‘दोस्रो डोज नपाइ कतै कोरोना लागिहाल्ने हो कि ?’
जीवनको ८० औं वसन्त, जीवन कहाँ सहज छ र ? त्यसमाथि बेलाबेला स्वाँस्वाँ बढिरहन्छ, नेबुलाइजर हरदम आफू वरिपरि हुनैपर्छ । शारीरिक पीडा त छँदै छ, मानसिक रुपमा कोरोनारुपी हाउगुजीले मन मस्तिष्कलाई भित्रैदेखि हल्लाएको छ । अनेकौं प्रश्न छन् र पर्खाइ पनि – पर्खाइ दोस्रो डोजको । दोस्रो डोज नपाउँदा के हुने हो, त्यसको डर पनि ।
नागार्जुन नगरपालिका वडा नम्बर ४, सीतापाइलाका बाबुराम नगरकोटी र उनकी अर्धाङ्गिनी लक्ष्मी नगरकोटीले गत फागुन २९ मा कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए ।
भारत सरकारले १० लाख कोभिसिल्ड अनुदानमा दिएपछि जोखिममा रहेका समुह निर्धारण गरी खोप अभियान सुरु गरेको थियो ।
फ्रन्टलाइन र ज्येष्ठ नागरिकालाई लक्षित गरी सुरु गरिएको खोप अभियान सञ्चालन भएको ४ महिना बितिसक्दा पनि उनीहरुले दोस्रो अर्थात् पूर्ण खोप लगाउन पाएका छैनन् । निकै उत्साहित भएर खुशीका साथ खोप लगाएका उनीहरु दोस्रो खोप लगाउन नपाउँदा खिन्न छन् साथै दुःखी पनि ।
कोरोनाको पूर्ण खोप लगाउन पाएको भए, आफू सुरक्षित हुने आशा यी दुबैले पालेका छन् । पाको उमेर त्यसमाथि दमको रोगी उनी आफूलाई उच्च जोखिमको श्रेणीमा राख्छन् ।
पहिलो खोप लगाएको दिन स्मरण गर्दै उनी भन्छन्, ‘मलाई त्यतिबेला निकै खुसी लागेको थियो, तर अहिलेसम्म दोस्रो डोज लगाउनका पाएका छैनौं, कहिले पाइएला ? त्यसैको पर्खाइमा छौँ । सबैले दुईवटै खोप लगाउनुपर्छ अनिमात्र बढी सुरक्षित भइन्छ भन्छन् तर नपाए पनि के गर्नु ?’
‘कतै कोरोना लागिहाल्ने हो कि ?’ नगरकोटी दम्पत्तिको दिमागमा चौबिसै घण्टा यो प्रश्नले डेरा जमाएको छ । यसले निकै तनाव पनि दिने गरेको यी दुबैले स्वीकारे ।
यस्तै, नागार्जुन नगरपालिका–४ सितापाइलाकी ७७ वर्षकी रुकमनी बलामी पनि कोभिशिल्डको दोस्रो डोज कुरिरहेकी छिन् । आफूले दोस्रो डोज कहिले लगाउन पाउने हो, यसबारे केही अत्तोपत्तो नभएपछि उनलाई अब पट्यार लाग्न थालेको छ र दिक्क पनि ।
पहिलो डोज लगाउन हिच्किचाएकी उनले सबैको करमा कोभिशिल्डको खोप लगाइन् । तर खोप लगाएपछि ‘ओहो अब त कोरोना लाग्दैन है’ भन्ने सम्झेर उनी दङ्ग पनि परिन् ।
दोस्रो डोज लगाउन नपाउँदा डर लागेको छैन त ? प्रश्नको जवाफमा उनले भनिन्, ‘डर त लागिहाल्छ नि ! ज्यानको माया त सबैलाई हुन्छ नि । तर अब आएकै छैन, के गर्न सकिन्छ र ?’
आफूहरुलाई यसरी बीचमा अड्काएको देख्दा सरकारसँग चित्त दुखाई छैन ? बलामी भन्छिन्, ‘सरकारसँग रिस उठेर के गर्नु ? हामीले केही गर्न सक्ने होइन । बिस्ताम् चाहिँ लागेको छ, पहिला चाहिँ फेरि लगाउन पाइन्छ भनेर फकाई फकाई लगाइयो, अहिले मानिसहरुको लगातार मृत्यु भइरहेको छ ।’
उनी स्मरण गर्छिन्, ‘पहिलो डोज लगाउँदा दोस्रो डोज पनि लगाउनुपर्छ है भनिएको थियो । अहिले त्यो झलझली सम्झन्छु । ’
‘दोस्रो डोज लगाउन नपाउँदा के हुने हो ?’ उनलाई पनि यो प्रश्नले पिरोल्छ ।
अहिले भारतको सबैभन्दा ठुलो भ्याक्सिन उत्पादक कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डियाले अन्तर्राष्ट्रिय बजारमा खोप निर्यात गर्न छिटोमा अक्टोबर पछि मात्रै सक्ने घोषणा गरिसकेको छ भने भारतको सर्वोच्च अदालतले पनि स्थानीय बजारमा सहज रुपमा उपलब्ध नभएसम्म यसको व्यापार एवं निर्यातमा प्रतिबन्ध लगाएको छ ।
भारतले लगाएको प्रतिबन्धका कारण नेपालमा अहिलेसम्म कोरोना खोप लगाएका २८ लाखमध्ये कुनै समुहले दुबै भ्याक्सिन को डोज पूरा गरिसकेको छन् र कोहि भाक्सिन को पर्खाइमा छन् ।
तीमध्ये गत वर्ष २०७६ को फाल्गुन महिनामा ६५ वर्षभन्दा माथिकालाई कोरोना भाक्सिन को पहिलो डोज लगाइएको थियो तर दोस्रो डोजको भने अहिलेसम्म टुंगो लागेको छैन ।
यो वर्ष कोभिसिल्ड आउने सम्भावना निकै कम भएपछि दोस्रो मात्रा अस्ट्राजेनेकाकै खोप दिने निर्णय सरकारले आइतबार गरेपनि खोप कहिले आउँछ भन्ने प्रश्नको उत्तर भने कोहीसँग छैन । कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्ष माथिका साढे १३ लाख व्यक्तिले यसको दोस्रो मात्रा अझै पाएका छैनन् ।
विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्म दोस्रो मात्रा लगाउनुपर्ने बताए पनि नेपालको हकमा उक्त अवधि भने कटिसकेको छ ।