बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च

शुक्रबार, २८ जेठ २०७८, १० : ०७
शुक्रबार, २८ जेठ २०७८

कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च वापत रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । 

नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताए । 

“कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनुभएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको छ”, उनले भने, “केही दिनभित्रै खर्च दिन शुरु गर्छौँ ।” कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । पाँच सय बढी व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

नगरपालिकाले कुण्डास्थित कोभिड अस्पतालमा उपचारपछि घर फर्किने बासिन्दालाई पनि पोषिलो खाना पनि उपलब्ध गराउने भएको छ । 

त्यसका लागि दुई हजार बराबरको पोषणयुक्त खानाका सामान उपलब्ध गराउने कार्यपालिकाबाट निर्णय गरिएको छ । कोभिड सङ्क्रमित बालबालिकाको उपचारका लागि भवन बनाउने निर्णय पनि गरिएको छ । 

बेलौरीमा दुई बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । दुवै जना १५ र १६ वर्षका छन् । बालबालिकामा कोरोना सङ्क्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गरी भवन बनाउन लागिएको हो ।

त्यस्तै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट रक्त सञ्चार केन्द्रका लागि रु ५० हजार सहयोग गर्ने निर्णय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप