शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहरमा युवामय भयो गाउँघर

शुक्रबार, २८ जेठ २०७८, १० : ३७
शुक्रबार, २८ जेठ २०७८

गुल्मी । मजदुरीका लागि वर्षौैंसम्म भारतमा रहेर आफ्नो गाउँघर, मेलापातबाट टाढिएकाहरु पनि कोरोना महामारीका कारण गाउँघरमै फर्किएर रम्न थालेका छन् ।

गाउँघरमा यतिबेला भारत लगायत विभिन्न मुलुकबाट घर फर्केका मानिस प्रशस्त छन् । लाग्छ, अहिले कुनै ठुलो चाडपर्व जसरी मानिस जम्मा भएका छन् ।

लामो समयपछि गाउँघरमा मादल घन्किन र बाँसुरी बज्न थालेका छन् । वन–जंगलमा घाँस–दाउरा गर्न पुगेकाहरु गीत गाएर रमाइलो गरिरहेका हुन्छन् । कोरोना महामारीले गाउँघर साँच्चै नै आफ्नो पुरानो स्वरुपमा फर्कदा सहरबजार भने सुनसान बनेका छन् ।

गत वर्षको कोरोना कहरमा युवाहरुको आगमनले भरिएको गुल्मीको सदरमुकाम तम्घास नजिकैको छोडापोखरा गाउँ कोरोना संक्रमण कम भएलगत्तै पुनः सुनसान भएको थियो । कोरोना महामारीका कारण गाउँघरमा आएका युवा संक्रमण दर घटेपछि पुनः आ–आफ्नै गन्तव्यतिर लागेका थिए । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै भारतका विभिन्न सहरबाट गाउँ फर्कनेहरुको ओइरो लाग्यो । अहिले फेरि त्यो गाउँ युवामय बनेको छ ।

रेसुङ्गा नगरपालिका– ७ मा पर्ने सो गाउँका स्थानीय दलित अगुवा बिष्णु परियारका अनुसार भारततिर नोकरी गर्न गएका युवाहरु गाउँ फर्किएर भरिभराउ छन् ।

गुल्मी कै मुसिकोट नगरपालिका– ३ मा पनि भारतबाट घर फर्किएका युवाहरु काम नपाएर चौर–चौतारामा गफ गर्दै बसेका देखिन्छन् ।

गत वर्ष स्थानीय सरकारले आ–आफ्नो पालिकाभित्रै विभिन्न निर्माण कार्यमा रोजगारी सिर्जना गरेकोले उनीहरुलाई काम पनि थियो, माम पनि थियो तर अहिले न काम छ, न माम छ ।

गत वर्षजस्तै स्थानीय सरकाले जनशक्ति सदुपयोग गर्न सकेको भए गाउँगाउँका जीर्ण गोरेटो बाटो निर्माण, पानी पँधेरो, पाटीपौवा संरक्षण हुने थियो भन्ने उनीहरुको भनाइ छ ।

गत वर्ष धुर्कोट गाउँपालिकाले मोटरबाटोका कारण पुुरिएर नामोनिशान हराएका दर्जनौं पोखरी खन्ने काम ग¥यो  । मोटरबाटो कै कारण सुक्खा र झाडी बनेका सदिऔं पुराना  पानीका मुहान संरक्षण गर्ने काम भयो । जीर्ण गोरेटो खनियो ।

सो गाउँपालिका प्रमुख भुपाल पोखरेलका अनुसार गत वर्ष विकास निर्माण सबै ठप्प पारिएको अवस्था रहेकाले दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका परिवारलाई रोजगारीमा आधारित राहतका लागि स्थानीय तहले त्यसरी काम दिएको थियो ।

अहिले ठुला विकास निर्माणदेखि सानातिना कृषि कार्यक्रम खुला राखेका कारण त्यस प्रकारको रोजगारी सिर्जना गर्न नसकिएको उनको भनाइ छ । यसका बाबजुद पनि दुःख बिमार परेका, बेसहारा, असहाय परिवारको छाक टार्न समस्या भएको सम्बन्धित वडाबाट जानकारी आउनासाथ खाद्यान्न राहत दिएको उनले बताए ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल अति विपन्नलाई वडाबाट राहतका लागि सिफारिस आएमा नगरपालिकाले राहत दिने बताउँछन् । तर वडा नम्बर १ का वडाध्यक्ष अखिलेश्वर पाण्डे र वडा नम्बर २ का वडाध्यक्ष उदयबहादुर थापा भने वडाले सिफारिस गर्दा एउटालाई दिए अर्को रिसाउने भएकोले कुनै संघसंस्थामार्फत नगरपालिकाले खाद्यान्न राहत उपलब्ध गराएमा आफुहरु विवादमा नपर्ने धारणा राख्छन् ।

गुल्मीमा वैशाख १८ गते देखि निषेधाज्ञा जारी छ । त्यसयता मुख्य नाका रिडी हेल्प डेस्कबाट मात्रै ८३४ जना  जिल्लामा भित्रिएका छन् । त्यसमध्ये भारतबाट मात्रै ७ सय ८३ जना आएका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माका अनुसार विकास निर्माणको काम नरोकिएकाले गत वर्षजस्तो मजदुरहरु खाद्यान्न समस्यामा नपरेको हुन सक्ने बताइन् । यद्यपि होटल लगायतका अन्य व्यावसायिक क्षेत्रमा काम गर्ने मजदुर भने समस्यामा परेको उनको बुझाइ छ । त्यस्ता व्यवसायी आफु स्वयं मर्कामा परे पनि मजदुरहरुको मर्काप्रति सामाजिक उत्तरदायित्व सम्झेर उनीहरुलाई राहत दिनुपर्ने प्रजिअ शर्माको सुझाव छ ।

सडकमै मजदुरको मृत्यु

३७  वर्ष अघिदेखि बाग्लुङको बुर्तिबाङ्गबाट सदरमुकाम तम्घासमा आएर बसपार्क लगायतका स्थानमा पल्लेदारीको काम गर्दै आएका डन उपनामले चिनिने बोमबहादुर परियार मंगलबार चक्कर लागेर बसपार्कमा ढले । उपचारका लागि गुल्मी अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरे ।

मेहनत मजदुरी गर्दा गर्दै आफू बिरामी भएको र कामसमेत गर्न नसकेको अवस्थामा पछिल्लो समय उनी मागेर गुजारा चलाउँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप