शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी : ‘अपवित्र गठबन्धन’ भनेकोमा काँग्रेसको प्रतिप्रश्न– ओली र महन्थ–राजेन्द्रको लगन गाँठोलाई के भन्ने ?

बिहीबार, २७ जेठ २०७८, १५ : ०६
बिहीबार, २७ जेठ २०७८

पोखरा । नेपाली काँग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओली र महन्थ ठाकुर–राजेन्द्र महतोबीचको लगन गाँठोलाई के भन्ने भनेर प्रतिप्रश्न गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रश्न गरेका हुन् ।

सत्ता पक्षले विपक्षी गठबन्धनलाई ‘अपवित्र’ भनेर टिप्पणी गरिएकोतर्फ केन्द्रित हुँदै उनले १२ बुँदे समझदारीदेखि दोस्रो जनआन्दोलनमा सहयात्रा गरेर गणतन्त्र र संघीयताका लागि एकसाथ लडेका दलहरु बीचको सहकार्यलाई कसरी अपवित्र भनियो भन्ने प्रश्न गरे ।

उनले भने, ‘जनआन्दोलनमा सहयात्रा गरेको, यो व्यवस्थाभित्र प्रवेश गरिसकेका दलमाथि कसैले औंला ठड्याउने काम सह्य हुँदैन ।’ हिजोका दिनमा ‘नागरिकता भनेको रानीको जन्मोत्सवमा मिठाइ बाँडेको जस्तो होइन’ भन्ने प्रधानमन्त्री ओली र ‘हम देखाएङ्गे’ भनेर भन्ने महन्थ ठाकुर र राजेन्द्र महतोबीच अहिले देखिएको ‘लगनगाँठो’लाई के संज्ञा दिने भनेर उनले सत्ता पक्षलाई प्रतिप्रश्न गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै असंवैधानिक कदमबाट दुई तिहाईको सरकारमा अस्थिरता आएको स्मरण गराए । प्रधानमन्त्रीका असंवैधानिक कदमलाई प्रदेश सरकारले कसरी हे¥यो भन्ने कुराले यो प्रदेशमा त्यसको बाछिटा आएको उनको भनाइ थियो ।

‘अविश्वास प्रस्ताव आउन सक्छ भन्ने आँकलनका आधारमा आह्वान भइसकेको प्रदेशसभा बैठक बस्दै नबसी स्थगन गरियो,’ उनले भने, ‘लोकतान्त्रिक सरकारले संसदलाई फेस गर्न सक्नुपर्छ ।’ आफूहरु विपक्षमा रहेको र सदनबाट भागेका मुख्यमन्त्रीलाई फेरि हाउसमा ल्याउनु आफूहरुको राजनीतिक धर्म रहेको र आफ्नो ‘पोजिसन’ ले दिएको धर्म पनि त्यही नै रहेको भन्दै उनले विगतका घटनाक्रमलाई स्मरण गराए ।

उनले मुख्यमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थन हुने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्थालाई पनि प्रदेशमा उल्लंघन गरिएको आरोप लगाए । यसबीचमा प्रदेश प्रमुखसमेत परिवर्तन गरेर सरकारले आफ्नो अनुकुल हुने गरी राज्य संयन्त्रलाई दुरुपयोग गरेको उनले बताए ।

केन्द्रमा जस्तै प्रदेशमा पनि संविधानको प्रतिकुल हुने गरी सरकारले कदम चाल्न थालेको उनको आरोप छ । ‘लोकतन्त्रको रटान दिएरमात्र हुँदैन, अवलम्बन पनि गर्नुपर्छ,’ उनले भने, ‘आज केन्द्रमा त्यही भइरहेको छ, प्रधानमन्त्रीले प्रस्ताव लानुहुन्छ, ५ मिनेटभित्र राष्ट्रपतिले स्वीकार गर्नुहुन्छ । दुई घण्टाअघि बहुमत छैन भन्नुहुन्छ, दुई घण्टापछि बहुमत छ भनेर जानुहुन्छ, राष्ट्रपतिले त्यसलाई नै स्वीकार गर्नुहुन्छ ।’

यस्ता कार्यले संविधानको मर्म र भावनाको प्रतिनिधित्व नगर्ने उनले प्रस्ट पारे । गण्डकी प्रदेशमा पनि सरकार गठन गर्ने सवालमा संविधान मिचिएको उनको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप