बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा अस्पताल आउने सङ्क्रमित घटे

बिहीबार, २७ जेठ २०७८, १३ : १६
बिहीबार, २७ जेठ २०७८

– रामबहादुर थापा
महिना दिनअघि धवलागिरि अस्पतालको अवस्था अत्यासपूर्ण थियो । कोरोना सङ्क्रमितले भरिभराउ आइसोलेशन शय्या । अक्सिजनको चरम अभाव । ‘आइसीयू’मा गम्भीर बिरामीको चाप । दैनिकजसो सङ्क्रमितको मृत्यु ।

अस्पतालको दृश्य देख्दा लाग्थ्यो जिल्लामा कोरोना सङ्क्रमणको अवस्था भयावह उन्मुख छ । अहिले स्थितिमा क्रमिक सुधार आएको देखिन्छ । सङ्क्रमणपछि अस्पताल आउनेको सङ्ख्या घटेको छ । गम्भीर बिरामी पनि कम छन् । “पछिल्लो एक सातायता अस्पतालमा आधा सङ्क्रमित घटेका छन्”, प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, “दैनिक ३५/४० जनासम्मलाई आइसोलेशनमा राखेर उपचार गर्नुपर्थ्यो, अहिलेको सङ्ख्या १५/२० को हाराहारी छ ।”

बुधबार भने जम्मा १३ सङ्क्रमित अस्पतालमा उपचाररत छन् । तीमध्ये ‘आइसीयू’मा दुई जना छन् । गम्भीर बिरामी घटेपछि उक्त कक्षमा पनि चाप कम छ । तीन ‘आइसीयू’ शैया अहिले खाली छन् । “वैशाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म कठिन अवस्था झेल्यौँ”, प्रमुख चिकित्सक पोखरेलले भने, “अहिले केही सहज छ, सङ्क्रमण र मृत्युदर पनि घट्दो क्रममा छ ।”

रोकथाम तथा नियन्त्रणका उपाय नअपनाउने र जनसाधारणले पनि स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने पुनः सङ्क्रमण बढ्न गई अवस्था बिग्रने उनको भनाइ छ । अस्पतालले सम्भावित तेस्रो सङ्क्रमणलाई ध्यानमा राखेर पूर्वाधार र व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको छ । बालबालिकाका लागि छुट्टै आइसोलेशन कक्ष बनाउन गण्डकी प्रदेश सरकारलगायत सरोकार भएका पक्षसँग समन्वय गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । अस्पताललाई थप मानव संशाधन, चिकित्सा उपकरण÷सामग्रीसहित भौतिक संरचनाको खाँचो रहेको उनको भनाइ छ ।

न्यून चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकका भरमा अस्पताल महामारीसँग सङ्घर्षरत छ । उप प्रादेशिक तहको अस्पताल भएर पनि स्रोत साधनको कमी छ । कोरोनाको दोस्रो लहर यता अक्सिजनको अभाव व्यहोरेको यस अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि प्रक्रिया थालिएको छ । 

सङ्घ सरकारको लगानीमा बन्ने प्लान्टका लागि बोलपत्र टुङ्गिइसकेकाले अब सम्झौता हुन मात्र बाँकी छ । डेढ सय जति अक्सिजन सिलिन्डर पनि जोहो गरिएको अध्यक्ष राना मगरले बताए । आउने जुनसुकै अवस्थाका लागि अस्पताललाई तयारी हालतमा राख्नुपर्ने उनको भनाइ छ ।

सङ्क्रमणको चक्र तोड्न अहिले गाउँगाउँमा एन्टिजेन परीक्षण भइरहेको छ । जसका कारण परीक्षणको दायरा पनि बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै एक हजार छ । नौ सय बढी सङ्क्रमित होम आइसोलेशनमा छन् ।

लक्षणले च्याप्दै गएर स्वास्थ्यमा समस्या देखिएका सङ्क्रमित मात्र अस्पताल आउने गरेका छन् । अस्पताल आएकामध्ये पनि अधिकांश सामान्य उपचारबाट निको हुन्छन् । श्वासप्रश्वासमा समस्या आइ बिरामीको अवस्था गम्भीर बनेमा ‘आइसीयू’ र भेन्टिलेटरमा राखेर उपचार गरिन्छ । हालसम्म यहाँका चार हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । यहाँ कोरोनाका कारण ४६ जनाले ज्यान गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप