शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चार वटा गैँडा मारेका फरार अभियुक्त पक्राउ

शुक्रबार, २८ जेठ २०७८, ०७ : ४६
शुक्रबार, २८ जेठ २०७८

चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई गैँडाकोटबाट पक्राउ गरेको हो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैँडाकोट नगरपालिका वडा नं ३ ढोडेनीका ३२ वर्षीय सोमा र मिनबहादुर गुरुङ भनिने खड्कबहादुर गुरुङलाई पक्राउ गरिएको हो । 

चोरीशिकार नियन्त्रण विशेष टोली, नेपाली सेना र गैँडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गुरुङलाई पक्राउ गरेको अधिकारीले जानकारी दिए ।
 
उनका अनुसार गुरुङलाई चार वटा चोरीशिकार घटनामा संलग्न रहेको आरोपमा तीन मुद्दा परेको छ । उनीविरुद्ध जिल्ला अदालत नवलपुरमा दुई वटा र जिल्ला अदालत चितवनमा एक वटा मुद्दा रहेका छन् । विसं २०७७ भदौं १६ र १८ गते भएको गैंडाको चोरी शिकारीमा हतियार उपलब्ध गराउने र आफैँ सुटसमेत गर्ने उनै भएको निकुञ्जको दावी छ  । 

गैंडा चोरी शिकारका लागि ६ पटकसम्म निकुञ्ज प्रवेश गरेको र कम्तीमा चार वटा गैँडा मारेको निकुञ्जले जनाएको छ ।
 
उनी फरार रहँदै आएका थिए । उनको साथबाट बन्दुकमा प्रयोग हुने बारुद १२ पोका, बन्दुकको बेयरिङ १५ थान, भरुवा बन्दुकमा प्रयोग हुने रडसमेत बरामद गरिएको छ । योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । तीमध्ये २२ जना हालसालैका घटनाका र चार जना फरार प्रतिवादी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप