३३ परिवारलाई रु एक लाख २५ हजारका दरले १० करोड ४१ लाख २५ हजार वितरण गरिएको छ । घर निर्माण, जग्गा खरीद र घर मर्मतमा रु १५ करोड ४७ लाख २५ हजार खर्च भएको भएको भए पनि बिसखेतका हलियाको घरमा त्यसको सानो अंश पनि पुग्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप