बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा मधेसी प्रतिनिधित्व : ओलीले दोहोर्‍याए बाबुरामको इतिहास

बाबुरामका पालामा ४९ मा ३०, ओलीको पालामा २५ मा ११
बिहीबार, २७ जेठ २०७८, २० : ०४
बिहीबार, २७ जेठ २०७८

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेपछि मधेसको प्रतिनिधित्वलाई लिएर चर्चा सुरु भएको छ । यस्तो चर्चा २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलामा पनि भएको थियो ।

‘सिंहदरबारमा मधेसको कब्जा’, ‘सरकारमा प्रदेश २ को बहुमत’, ‘अब मधेसले पाउने भयो अधिकार’ जस्ता टिप्पणी सुरु भएका छन् । अहिलेको २५ सदस्यीय मन्त्रिपरिषद्मा ११ जना मधेसी समुदायका छन् भने प्रदेश २ बाट मात्रै १४ जना मन्त्री बनेका छन् ।

सरकारमा यो संख्यामा मधेशीको उपस्थिति १० वर्षपछि दोहोरिएको हो । २०६८ डा.बाबुराम भट्टराई नेतृत्वमा गठन भएको सरकारमा पनि यसै गरी मधेशीको बाहुल्य थियो । डा.भट्टराईको नेतृत्वमा गठन भएको ४९ सदस्यीय मन्त्रिपरिषदमा ३२ जना मधेसी मन्त्री थिए ।

बाबुराम भट्टराईको सरकारमा रहेका अधिकांश मन्त्रीहरु नै अहिले ओली नेतृत्वको मन्त्रिमण्डलमा परेका छन् । अधिकांश मन्त्रीहरु बाबुराम भट्टराई नेतृत्वको सरकारबाट हटेपछि एकैचोटि अहिले मन्त्री भएका छन् ।

राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, ज्वालाकुमारी साह, शरतसिंह भण्डारी बाबुराम नेतृत्वको सरकारमा पनि मन्त्री थिए ।

सरकार बनाउनमा मधेसको शक्ति पनि त्यस्तै रहेको छ । त्यतिबेला पनि मधेसी दल, जसको सरकार बनाउन चाहन्थ्यो, त्यसैको सरकार बन्थ्यो । जसको सरकार ढाल्न चाहन्थ्यो, उसको ढल्थ्यो । त्यतिबेला झलनाथ खनाल ढलेपछि बाबुराम भट्टराई नेतृत्वमा सरकार बनेको थियो । अहिले पनि नेकपा विभाजन भएपछि सत्ताको चाबी मधेसवादी दलको हातमा आएको छ ।

त्योबेला संसदमा बहुमत जुटाउन मधेसी नेताहरुलाई सरकारमा लिनु  तत्कालीन माओवादीका नेता डा.बाबुराम भट्टराईलाई बाध्यता थियो ।

अहिले संसद विघटन भएकाले ओलीका लागि उनीहरुलाई सरकारमा ल्याउनु त्यस्तो बाध्यता थिएन । बरु चुनावी सरकारले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने कानूनविद्हरुले बताइरहेको अवस्था छ । तर, ओलीले आगामी चुनावमा मधेसवादी दलसँग तालमेल गर्न र आफ्नो सीट बढाउनका लागि प्रदेश २ लाई प्राथमिकता दिएको विश्लेषण भइरहेको छ ।  

 

संयोग, बाबुरामका पालामा उपेन्द्र यादव नेतृत्वको पार्टी सरकारमा सहभागी थिएन । अहिले ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव पक्षको सहभागिता छैन । बरु, उपेन्द्र यादव र बाबुराम भट्टराईचाहिँ एक ठाउँमा उभिएको अवस्था छ ।

त्यतिबेला माओवादी र मधेसी मोर्चा मिलेर सरकार बनाएको थियो, अहिले एमाले र जसपाको एउटा समूह मिलेर सरकार बनेको छ ।

ओली नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषदमा रहेका ११ मधेसी मन्त्री

१.रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

२.राजेन्द्र महतो, उपप्रधान तथा शहरी विकास मन्त्री

३.अनिलकुमार झा, खानेपानी मन्त्री

४.राजकिशोर यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

५.लक्ष्मणलाल कर्ण, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण

६.ज्वालाकुमारी साह, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

७.विमल श्रीवास्तव, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री

८.उमाशंकर अरगरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

९.चन्दा चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१०.एकवाल मियाँ, युवा तथा खेलकुद मन्त्री

११.चन्द्रकान्त चौधरी, उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री

डा.बाबुराम भट्टराई नेतृत्वको सरकार (२०६८) मा रहेका मधेशी मन्त्रीहरु

१.विजयकुमार गच्छदार–गृहमन्त्री

२.शरतसिंह भण्डारी–रक्षमन्त्री

३.जयप्रकाश प्रसाद गुप्ता–सूचना तथा सञ्चार (उनी जेल गएपछि राजकिशोर यादव बनेका थिए)

४.हृदयेश त्रिपाठी–भौतिक योजना तथा निर्माण मन्त्री

५.राजेन्द्र महतो–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

६.महेन्द्रप्रसाद यादव–सिंचाई मन्त्री

७.रामकुमार यादव–सामान्य प्रशासन मन्त्री

८.अनिलकुमार झा–उद्योग मन्त्री

९.वृजेशकुमार गुप्ता–कानुन तथा न्याय मन्त्री

१०.नन्दनकुमार दत्त–कृषि तथा सहकारी मन्त्री (उनी हटेपछि अकवाल अहमद बनेका थिए)

११.राजलाल यादव–विना विभागीय मन्त्री

१२.मुहम्मद वकील मुसलमान–वन तथा भू–संरक्षण मन्त्री

१३.दानबहादुरकुर्मी चौधरी–महिला, बालबालिका तथा समाजकल्याण मन्त्री

१४.सरिता गिरी – श्रम तथा यातायात व्यवस्था

१५..खोभारी राय– उद्योग राज्यमन्त्री

१६.रामबच्चन अहिर(यादव)–रक्षा राज्यमन्त्री

१७. सरोजकुमार यादव–स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री

१८.विष्णुप्रसाद चौधरी–वाणिज्य तथा आपूर्ति, राज्यमन्त्री

१९.घनश्याम यादव–स्थानीय विकास राज्यमन्त्री

२०.ज्वाला साह–भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री

२१.सुनिताकुमारी महतो–सामान्य प्रशासन राज्यमन्त्री

२२.भीमराज चौधरी राजवंशी–गृह राज्यमन्त्री

२३.लक्ष्मण महतो–वन तथा भू–संरक्षण राज्यमन्त्री

२४.दुर्गादेवी महतो (धानुक)– वातावरण राज्यमन्त्री

२५.काशी देवी झा–कानुन तथा न्याय राज्यमन्त्री

२६.ईश्वर दयाल मिश्र–भौतिक योजना तथा निर्माण राज्यमन्त्री

२७.अरविन्द साह–महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री

२८.रमणीराम–सिँचाई राज्यमन्त्री

२९.सुरीताकुमारी साह–सूचना तथा सञ्चार राज्यमन्त्री

३०.ओमप्रकाश यादव–कृषि तथा सहकारी राज्यमन्त्री  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप