शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै सिटिजन्स बैंकको सातौँ विशेष साधारण सभा सम्पन्न

बिहीबार, २७ जेठ २०७८, १३ : ४६
बिहीबार, २७ जेठ २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै सातौँ विशेष साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो ।

सभाले सिर्जना फाइनान्स  लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरूको अनुमोदन पनि गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ९५ कित्ता सेयर (१०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ । 

दुबै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकलाई सिर्जना फाइनान्स प्राप्ति गर्नका लागि बाटो खुलेको हो । यसै आ.व. भित्र सिर्जना फाइनान्सलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिए ।

२०७८ साल जेठ २६ गतेसम्मको तथ्याङ्कको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । 

हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्ति पश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उत्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् । सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका सेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले डिजिटल प्लेटफर्म जुममार्फत सभा संचालन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप