लक्षण देखिएर पीसीआर नेगेटिभ भएका ७० प्रतिशतका रोग के हुन् ?
आजभोलि हामी हरेक दिनजसो कोरोनाको तथ्याङ्क हेर्ने र पढ्ने गर्दछौँ । हाल केही दिन यता नेपालमा कोरोनाको पीसीआर र एन्टिजेन टेस्टको नतिजा हेर्दा २५–३० प्रतिशतको हाराहारीमा मात्र पोजिटिभ देखिने गरेको छ । कोरोनाको प्रतिशतलाई लिएर बहस र तर्क वितर्क पनि हुने गर्दछ । तर बाँकी ७० प्रतिशत कोरोना नेगेटिभको नतिजालाई लिएर भने कतै चर्चा र परिचर्चा वा सोचेको समेत पाइँदैन । नेपालमा दोस्रो लहर सुरु भएदेखि नै कन्ट्क्याक्ट ट्रेसिङ हुने गरेको छैन । सङ्क्रमण भए र नभएको छुट्याउनलाई जाँचहरू गरिएको छैन । धेरैले लक्षण देखापरेपछि आफै परीक्षण गर्ने गरेका छन् । यी मानिसमा लक्षण देखिने तर कोरोना नेगेटिभ हुँदा अरू सङ्क्रामक रोगहरूको सम्भावनाका बारेमा सोचेका वा चिकित्सकसँग परामर्श गरेको पाइँदैन । कोरोना सङ्क्रमणको मात्र पछि लाग्दै गर्दा कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका अरू सङ्क्रामक रोगलाई बिर्सिरहेका त छैनौँ ?
सन् २०२१ को सुरुवातसँगै फ्लु भाइरस भने फेरि देखिन सुरु भएको छ । अर्थात् फ्लु भाइरसको नेपालमा ‘कम्ब्याक’ भएको छ ।
गत वर्ष नेपालमा सङ्क्रामक रोगहरू लगभग विलिन अवस्थामा थिए । लेखक पनि अचम्मित भएको थियो । कोरोनाको सुरुवाती समयमा नेपालमा रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिए फ्लुको परीक्षण गर्ने गरिन्थ्यो । यदि फ्लु परीक्षण पोजिटिभ देखिए कोरोनाको परीक्षण गरिँदैन थियो । त्यो बेला कोरोना परीक्षण सहज पनि थिएन । तर पछि प्रयोगशालाहरू क्रमशः खोलिँदै जाँदा कोरोना परीक्षण पनि सहज हुँदै गयो । जति कोरोना बढ्दै गयो त्यति नेपालमा बर्सेनि देखिने सङ्क्रामक रोगहरू देखिने क्रम घट्दै गयो । मानिसहरूले साबुन पानी वा स्यानिटाइजरको निरन्तर प्रयोगले गर्दा हातबाट सर्ने सरुवा रोगहरू नदेखिनु त स्वाभाविक थियो होला तर बर्सेनि देखिने कीटजन्य रोगहरू पनि खासै देखा परेन । हरेक वर्ष दुई सिजनमा देखिने फ्लु भाइरस पनि गत वर्ष शून्य प्रायः देखिए । फ्लु र कोरोना भाइरसका लक्षण तथा सर्ने तरिकाहरू उस्तै भए पनि कोरोना भने तीव्र गतिमा फैलियो । फ्लु भाइरस कोरोना महामारी देखिएका देशहरूमा पनि अत्यधिक कम मात्र देखिएका थिए । यो विश्व वैज्ञानिकहरूले गरेका अग्रिम प्रक्षेपण ÷ अनुमान भन्दा बिल्कूल भिन्न थियो ।
तर सन् २०२१ को सुरुवातसँगै फ्लु भाइरस भने फेरि देखिन सुरु भएको छ । अर्थात् फ्लु भाइरसको नेपालमा ‘कम्ब्याक’ भएको छ । विशेषतः नेपालमा फेब्रुवरी–मार्च तथा जुलाई–अगस्ट महिनामा फ्लु बढी देखिने गर्छ । सन् २०२१ को मार्च महिनामा मात्र ज्वरो, खोकी देखिएका बिरामीमा फ्लु परीक्षण गर्दा झन्डै २५५ (पच्चीस प्रतिशत) मा पोजिटिभ देखिएको थियो । यो त परीक्षण गराउन आएकाहरूमा देखिएको प्रतिशत मात्र हुन्, तर समुदायमा अरू फ्लुका सङ्क्रमितहरू हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ ।
दोस्रो लहरमा भने फ्लु ‘H3’ भाइरसको सङ्ख्या बढेको छ । तसर्थ ज्वरो, रुघाखोकी लक्षणमा कोरोना नेगेटिभ देखिए फ्लु भाइरस पनि हुनसक्छ । यद्यपि गर्मी महिनामा देखिने अरू सङ्क्रामक रोगहरूलाई पनि नजर अन्दाज भने गर्न मिल्दैन ।
मानिसमा देखिने फ्लु अर्थात् इन्फ्लुएन्जा भाइरस ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन प्रकारका हुन्छन् । यी तीनमध्ये ‘ए’ र ‘बी’ विशेषतः हरेक सिजनमा देखिने गर्छ । दुवैले मानिसलाई उत्तिकै स्वास्थ्य समस्या दिने गरेको यो पङ्क्तिकारसँग अनुभव छ । अहिलेसम्म फ्लु ‘ए’ले मात्र पेन्डेमिकको रूप लिने गरेको देखिन्छ । पन्छीमा देखिने बर्डफ्लु (H5N1) पनि फ्लु ‘ए’अन्तर्गत पर्छ । बर्डफ्लु भाइरस पहिलो पटक सन् १९९७ सालमा मानिसमा पनि देखिएको र विश्वभरी फैलँदा आतङ्कित पारेको पनि थियो । सन् २०१९ मा पहिलो पटक नेपालमा पनि एक २१ वर्षीय युवकको मृत्यु बर्डफ्लुका कारणले भएको थियो । नेपालमा निरन्तर बर्डफ्लुको प्रकोप देखिने गरेको र नेपालीको मृत्युसमेत भइसकेको पृष्ठभूमिमा आगामी दिनहरूमा बर्डफ्लु भाइरस मानिसमा नसरोस् भन्नका लागि सतर्कता अपनाउनुपर्नेछ । पछिल्लो पटक फ्लु ‘ए’अन्तर्गत पर्ने H1N1pdm09 अर्थात् ‘स्वाइन फ्लु’ नामले चिनिने भाइरस सन् २००९ मा पेन्डेमिकका रूप लिएको थियो । तत्पश्चात ‘स्वाइन फ्लु’ नेपालमा हरेक फ्लु सिजनमा देखिने गरेको छ । तर यहाँ चाखलाग्दो कुरा के छ भने सन् २०२१ को सुरुवातदेखि फ्लु देखिँदै आएको भए पनि ‘स्वाइन फ्लु’ भने देखिएको छैन । हरेक फ्लु सिजनमा देखिने फ्लु ‘बी’ पनि देखिएको छैन । तर फ्लु ‘ए’अन्तर्गतको अर्काे प्रजाति H3 भने निरन्तर देखिँदै आइरहेको छ, जसलाई सर्वसाधारणले ‘हङ्कङ फ्लु’को नामले चिन्ने गर्छन् । कोरोनाको जस्तो लक्षण भएकाहरूमा फ्लु परीक्षण गर्दा मार्च महिनामा मात्र झन्डै २५ प्रतिशतमा हङ्कङ फ्लु देखिएको थियो । यी सङ्क्रमितमध्ये कतिको मृत्यु भयो भन्ने यकिन तथ्याङ्क भने छैन । कोरोना महामारीबीच ‘ हङ्कङ फ्लु’ मात्रै देखिनु अथवा ‘स्वाइन फ्लु’ र फ्लु ‘बी’ नदेखिनु लेखकका लागि जिज्ञासाको विषय बनेको छ ।
अमेरिकामा बर्सेनि फ्लु भाइरसको जटिलताबाट ६१ हजारको मृत्यु भएको तथ्याङ्क देखिन्छ । नेपालमा भने यसको आधिकारिक तथ्याङ्क छैन ।
केही समयअगाडि एक व्यक्तिले आफ्नो बुवालाई ज्वरो, खोकी, स्वास प्रश्वासमा समस्या देखिएर तीन पटकसम्म कोरोना पीसीआर गर्दा पनि नेगेटिभ देखिएकाले यो पङ्क्तिकारसँग परामर्श लिन आइपुगेका थिए । अहिलेको परिस्थितिअनुसार कोरोनाको लक्षण मिल्दा एक पटकभन्दा परीक्षण गर्नु स्वाभाविक पनि थियो । तर ज्वरो, रुघाखोकी आएका सबैमा पीसीआर परीक्षण पोजिटिभ आउने गरेका छैनन् । तर हामीले पीसीआर नेगेटिभ देखिनुका कारणबारे सायदै सोचेका हुन्छौँ । पहिलो लहरमा फ्लु टेस्ट गर्दा पनि नेगेटिभ आउने वा फाट्टफुट्टा देखिने गरेका थिए । तर दोस्रो लहरमा भने फ्लु ‘H3’ भाइरसको सङ्ख्या बढेको छ । तसर्थ ज्वरो, रुघाखोकी लक्षणमा कोरोना नेगेटिभ देखिए फ्लु भाइरस पनि हुनसक्छ । यद्यपि गर्मी महिनामा देखिने अरू सङ्क्रामक रोगहरूलाई पनि नजर अन्दाज भने गर्न मिल्दैन ।
आज भोलि ज्वरो आउने, खोकी लाग्ने बित्तिकै कतै आफूलाई कोरोनाले सङ्क्रमण गरेको त होइन भनेर मनमा ढ्याङ्ग्रो ठोक्ने गर्दछ । अहिलेको परिस्थितिअनुसार यस्तो सोच आउनु स्वाभाविक पनि हो । तर लक्षण भएकाहरूमा झन्डै ७० प्रतिशत पीसीआर नेगेटिभ देखिँदै गर्दा बर्सेनि देखापर्ने सङ्क्रामक रोगहरूलाई पनि पूर्ण बेवास्ता गर्न मिल्दैन ।
अमेरिकामा बर्सेनि फ्लु भाइरसको जटिलताबाट ६१ हजारको मृत्यु भएको तथ्याङ्क देखिन्छ । नेपालमा भने यसको आधिकारिक तथ्याङ्क छैन । सन् २००९ मा स्वाइन फ्लु फैलँदा नेपालमा ठूलो त्रास देखिएको थियो । फ्लु भाइरस प्रमाणित भए नेपाल सरकारले निःशुल्क ओसेलटेमिभिर नामक एन्टी भाइरल औषधि दिने गर्दछ । लक्षण देखिएको ४८ घण्टाभित्र प्रयोग गरे सङ्क्रमणको जटिलतालाई घटाउनेछ । फ्लुविरुद्ध भ्याक्सिन पनि उपलब्ध छ तर नेपालमा यसको प्रयोगमा खासै चासो लिएको देखिँदैन वा सर्वसाधारणलाई सो भ्याक्सिनबारे पर्याप्त जानकारी नै छैन ।
सन् २०२० को सुरुतिर कोरोना भाइरसले महामारीको स्वरूप लिँदै गर्दा चीनबाट फर्केका एक व्यक्तिले आफूलाई ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिँदा फ्लु भाइरस पुष्टि भएको थियो । फ्लुविरुद्धको औषधि लिएपछि उनले पूर्ण स्वस्थ लाभ गर्नुभएको थियो । त्यस्तै सोही समयतिर चीनको सीमा क्षेत्रमा रहेको एक गाउँ पूरै रुघा खोकी, ज्वरो तथा श्वासप्रश्वास समस्याबाट ग्रस्त हुँदा कोरोनाको ठूलो त्रास फैलिएको थियो र त्यहाँबाट कोरोना परीक्षण मागसहितको पत्र स्वस्थ मन्त्रालयलाई पत्राचार गरिएको थियो । पछि कोरोना जस्तो लक्षण देखिएकाहरूमा फ्लु प्रमाणित भएका थिए । लेखकले सो गाउँबाट आएका सङ्क्रमितहरूको स्वस्थ परीक्षण गर्दा फ्लु हङ्कङ फ्लु निदान भएको देखेको थियो । कोरोना र फ्लु भाइरसमा देखिने लक्षणहरू धेरै मिल्दाजुल्दा हुने भएकाले प्रयोगशाला परीक्षण आवश्यक हुन्छ । कोरोना नेगेटिभ देखिएका बिरामीको फ्लु परीक्षण गर्ने व्यवस्था पनि गर्नुपर्ने देखिन्छ । परीक्षणबाट सङ्क्रमण निदान गर्न सके सङ्क्रमित स्वयमले सतर्कता अपनाउने र चिकित्सकलाई पनि उपचार गर्न सहज हुनेछ ।
आज भोलि ज्वरो आउने, खोकी लाग्ने बित्तिकै कतै आफूलाई कोरोनाले सङ्क्रमण गरेको त होइन भनेर मनमा ढ्याङ्ग्रो ठोक्ने गर्दछ । अहिलेको परिस्थितिअनुसार यस्तो सोच आउनु स्वाभाविक पनि हो । तर लक्षण भएकाहरूमा झन्डै ७० प्रतिशत पीसीआर नेगेटिभ देखिँदै गर्दा बर्सेनि देखापर्ने सङ्क्रामक रोगहरूलाई पनि पूर्ण बेवास्ता गर्न मिल्दैन । पहिलो लहरमा नदेखिएको फ्लु भाइरस सन् २०२१ को सुरुवातसँगै फेरि देखिन थालेको छ । तसर्थ ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न अफ्ठ्यारो हुने, जिउ तथा टाउको दुखेका सबैलाई कोरोना भाइरस हुनै पर्छ भन्ने छैन । त्यो फ्लु भाइरस पनि हुनसक्छ किनभने फ्लु भाइरसको ‘कमब्याक’ नेपालमा भइसकेको छ ।
लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप