शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम कोरोना महामारी नियन्त्रणमा केन्द्रित (पूर्णपाठ)

बिहीबार, २७ जेठ २०७८, १८ : ३४
बिहीबार, २७ जेठ २०७८

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ । बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई केन्द्रमा राखिएको छ । आगामी आर्थिक वर्षमा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न योजना लागु गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउने सरकारको लक्ष्य छ ।

आगामी वर्ष कोरोना संक्रमणको उपचारलाई स्तरीय बनाउन सुविधा सम्पन्न अस्पताल, यन्त्र, उपकरण र जनशक्तिको उचित व्यवस्थापन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता कार्यक्रम र युवाहरुलाई उद्यमशीलतामा जोड्न स्वरोजगारमूलक उत्पादनमा आधारित अनुदानका कार्यक्रम पनि तर्जुमा गरिने जनाइएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुको मुल्याङ्कन गरी आवश्यक बजेट विनियोजन गर्ने, बहुवर्षीय र क्रमागत योजनाहरुलाई प्राथमिकतामा राखेर पहिलो चरणमा बजेट विनियोजन गरिने र अन्य योजनालाई दोस्रो चरणमा बजेट प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमलाई प्रदेशका ३८३ विद्यालयमा विस्तार गरिने, एक स्थानीय तह एक नर्सरी कार्यक्रम सञ्चालन गरिने, दूध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने र सो बापतको रकम कृषकको खातामा जम्मा गरिदिने तथा बाँझो जग्गामा खेती कार्यक्रम सञ्चालन गरिने जस्ता योजना समेटिएको छ ।

हेटौंडा स्थापना भइरहेको दुध पाउडर प्लान्टलाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य पनि प्रदेश सरकारले राखेको छ । त्यस्तै, कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न प्रदेश सरकार मातहतका कर्मचारीलाई भ्रमण कार्यक्रम सञ्चालन गरिने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थापन र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिने जनाइएको छ ।

आगामी आर्थिक वर्षमा एक जिल्लामा एक बाल विकास कक्षाको व्यवस्था, प्रदेश परीक्षा बोर्ड गठन गरी माध्यमिकस्तरको परीक्षा सञ्चालन गर्ने, सामुदायिक क्याम्पसमा अध्ययनरत छोरी बुहारीका लागि वितरण गरिँदै आएको ‘छोरीबुहारी कार्यक्रम’लाई निरन्तरता दिइने प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

सामुदायिक विद्यालयको स्तर विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने तथा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिने, युवा वैज्ञानिकहरूलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धतासमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

‘किसानका गरा, सधैँ हराभरा’ कार्यक्रम सञ्चालन गर्ने, छोटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने र पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको कार्य सञ्चालन गरिने जनाइएको छ । प्रदेश चक्रपथको बाँकी रहेका निर्माण कार्य संचालन गरिने तथा काठमाडौं उपत्यका काँठ चक्रपथ अन्तर्गत तीनै जिल्लाका सडकलाई स्तरोन्नति गर्ने योजना प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ ।

आगामी आर्थिक वर्षमा प्रदेश सरकारले मेघौली–हेटौंडा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन र विद्युतीय परिवहन रणनीति अवलम्बन गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप