कविता : स्वाभिमान
-हितबहादुर थापामगर
कदापि हुनुहुन्न अब निराश अनि शून्य
आऊ गरिबीले आहत भई पिल्सिएका
हे मेरा परम आत्मिक मित्र हो
हरदम आफ्नै साथमा भएको
कल्पनाको अजर खेती गरी
दुखात्मक पीर व्यथालाई भुल्दै
विश्व मानचित्रमा कहलिएको
धनाढ्य कुवेरभन्दा
सुखात्मक जीवन बाँच्न सिकौँ ।
हो जो मनुष्य आज कल्पनाको
आधुनिक खेती गर्न नसकेर
निचोरिएको कागतीका बोक्रोसरि
अपहेलित बन्दै बनाइँदै
कल्पनाहीन बन्न पुग्दछ
त्यही अपहेलित गर्ने मनुष्य आज
फुस्रा इज्जत र बोक्रे रवाफमा
खोक्रो ढोङ्गको पगेरी लगाउँदै
आफैँले आफैँलाई महाप्राज्ञ तक्मा भिराउँदै
मपाइँत्वको तासको सुन्दर महलभित्र
सयौँ रोग र भोकले सताइएका हुन्छन् ।
अबोध भई क्षणिक सुखात्मकतामा रमाउनुभन्दा
शिक्षित एवं विलक्षण प्रतीभावान् बनी
आत्मस्वाभिमानयुक्त राज्यको बीजारोपण छरी
उजाड मरुभूमिमा हरियाली बीज सिञ्चित गरी
अङ्कुराउँदै फुल्दै फल्दै गरेको मातृत्वलाई
दीर्घायुको कामना गर्दै एक कुशल
नैतिकवान् अङ्गरक्षक बनौँ ।
भौतिक सत्य जीवनमा रोग र भोकले सताएर के भो
आऊ हामी मिलेर एउटा बालुवाको कणमा
सिङ्गो संसारमा भएका रमणीय पल खोजौँ
अनि एउटा फूलको थुँगोमा
सिङ्गो विश्व जनमानस हाँसेको
सुखात्मक जीवन प्राप्त गरी आपसमा
सद्भाव साटासाट गर्दै मुस्कुराएको अनुभव गरौँ ।
अब हामी हीनताबोध गर्दै भावुकतामा
मार्मिक जीवनलाई आत्मसाथ गर्ने होइन
कल्पनामै रम्दै बुद्धि र विवेकको प्रयोग गरी
जिज्ञासु र कल्पनाशील बनी
विश्वलाई समृद्ध बनाउँदै हर्षित बनाउने
गहन वैज्ञानिक आविष्कार गरौँ ।
अनि यसैभित्र खोजौँ
हामीबीच हुँदाहुँदै सदियौँदेखि टाढा भई
हराएको स्वाभिमान ।
आउ सभ्यताको ज्योती बाली हराएका ती
सुखात्मक भौतिक विकास खोजौँ
जहाँ हामी कल्पनाभित्रै स्वर्गमा प्राप्त हुने
स्वर्गीय आनन्दानुभूति गर्न सकौँ ।
आफूमा रहेको ईश्वरीय शक्ति प्रयोग गर्दै आऊ
आधुनिक सभ्यताका नाममा यान्त्रिक जीवन
बाँचेका महामानवलाई नैतिक जीवन बाँच्नका निम्ति
सुशासनयुक्त दृष्टि देखाउने आँखा दान गरौँ
अनि यसैभित्र स्वाभिमानले राज गरेको
समुन्नत समाजको निर्माण गरौँ ।
यही भौतिक सत्य जगतमा अनैसर्गिक
दुःखदायी र कुरूप जीवन भोगिरहेका
हे महामानव हो आऊ अब हामी
काल्पनिक रङ्गमञ्चको सत्यभित्र पौडिँदै
नैसर्गिक सुखदायी र सुन्दर जीवनको
परिकाल्पना गर्दै रम्दै रमाउँदै
नयाँ सृष्टि निर्माण गरौँ ।
अनि यसैभित्र
भौतिक सांसारिक पीडाहरुलाई भुल्दै
काल्पनिक सुसभ्य सामराज्यमा
निःस्वार्थ मुस्कुराइरहेको स्वाभिमानलाई
मलजल गरी सुखी अनि समृद्ध
जीवनको यथार्थ भूलोक कायम गरौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही