शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङ्गे भन्छन्, ‘मुख्यमन्त्रीको प्रदेशसभा विघटन गर्ने योजनाविरुद्ध ‘भ्याक्सिन’ बन्छु’

बिहीबार, २७ जेठ २०७८, २२ : ३५
बिहीबार, २७ जेठ २०७८

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेले विपक्षी गठबन्धनलाई समर्थन गर्ने बताएका छन् । बुधबारदेखि सम्पर्कविहीन मनाङ्गेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसद विघटन गर्ने योजना बनाएपछि संसद जोगाउनका लागि विपक्षी गठबन्धनमा उभिने योजना बनाएको बताएका हुन् ।

उनले शुरुमा मुख्यमन्त्री गुरुङले आफ्नो नेतृत्वको सरकारले जसरी पनि बहुमत हासिल गर्ने बताएपछि मन्त्री बनेको बताउँदै अहिले आएर सरकार जोगाउनका लागि आवश्यक बहुमत नपुग्ने अवस्थामा पनि आफ्नो पार्टीलाई समर्थन गर्न दबाब दिएको आरोप लगाए ।

मनाङ्गेले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जुनसुकै हालतमा ढल्ने भएपछि आफूले विकल्प खोजेको बताए । प्रदेशसभा नमरोस् भनेरै आफूले यस्तो कदम चालेको उनको दाबी छ ।

मनाङ्गेले आफू साँझ ७ बजेसम्म मन्त्रालयमै भएपनि साँझको मन्त्रिपरिषद्को बैठक छाडेर संसद विघटनविरुद्ध उभिएर संसद् बचाएको जिकिर गरे । उनले केन्द्रमा कायम ‘महामारी’ भन्दा ठूलो रोग प्रदेशमा आउन थालेको महशुस गरेर आफू प्रदेशसभा जाेगाउनका लागि ‘भ्याक्सिन’ बनेको दाबी गरे ।

‘डाइरेक्ट संसद भंग गर्छु भन्ने व्यक्ति राजनीतिज्ञ हुनै सक्दैन,’ भन्दै त्यस्तो व्यक्तिलाई समर्थन गर्नु बेवकुफी हुने उनको तर्क छ । उनले पार्टीको आडमा एउटा व्यक्तिको लागि २७ जना नै पछि लागेर संसद विघटनको पक्षमा लाग्नु मूर्खता भएको पनि टिप्पणी गरे ।

उनले त्यस्तो अपराध गर्नेलाई मुद्दा लगाउनु पर्ने पनि जिकिर गरे । जानी बुझी सरकार ढाल्नेलाई देशद्रोह वा प्रदेशद्रोहको मुद्दा लगाउनु पर्ने उनले बताए ।

मनाङ्गेले आफूले सम्पर्कविहीन भएर ठुलो अपराध गरे जसरी प्रहरीले घरमा गएर खानतलासी गरेको आरोप लगाए । आफूलाई हरायो भनेर कसैले निवेदन नदिँदा नदिँदै पनि प्रहरीले खोजी गर्नु कानुनविपरीत भएको उनको भनाइ छ ।

मुख्यमन्त्रीले सुब्बाले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए भने मनाङ्गे बैठकमा उपस्थिति भएका थिएनन् । सरकार बन्नका लागि विपक्षी गठबन्धनका लागि एक मत आवश्यक हुन्छ । मनाङ्गेले मत दिए विपक्षीको सरकार बन्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप